जीवन व्यवस्थापन र सफलताको गतिलोे कथा

मेचीकाली संवाददाता

३० आश्विन २०८२, बिहीबार
99 shares

घनश्याम कोइराला

जिउँदा मानिसहरूका लागि जीवन साह्रै महत्वपूर्ण हो । अध्येताहरू जीवनका बारेमा धेरै परिभाषा गर्दछन् । जीवनबारे मानिसहरूका भिन्नाभिन्नै अनुभवहरू छन् । जीवनबारे बुझ्न ठुला किताबहरू नै पढ्नुपर्छ भन्ने छैन, बरु जीवनबारे पुराना, नयाँ, सफल, असफल मानिसहरूसँग अन्तक्र्रिया गर्दा धेरै व्यावहारिक विषय थाहा पाइन्छ । प्राचीनकालमा कथा–पुराणहरू सुन्ने, सुनाउने गरिन्थ्यो । यद्यपि कथा हो, शुकदेव मुनिले नैमिसारण्यमा अठासी हजार ऋषिमुनिहरूलाई श्रीमद्भागवत्कथा सुनाएको प्रसङ्ग पढ्न पाइन्छ । अहिले पनि कथा सुन्ने कार्यक्रमहरू हुने गरेको पाइन्छ ।

मैले ती कथा पढ्दा त्यसमा तीनवटा विषय रहेको पाउँछु । पहिलो, ज्ञान । यसमा के गर्ने, के नगर्ने, के खाने, के नखाने, कस्तो ठाउँमा जाने, कस्तो ठाउँमा नजाने आदि पर्दछ । दोस्रो, भक्ति । यसमा समर्पणको भाव हुन्छ, आस्था र निष्ठाको विषय हुन्छ । भक्ति भन्नाले ईश्वर÷देवभक्ति, मातृभक्ति, पितृभक्ति, बन्धुभक्ति, राष्ट्रभक्ति आदि बुझिन्छ । तेस्रो, योग । यसमा अन्य कुराका अतिरिक्त चित्त (मन) लाई वृत्ति (काम) सँग जोड्नु हो । यसरी पुराणकथामा मूलतः ज्ञान, भक्ति र योगको संयोग हुन्छ ।
शास्त्रमा नवधा अर्थात् नौ प्रकारका भक्ति, त्रिविधा अर्थात् तीन प्रकारका भक्ति आदि भनिएको छ । त्रिविधा भक्तिमा हनुमद्भक्ति अर्थात् पूर्ण रूपमा समर्पण, आदेश पालन । व्यासभक्ति अर्थात् लेखपढ, कथा प्रवचन, तर्क–वितर्क (शास्त्रार्थ) आदि पर्दछ । अर्को हो, नारदभक्ति अर्थात् ज्ञान, भक्ति र योगको प्रचार प्रसार गर्नु र विश्वास जगाउने काम गर्नु । यसरी ज्ञानचर्चा, भक्तिचर्चा र योगचर्चा गरिरहनु पर्दछ । यसलाई सत्सङ्ग भन्ने गरिन्छ । अहिले विभिन्न सेमिनार, वर्कसप, गोष्ठी, अन्तक्र्रिया गरिन्छ, त्यसैको आधुनिक र परिष्कृत रूप हो ।

अहिले भर्खरै हामीले बडादसैँ पर्व मनायौँ । बडादसैँ पर्व देवीको पराक्रम तथा महिमा वर्णन गरिएको पर्व हो । देवीको वर्णन गरिएको सबैभन्दा ठूलो ग्रन्थ श्रीमद्देवीभागवत हो । यसलाई महापुराण भनिन्छ । जम्मा १८ वटा पुराण छन् । ती १८ पुराणमध्ये एउटा हो श्रीमद्देवीभागवत । यस पुराणमा १८००० (अट्ठार हजार) श्लोक छन् । यो महात्म्यसहित १२ स्कन्ध (ठूला खण्ड) मा विभाजित छ । नवरात्रका बेला श्रीमद्देवीभागवत सुन्ने सुनाउने प्रचलन पनि छ । तर, नवदुर्गामा दुर्गासप्तशती चण्डी पाठ गरिन्छ । देवीको महिमा तथा पराक्रम वर्णन गरिएको दुर्गासप्तशती चण्डी अर्को पुराण– मार्कण्डेयपुराणको एउटा अंश देवीमहात्म्य हो । सातसय श्लोक भएको हुनाले यसलाई सप्त (सात) +शती (सय सङ्ख्याको) भनिएको हो । सिङ्गो चण्डीलाई १३ अध्यायमा बाँडिएको छ । चण्डी पाठको अभिन्न अङ्गको रूपमा दुर्गाकवच, अर्गलास्तोत्र र कीलक पाठ गरिन्छ । यो देवीको देवीमाहात्म्यको रूपमा रहेको छ ।
स्मरणीय के छ भने यहाँ उल्लेख गरिएको कवच शब्दको अर्थ काँधदेखि पेटसम्म ढाक्ने फलामको परिधान हो । यो पहिरिएपछि धारिला हतियार र वाणबाट बच्न सकिन्छ । अहिले पनि हामीले भीड व्यवस्थापन–नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीहरूले यस्तो सुरक्षा कवच लगाएका हुन्छन् । अर्गला शब्दको अर्थ आग्लो हुन्छ । कीलक शब्दको अर्थ काँटी हो । यी विषय हेर्दा र यिनमा ध्यान दिँदा व्यवस्थापन या स्वव्यवस्थापनमा सुरक्षाको अहम् महत्व हुन्छ ।

