नवीन औद्योगिक माविमा नगरस्तरीय भलिबल प्रतियोगिता सुरु

मेचीकाली संवाददाता

१७ पुष २०८२, बिहीबार
34 shares

बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माविमा स्वर्ण महोत्सवको अवसरमा अन्तर नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । बिहीबार प्रतियोगिताको शुभारम्भ गर्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाँले खेल र शिक्षालाई सँगसँगै लैजानुपर्ने धाराणा राखे । विद्यालय तहबाट नै खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक भएकाले नगर खेलकुद विकास समितिले योजनाबद्ध रुपमा विकास गर्ने गरी खेलकुदमा बजेटसमेत व्यवस्था गरेको उनले बताए । उनले सातौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सञ्चालनको तयारीमा रहेको समेत बताए ।

कार्यक्रममा विद्यालयको तर्फबाट परीक्षा समितिका संयोजक सन्तोष पछाई, खेल प्रशिक्षक दीपककुमार क्षेत्री र भलिबल प्रशिक्षक वरुण गिरीले सहजीकरण गरेका थिए । रेफ्रीको तर्फबाट रेफ्री संयोजक किशन चन्द, रेफ्रीहरू चिरन पाल, आकाश वेल्वासे र सुजन राना रहेका छन् ।

पहिलो खेल कालिका मानवज्ञान मावि र मणिमुकुन्द माविबिच भएको खेलमा मणिमुकुन्द मावि विजय भएको छ भने दोस्रो खेल उजीरििंह मावि र नयागाउँ माविबिच भएको खेलमा उजीरसिंह मावि विजय भएको छ । तेस्रो खेल नवीन औद्योगिक कदरबहादुर रीता मावि र अक्सफोर्ड माविबिचको खेलमा नवीन औद्योगिक कदरबहादुर रीता मावि विजय भएको छ । चौथो खेल कान्ति मावि र न्यू होराइजन माविबिचको खेलमा न्यू होराइजन मावि विजय भएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले अध्ययनसँगै खेलकुद र विद्यार्थीको नेतृत्व विकास तथा व्यक्तित्व निर्माणमा विद्यद्यालयले विशेष जोड दिँदै आएको बताए । व्यवस्थापन समूह इन्चार्ज जयराम पन्थीको स्वागत तथा सहायक प्रधानाध्यापक अर्जुन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयले स्वर्ण महोत्सव तथा अभिभावक दिवस–२०८२ का अवसरमा सप्ताहाब्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसअघि पुस १४ गते रुपन्देही जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भइसकेको छ । यस्तै २० र २१ गते श्रीकृष्ण नेत्रालयसँगको समन्वयमा आँखा शिविर, २१ गते नवीन विद्यार्थी क्लबको व्यवस्थापनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने पुस २२ गते आयोजना हुने महोत्सवको मूल समारोहको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ ।