प्रकाश आचार्य
बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका–३ का रमा र अर्जुन शर्मा अर्धचेत जस्तै भएको दुई साता पुग्यो । आफ्नो र समाजले ढाडस र सहाराले उनीहरुको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेका छैनन् । रमा र अर्जुनका आँखाबाट बलिनधरा आँसु रोकिएका छैनन् । परिवारको सहारा कसैसँगै कहिल्यै दुस्मनी नगर्ने इमानदार छोरा इशान शर्माको ‘हत्या’ कसले ग¥यो ? बेलाबेला बरबराउँछन् । लक्का जवान १७ वर्षीय छोराको रहस्यमय मृत्यु र सँगै घटनाका दोषी अझै पत्ता लगाउन नसक्दा आमा रमाले विलाप गर्छिन्, ‘मेरो कोख रित्तियो, मेरो लठ्ठी भाँचियो, यो साहाराबिहीन आमालाई न्याए दे । अब मैले कसलाई छोरा भन्ने ?’
दुई सातादेखि अर्जुन र रमालाई आफन्त र घरमा जम्मा भएका समाजका व्यक्तिहरूले सम्झाइरहेका छन् । उनीहरू आफन्त र आगन्तुकलाई एकोहोरिएर टोलाउँछन् । रूँदारूँदा उनीको आँसु सुकिसकेको छ । चिच्याउँदा चिच्याउँदै आवाज बसिसकेको छ । छोराका हरेक सपना पूरा गर्न कुनै कसर बाँकी नराखी हुर्काएको सन्तान घरै अगाडि कसैले चुडिदिएपछि परिवार मात्र होइन, समग्र रूद्रपुरबासी रोएका छन् । घरमा काम गर्दै उच्च शिक्षा पढ्दै गएको छोराको मृत्यु भइसक्यो भन्ने विश्वास अझै उनीहरुलाई लाग्न सकेको छैन । परिवारको न्याय र इशानको आत्माको शान्तिको माग गर्दै रुद्रपुरबासी निरन्तर प्रहरी प्रशासनसँग खवरदारी र न्यायको आन्दोलनमा छन् । इशानको शव टाउकोमा गम्भीर चोट र आँखा फुटेको अवस्थामा पुस ४ गते साँझ घरभन्दा डेढ सय मिटर अगाडि नालीभित्र बाहिरबाट ढकनी लगाएको अवस्थामा फेला परेको थियो ।
घटना सुरु हुन्छ पुस २ गतेबाट । इशान आफूले पढ्ने बुद्ध पब्लिक स्कूल गएर पुस २ गते घर आए । तेक्वान्दो प्रशिक्षक उनी घर खाजानास्ता गरी साढे ३ स्कूल गएर प्रशिक्षण दिए । केही दिन अघिदेखि उनी फेरि ‘जिम’ पनि जान थालेका थिए । तेक्वान्दा सिकाएर फर्किएपछि उनी साँझ साढे ५ बजे जिमखाना गए । उनीसँगै अन्य दुई जना साथी पनि जिम गएका थिए । ‘जिम’ गरेपछि एक जना साथी थकाली चोकबाट छुटिएर आफ्नो घर गए भने अर्को साथी डेरी चोकबाट छुटिए ।
इशान त्यहाँबाट हातमा जुत्ता समाएर आफ्नो घरतर्फ अघि बढेको सिसिटिभी फुटेजमा देखिन्छ । तर, उनी घरमा पुगेनन् । बाबा अर्जुन र आमा रमाले छोरा घरमा ढिलोसम्म छोरा नआएपछि साथीसँगै उतै बसेको होला भनेर त्यो रात अनुमान काटेर सुते । तर, भोलिपल्ट बिहान पनि छोरो आएन, स्कूल जाने बेला भयो छोरा घर फर्किएन । साँझसम्म पनि इशान घर नर्फिएपछि परिवारमा आशंका उत्पन्न भयो । जताततै सोधखोज गरे तर इशान भेटिएनन् । फोन अफ थियो । स्कूलमा पनि छोरो गएको छैन, घर पनि आएको छैन । इशानका ठुलो बाबा पुष्पराज र बाबा अर्जुन छोरो हराएको जानकारी दिन इलाका प्रहरी कार्यालय, रुद्रपुर पुगेर हुलिया बताउँदै गर्दा घरबाट फोन आयो । घरभन्दा केही पर नालीभित्र इशानको जुत्ता र ‘डेथ बडी’ देखियो भन्ने खबर आयो । पुष्पराज भन्छन्, ‘घरदेखि डेढ सय मिटर पर सडकको पूर्वपट्टि नालीभित्र शव भेटियो, ढक्कन निकालेर हेर्दा इशानको नै रहेछ । हामीलाई विश्वास लागेन । शवलाई एम्बुलेन्समा राखेर पोष्टमार्टमको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठायौं । घटना हेर्दा त्यो हत्या थियो । हामी निरन्तर दोषीलाई पत्ता लगाई कानुनी कारवाहीको माग गर्दै आएका छौं ।’