पााठपूजामा बस्दा गरिने न्यास अत्यन्त वैज्ञानिक र महत्वपूर्ण रहेको छ । यहाँ दिङ्न्यास, करन्यास र अङ्गन्यास गरी तीन प्रकारको न्यासको प्रावधान छ । दिक्+न्यास=दिङ्न्यास अर्थात् सबै दिशाहरूमा सुरक्षाको सुनिश्चिता भनिएको हो । करन्यास भनेको हातका सबै अवयव सहीसलामत छन् भन्ने सुनिश्चितता हो । अङ्गन्यास भनेको हृदय आदि शरीरका सबै अङ्ग ठिकठाक भएको सुनिश्चितता हो । स्वव्यवस्थापनमा सबैतिर ध्यान दिनु पर्दछ । हातका औँलाहरूलगायत सबै अवयव सुचारु हुनु पर्दछ । हृदयलगायत शरीरका सबै अङ्ग स्वस्थ र गतिशील हुनु पर्दछ । बडादसैँमा गरिने पूजा प्रसङ्गबाट शिक्षा लिन सकिने विषय हो ।
नवरात्रमा चण्डी पाठ गरिन्छ । पाठ त गरिन्छ, तर भनिएको के हो ? बुझ्नुपर्ने के हो ? ग्रहणीय के छ ? यसतर्फ विचार गरिएको देखिँदैन । जीवनमा असफलताबाट पाठ सिकेर सफलता प्राप्त गर्न दुर्गासप्तशती र बडादसैँलाई बुझ्न आवश्यक छ । बडादसैँमा यसो गरियो, गरिएन थाहा छैन तर स्वव्यस्थापनका लागि आवश्यक संक्षिप्त चर्चा गरौँ ।

प्रथमतः देवी भनेको शक्तिको नाम हो । यहाँ नौवटी देवीको चर्चा गरिएको छ । यिनीहरूका रूप भिन्नाभिन्नै छ । यिनै नौवटी देवीहरूको पराक्रमको महिमा चण्डीको मूल कथावस्तु हो ।
दुर्गा सप्तशतीको कथा स्वारोचिष नाम गरेका मनु (ज्ञातव्य छ, मनु एउटै मानिस होइन) का छोरा सुरथ नामका राजा उनका सत्रुहरूसँग हारेपछि दिक्दार हुँदै मेधा नाम गरेका ऋषिको आश्रममा गएका थिए, यही समयमा आफ्ना परिवारजनबाट हेपिएर दुःखी भएका समाधि नाम गरेका व्यापारी त्यहीँ पुगे ।

