बुटवल । लगातार विगत एक सातादेखि बाक्लो हुस्सु र शीतलहरले तराईमा अत्याधिक चिसो बढ्ेको छ । लुम्बिनी प्रदेशसहित पश्चिम तराईमा विगत ७ दिनदेखि घाम लागेको छैन । बुधबार बिहान यस क्षेत्रमा शीतलहर चलेर जाडो अत्याधिक बढ्दा जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । लुम्बिनी प्रदेशका तराईमा पर्ने ६ जिल्लामा मौसम नखुल्दा पश्चिमी वायुले चिसो हावासँगै शीतलहर चलेपछि थालेपछि विपन्न समुदाय समस्यामा परेका छन् । मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् । मौसम चिसिँदै जाँदा तापक्रम ओरालो लागेर अचाक्ली ठिही बढेको छ । पुस पहिलो सातादेखि नैं अत्याधिक चिसो बढेको हो । मौषम पूर्वानुमान शाखाले देशका तराई भू–भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने बताएको छ । मौषम पूर्वानुमान महाशाखाका मौषम अवलोकनकर्ता पुनम दाहालले तराईमा अति चिसो र हुन्सु अझै रहेको बताइन् ।
जाडो बढेपनि स्थानीय तहले दाउरा वितरण गरेका छैनन् । भैरहवा विमानस्थलको बिहानको तापक्रम ८/९ डिग्रीमा झर्ने गरेको छ । बाक्लो हुस्सुले सार्वजनिक यातायात र हवाई उडानमा पनि बाधा पुु¥याएको छ । चिसोको कारणले केही स्थानीय तहले विद्यालय विदा गरेका छन । चिसोले गर्दा अस्पतालहरुमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बालरोग विशेषज्ञ डा. नेत्र रानाले चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी जोखिममा रहेको भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । चिसोका कारण श्वासप्रश्वाससम्बन्धी समस्यादेखि निमोनिया जस्ता घातक समस्या देखिन सक्छन् । रुपन्देही, कपिलवस्तु, बाँके, पश्चिम नवलपरासी र बर्दिया प्रशासनले पनि स्थानीय तहसँग समन्वय गरी दाउरा र न्यानो कपडा विपन्न वर्गलाई वितरण गर्ने तयारी गरेको बताइएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगञ्ज विमानस्थलबाट मौषम खराब हुँदा नियमित उडान हुन सकेका छैनन् ।
यसैबिच अत्यधिक चिसो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले विद्यालयहरूमा जाडो बिदा दिएको छ । गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन जाडो बिदा दिइएको हो । गाउँपालिकाले सूचना निकालेर पुस १४ गतेदेखि १६ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिइएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले केही दिन यता अत्यधिक चिसो बढेपछि बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर बिदा गरिएको बताए ।
अध्यक्ष यादवले बाक्लो हुस्सुसहितको शीत लहरका कारण विद्यालयमा पठनपाठन र अन्य क्रियाकलाप सञ्चालन गर्नसमेत कठिनाइ भएको र विद्यार्थीहरू बिरामी पर्ने जोखिम बढेपछि बिदा दिइएको बताए । रुपन्देहीलगायत आसपासका तराईका जिल्लाहरूमा पुस महिना लागेसँगै बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो बढेको थियो । त्यसैमाथि पछिल्लो तीन÷चार देखि शीतलहर चल्न थालेपछि अत्यधिक चिसो बढेको छ । हुस्सु, कुहिरो र शीतलहरबाट वृद्धवृद्धा तथा बालबालिकाहरू बढी प्रभावित भएका छन् । चिसोले सामान्य दैनिक जनजीवन प्रभावित मात्रै होइन, कष्टकर बनिरहेको छ ।
शीतलहरले झनै चिसो बढाएको छ । बुटवलमा आइतबारदेखि सुरु भएको शीतलहर सोमबार झनै बढेपछि अत्यधिक चिसो बढेको छ । दिनभर लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर चल्न थालेपछि सडक चिप्लिएर दुर्घटनाको जोखिम बढाएको छ । हुस्सु, कुहिरो र शीतलहरबाट विशेषगरी मुख्य राजमार्गहरूमा दुर्घटनाको जोखिम बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाकी प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले हुस्सु, कुहिरो र शीतलहर बढेपछि सवारी साधन दुर्घटनाको जोखिम बढ्न थालेको बताइन् ।