इशानको मृत्यु गाडीको ठक्करबाट भएको भनेर प्रहरीले पाँच दिन अघि प्रारम्भिक अनुसन्धान गरी गाडी र चालकलाई नियन्त्रणमा लिएपछि समाज र परिवार थप चिन्ता र आक्रोसित बनेको छ । इलाका प्रहरी कार्यालय बुटवलले जनप्रतिनिधि र मृतकका आफन्तको उपस्थितिमा इशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि समाज र आफन्त आन्दोलित बनेका छन् । गाडी चालक सन्तोष क्षेत्रीलाई नियन्त्रणमा लिएपछि घटना अन्यत्र मोड्न ‘डमी’ नक्कली खडा गरिएको परिवार र समाजको आरोप छ । उनीहरुले अहिलेसम्म इशानको शव बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा नै छ ।
‘घटनास्थल र वस्तुस्थिति कुनै हालतमा दुर्घटना होइन, यो हाइप्रोफाइल व्यक्ति मुछिने डरले अर्को ‘डमी’ नक्कली खडा गरिएको हुन सक्छ,’ इसानका बाबा अर्जुन रुँदै भन्छन्, ‘हामीलाई दुर्घटनाको मृत्यु भन्ने स्वीकार्य छैन । यो सरासर हत्या हो, प्रहरी प्रशासनले घटनाले डाइभर्ट गर्न खोजेको हामीलाई आभाष भएको छ ।’ ‘परिवारको आशा र भरोसा मानेका छोरा नभएपछि हामी अब कसको साहारामा बाँच्ने ?’ अर्जुन भन्छन्, ‘कसैसँग दुस्मनी र झगडा पनि नगर्ने भएको हुँदा किटानी जाहेरी दिन पनि सकेका छैनन् । प्रहरीले जुन दुर्घटना भनेको छ, त्यो हुँदै होइन । मेरो छोरो त अब फर्किएर आउँदैन । इशान जस्तै अरूको हत्या नहोस् भनेर न्याय मागिरहेको छु ।’ घटनास्थल हेर्दा कुनै रगत नभएको, कुनै गाडी घसारिएको पनि देखिएको छैन । साँझ साढे ७ बजेतिर गाडीले मान्छे ठक्कर दिँदा स्थानीयले थाहा पाउनुपर्ने भए पनि त्यहाँ कुनै सामान्य आवाज पनि नसुनेको शव भेटिएको ठाउँ अगाडि स्थानीयको भनाइ छ ।
स्थानीय मनिराम सापकोटाले प्रहरी र प्रशासनबाट घटनालाई अन्यत्र मोड्न खोजिएको आरोप लगाउँछन् । ‘इशानको दुर्घटनाबाट मृत्यु होइन, यो सुनियोजित घटना हो,’सापकोटा भन्छन्, ‘गलत मान्छेलाई उभ्याएर केसलाई अन्यत्र मोड्न खोजिँदै छ । घटनाको छिटो छानबिन र न्यायको लागि हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं । परिवारलाई छिटो न्याय दिनुपर्छ ।’ इशानका साथी निश्चल भट्टराईले धारिलो हतियार प्रयोग भएको पोष्टमार्टम रिपोर्टले देखाए पनि प्रहरीले दुर्घटनाभन्दा आंशका गर्ने धेरै ठाउँ देखिएको बताए । घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले इशानको मृत्यु गाडीको ठक्करबाट भएको दावी गर्छन् । इशान जिम गरेर निस्केको, दुई ठाउँमा साथीसँग छुटेको र गाडीको समयको अन्तराल हेर्दा उनी आउँदै गरेको र घटनाको सिक्वोन्स मिल्छ ।’ डिएसपी कार्कीले थपे, ‘थप अनुसन्धान बाँकी छ । गाडी चालक सन्तोष क्षेत्री र गाडी प्रहरीले नियन्त्रणमा लिएर अझै अनुसन्धान गरिहेको छ । केही दिनमा सम्पूर्ण वास्तविकता प्रहरीले सार्वजनिक गर्नेछ ।’ पीडित परिवारले मुख्यमन्त्री चेतनारायण आचार्यदेखि डिआइजीसम्मलाई भेटेर दोषीलाई छिटो पत्ता लगाउन पनि बिलौना गरेका छन् ।