मेधा ऋषिले उनीहरूका दुःख सुनेपछि उनीहरूलाई देवी महामायाको शरणमा जाने सल्लाह दिन्छन् । उनीहरूले ती महामायाबारे जिज्ञासा राखेपछि मेधा ऋषिले देवी दुर्गाका पराक्रमहरूको वर्णन गर्दछन् । त्यही कथा दुर्गासप्तशती कथा हो ।
कथा अनुसार महिषासुर, शुम्भ, निशुम्भ, चण्ड–मुण्डले देव र मानवजातिलाई साह्रै दुःख दिएका थिए । इन्द्र, वरुण, विश्वकर्मा आदि देवताले केही गरे पनि ती दैत्यहरूलाई परास्त गर्न सकेनन् । निराश भएका सम्पूर्ण देवताहरूले देवीका सामु निवेदन गरेपछि देवी प्रसन्न भएर माथि उल्लेख गरिएका असुरहरूसँग युद्ध गर्ने र देवताहरूको रक्षा गर्ने विश्वास दिलाउँछिन् । अनि सबै देवताहरू आपूmहरूसँग भएका हातहतियार देवीलाई दिन्छन् । त्यहाँ उल्लेख गरिएअनुसार शिवले शूल (त्रिशूल ?) दिए । विष्णुले चक्र दिए । वरुणले शङ्ख दिए । अग्निले शक्ति दिए । वायुले धनुष र वाणले भरिएका दुईवटा तरकस (वाण राख्ने भाँडो) दिए । इन्द्रले वज्र र घण्टा दिए । यमराजले दण्ड (विशेष प्रकारको लौरो) दिए । प्रजापतिले स्फटिकाक्ष माला दिए । ब्रह्माले कमण्डलु दिए । सूर्यले तेज दिए । कालले ढाल र तलबार दिए । क्षिरसागरले माला र कहिल्यै पुरानो नहुने कपडा दिए । उनले चुडामणि, कुण्डल, अर्धचन्द्र, केयुर, नुपूर, घाँटीमा लगाउने गहना हसुली, औँठीहरू दिए । विश्वकर्माले बन्चरो दिए । कुबेरले पानपात्र (पिउने भाँडो), शेषनागले नागहार दिए । समुद्रले कमलको पूmल दिए । हिमालयले सिंह दिए । यस्तै यस्तै लेखिएको छ । यो प्रसङ्ग दुर्गासप्तशती चण्डीको दोस्रो अध्यायमा वर्णन गरिएको छ ।

कुनै काम आँटिन्छ, त्यसप्रति तत्पर भइन्छ भने स्रोत सामग्री जुटाउन सकिन्छ, जुट्छ र सदुपयोग गर्न सकिन्छ भन्ने सन्देश पाइन्छ । जुनसुकै सकारात्मक अभियानमा सहयोग गर्न चाहनेले आपूmसँग जे छ, त्यही दिएर सहयोग गर्दछन्, गर्नुपर्छ भन्ने सन्देश पनि पाइन्छ ।
यसबाट लिन सकिने अर्को सन्देश शिक्षा के हो भने हामीले सहयोग लिन सकिने व्यक्तिहरू, जसलाई सरोकारवाला भनेर बुझ्न पनि सकिन्छ, पहिचान गर्नु पर्दछ ।

अर्को कुरा, यहाँ देवीहरूको सङ्ख्या नौ उल्लेख गरिएको छ । नौ भनेको सबैभन्दा ठूलो अङ्क हो । उल्लेख गरिएका देवीहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री हुन् । यी नौवटै देवीहरू नामअनुसार भिन्नभिन्न स्वरूप, क्षमता र विशेषता भएका व्यक्तित्व हुन् । उनीहरूको एकीकृत पहिचान नवदुर्गा हो । एक्लाएक्लै हुँदा यिनीहरूका नाम भिन्न भिन्न छ, तर संयुक्त हुँदा नाम पनि ‘नव’ अर्थात् नयाँ भयो । उनीहरूका नाम र स्वरूप जे जस्तो भए पनि उनीहरू ‘दुर्ग’ अर्थात् किल्लामा रहने लडाका भएको हुनाले दुर्गा भनिए । यो शक्ति एकीकृत छ, समावेशी छ । नौवटा शक्तिमा नौवटै भावरस–शृङ्गार, वीर, करुण, अद्भुत, हास्य, भयानक, बीभत्स, रौद्र र शान्त रस अन्तर्निहित छ । सप्तशती चण्डीका श्लोकहरूमा ती अभिव्यक्त छन् । शक्तिशाली सत्रुसँग लड्नुपर्दा एक्लै लड्छु भनेर हुँदैन । आफूसँग मिल्दाजुल्दा अन्य व्यक्ति तथा शक्तिसँग पनि मिलेर अगाडि बढ्नुपर्छ ।

हामीले पढ्ने साहित्य, मान्ने–मनाउने चाडपर्वहरू आफैँ बोल्दैनन् । उनीहरू नदीजस्तै निरन्तर बगिरहन्छन्, बगिरहेका छन् । नदीको पानीलाई ठाउँअनुसार सिँचाइ, सरसफाइ, खानेपाने, विद्युत् उत्पादन, जलक्रीडा वा अन्य प्रयोजनमा प्रयोग गर्न सकिन्छ । जीवनमा कथा होइन, उपदेश र सन्देश लागू हुने हो ।
स्वव्यवस्थापन र जीवनशैलीका लागि बडादसैँले यस्ता धेरै शिक्षा र सन्देश दिएको पाइन्छ । यसरी समग्र सुरक्षा व्यवस्थापन, एकता, साझा पहिचान, सबैको सहयोग जीवनका लागि महत्वपूर्ण छन् । बडादसैँले यस्तै यस्तै धेरै सन्देश दिएर गएको छ ।