स्वर्ण महोत्सव मनाउँदै नवीन औद्योगिक मावि

मेचीकाली संवाददाता

१३ पुष २०८२, आईतवार
93 shares

रमेश पराजुली

बुटवल। देशकै अब्बल नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै स्वर्ण महोत्सव मनाउने भएको छ । वि.सं २०३३ सालमा स्थापना भएको विद्यालयले अर्धशताब्दी प्रवेशसँगै विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापसहित महोत्सवको तयारीमा जुटेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले सप्ताहव्यापी रुपमा आयोजना हुने महोत्सवका कार्यक्रमबारे जानकारी गराए । उनका अनुसार पुस २२ गते आयोजना हुने महोत्सवको मूल समारोहको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नेछन् ।

स्वर्ण महोत्सवका अवसरमा पुस १४ गते जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको छ । यस्तैगरी १७ र १८ गते नगरस्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता, २० गते आँखा शिविर र २१ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । यस्तैगरी मूल समारोहमा झण्डोत्तलन तथा स्वर्ण महोत्सव स्तम्भ–२०८२ अनावरण, स्वर्ण महोत्सव दर्पण विमोचन, राष्ट्रिय सेवा दल, स्काउट र अन्य विद्यार्थीहरुबाट मार्चपास, विविध र्साकृतिक कार्यक्रम, पिटि प्रदर्शन, उत्कृष्ट विद्यार्थी, शिक्षक कर्मचारी, सञ्चारकर्मीलाई सम्मान लगायतका कार्यक्रम रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै बुटवल–११ का वडाध्यक्ष तथा विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीले विद्यालयले शिक्षाको गुणस्तरमा ब्यापक सुधार गर्दै देशकै नमुना विद्यालय बन्न सफल भएको बताए । विद्यालयको उत्कृष्ट नतिजासँगै नवीनमा धेरै विद्यार्थी र अभिभावकको दृढ विश्वास बढ्दै गएको उनले बताए ।

महोत्सव सञ्चालनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरिएको विद्यालयले जनाएको छ । पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयमा ५८ जिल्लाका ५ हजार बढी विद्यार्थी र १८४ जना शिक्षक कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । उनका अनुसार विद्यालयमा ४१ जना शिक्षकको मात्रै स्थायी दरबन्दी रहेको छ भने ४५ प्रतिशत विद्यार्थी छात्रा रहेका छन् । विद्यार्थी संख्याको आधारमा देशकै पाँचौँ नम्बरमा रहेको यस विद्यालयले उत्कृष्ट नतिजासहित विभिन्न अवार्ड र पुरस्कार प्राप्त गरिसकेको छ ।

कक्षा ११/१२ मा व्यवस्थापन, सिभिल इन्जिनिरिङ, विज्ञान, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा समूह अध्यापन हुँदै आएको विद्यालयले डिजिटल माध्यमलाई प्राथकिकता दिएको प्रधानाध्यापक बस्नेतले बताए । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले एसइई र कक्षा १२ मा ४ जीपिए तथा एमबीबिएसमासमेत पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएको उनले बताए ।

विद्यालयमा राष्ट्रिय सेवा दलअन्तर्गत सिनियर डिभिजन २०औँ क्याडेट सञ्चालनमा रहेको छ, जसमा १५ छात्र र १५ छात्रा सहभागी छन् । शैक्षिक असल अभ्यासतर्फ आ.व २०८१र०८२ मा सातै प्रदेशका ४२ विद्यालयमध्ये नेपाल द्वितीय स्थान हासिल गर्दै विद्यालयले अस्ट्रेलियाको राजधानी क्यानबेरामा २३ अक्टोबर २०२४ मा ‘बेष्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेको थियो ।

विद्यालयले विद्यार्थीको नेतृत्व विकास र व्यक्तित्व निर्माणमा विशेष जोड दिँदै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यार्थीबाट उद्घोषण, फिल्ड भिजिट तथा प्रयोगात्मक अभ्यासका अनुभव अंग्रेजी भाषामा प्रस्तुत गराउने अभ्यास गरिएको प्रधानाध्यापक बस्नेतले बताए ।