सियारीमा प्रथम सियारी माछा कृषि एवं सांस्कृतिक मेला पर्यटन महोत्सव शुरु

मेचीकाली संवाददाता

२० माघ २०८२, सोमबार
49 shares


तुलसीराम पौडेल
सियारी, माघ १९
रुपन्देही स्थित सियारीमा प्रथम सियारी माछा कृषि एवं सांस्कृतिक मेला पर्यटन महोत्सव २०८२ आजदेखि सियारी गाउँपालिका–४ छपियामा सुरु भएको छ ।
सियारी गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सव सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा सियारी–४ का ज्येष्ठ नागरिक इन्द्र  प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले कृषि, माछापालन र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । उहाले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारी गाउँपालिकालाई कृषि तथा माछा उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताउनु भएको छ । उहाले कृषक, माछापालक र स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नु भयो ।
स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीको कृषि विकास, माछापालन प्रवद्र्धन र स्थानीय संस्कृतिको जगेर्नाका लागि महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको छ । उहाले कृषकलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरूमा गाउँपालिकाको प्राथमिकता रहेको बताउनु भयो ।
यस्तै गरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कृषि र माछापालन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर व्यवसायिक बनाउने दिशामा गाउँपालिका अघि बढिरहेको बताउनु भएको छ । उहाले महोत्सवले स्थानीय उत्पादनको पहिचान, बजारीकरण र पर्यटन विकासमा सकारात्मक योगदान पुर्‍याउने  विश्वास व्यक्त गर्नुभयो ।
महोत्सव अवधिभर कृषि तथा माछासम्बन्धी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ।