विश्व क्यान्सर दिवसः सकारात्मक मन, स्वस्थ तन

–क्यान्सर र मिर्गौला रोगमै सरकारी सहायताको ७० प्रतिशत खर्च, जीवनशैली नै मुख्य जोखिम, नसर्ने रोगको बोझ बढ्दै गएपछि स्वास्थ्य बिमा खुम्चियो

मेचीकाली संवाददाता

२२ माघ २०८२, बुधबार
28 shares

अमृत गिरी

बुटवल । आज विश्व क्यान्सर दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरि दिवस मनाइँदैछ । नेपालमा क्यान्सर, मिर्गौला, मुटु, बोनम्यारो, सिकल–सेल एनिमिया, हेड तथा स्पाइनल इन्जुरीजस्ता गम्भीर नसर्ने रोग हरेक वर्ष बढ्दो चुनौतीका रूपमा देखिएका छन् भने यसको बोझ बढिरहेको छ । नसर्ने रोगले बिरामी, परिवार, आफन्त मात्रै होइन, छरछिमेक र समाज हुँदै मुलुकलाई सताइरहेको छ । यी रोगको उपचारका लागि संघीय सरकारले वर्षेनी अर्बौँ रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ तर उपचार खर्च बढ्दै जाँदा रोगको रोकथाम र प्रारम्भिक पहिचानमा अपेक्षित लगानी हुन नसकेको विज्ञहरूको निष्कर्ष छ ।

बलियो आत्मबल, सकारात्मक सोंच, सात्विक जीवनशैलीले क्यान्सर जस्ता नसर्ने रोगहरुलाई जित्न सकिन्छ । वैज्ञानिकहरुले नै यसलाई पुष्टि गरेका छन् भने धेरै बिरामीहरु यसको नजिर बनिरहेका छन् ।
आज माघ २१ गते (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस मनाइँदै गर्दा सार्वजनिक तथ्यांकले नेपालमा क्यान्सरको बोझ तीव्र रूपमा बढिरहेको देखाउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वर्षेनी करिब ४० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् भने क्यान्सरका कारण हुने मृत्यु समग्र मृत्युदरको १० प्रतिशतभन्दा बढी पुगेको छ ।

नसर्ने रोगको ठुलो हिस्सा यही समस्यामा छ । यो परीक्षण भएका बिरामीको अनुमानित तथ्यांक हो । आफ्नै बलबुताले चेकजाँच गरेर सिधै विदेशमा गएर उपचार गर्नेको संख्याको कुनै तथ्यांक राज्यसँग छैन ।
अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कुल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् ।
विकासोन्मुख देशहरुमा भने हेपाटाइटिस बी, सी अनि ‘ह्यूमन प्यापीलोमा’ भाइरसहरुका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सरहरु भने पुस्तैनी रुपमै जिनमा आउने हुन्छ, कुल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् । बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा चेकजाँच र उपचार गर्न जरुरी छ ।

सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारि खाने बानी गरेर अनि घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

पाँच वर्षमा करिब १० अर्ब उपचार सहायता
संघीय सरकारले विपन्न नागरिक लक्षित गम्भीर रोग उपचार कार्यक्रमअन्तर्गत पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता वितरण गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा २८,४८५ जनाले सेवा लिएका थिए भने २०८१÷८२ (आंशिक) सम्म आइपुग्दा सेवा लिनेको संख्या ५२,५८७ पुगेको छ ।
सरकारी कोषबाट उपचार सहायता लिनेको संख्या र खर्च दुवै वर्षेनी बढ्दो क्रममा छन् । सरकारी तथ्यांकअनुसार कुल उपचार सहायता खर्चमध्ये ७० प्रतिशतभन्दा बढी हिस्सा क्यान्सर र मिर्गौला रोगमै खर्च भइरहेको छ ।

क्यान्सर उपचारमै सबैभन्दा धेरै खर्च
संघीय सरकारको तथ्यांकअनुसार क्यान्सर उपचारमा मात्रै वार्षिक २०–२५ हजार बिरामीले राहत लिने गरेका छन् । आव २०७७/७८ मा करिब १५ हजार बिरामीले सेवा लिएका थिए भने २०७८/७९ मा यो संख्या २७ हजार पुगेको थियो । पछिल्ला वर्षहरूमा औसत २०–२५ हजार बिरामीले नियमित उपचार सहायता पाइरहेका छन् । खर्चको हिसाबले क्यान्सर उपचारमा मात्रै वार्षिक कुल बजेटको ४० देखि ६० प्रतिशतसम्मको हिस्सा जाने गरेको सरकारी तथ्यांकमा देखिन्छ ।

मिर्गौला रोगः दोस्रो ठुलो समस्या
मिर्गौला उपचार (हेमोडायलाइसिस,सीएपीडी,प्रत्यारोपण परीक्षण) शीर्षकमा पाँच वर्षमा कुल खर्चको २५–३० प्रतिशत बजेट खर्च भएको छ । वर्षेनी ३,००० देखि ५,५०० बिरामी विशेषगरी हेमोडायलाइसिस सेवामा निर्भर छन् । निःशुल्क डायलासिस सेवा उपलब्ध भए पनि बिरामी संख्या बढ्दै जाँदा लागत तीव्र रूपमा बढिरहेको छ । डायलासिस गराएका अस्पतालले सरकारबाट पाउनुपर्ने सोधभर्नाको करोडौं रकम पाएका छैनन् । एकातिर बोझ बढ्दै जानु र अर्कोतिर वीमाका कार्यक्रम खुम्चिँदै जानुले यसको मार आम सर्वसाधारणमै परिरहेको छ ।

मुटु, बोनम्यारो र अन्य गम्भीर रोग
मुटु शल्यक्रिया तथा क्रिटिकल केयर सेवामा वार्षिक १,२००–१,६०० बिरामीले सरकारी राहत लिने गरेका छन् । बोनम्यारो ट्रान्सप्लान्टमा बिरामी संख्या कम (वार्षिक १००–१८०) भए पनि खर्च अत्यधिक छ । नेपालमै सीमित सुविधा भएकाले धेरै बिरामी उपचारका लागि भारत र तेस्रो मुलुकतिर जाने गरेका छन् ।

नेपालमा क्यान्सर किन बढ्दै छ ?
क्यान्सर रोग विशेषज्ञ डा.अजयकुमार झाका अनुसार नेपालमा क्यान्सर केवल परीक्षण बढेकाले मात्र होइन, वस्तुगत रूपमा नै बढेको हो । उनका अनुसार तीव्र जीवनशैली परिवर्तन, रासायनिक विषादीयुक्त खाना, प्रशोधित खाद्यपदार्थ, वायु प्रदूषण, सुर्तीजन्य पदार्थ, मदिरा सेवन र शारीरिक निष्क्रियता क्यान्सरका प्रमुख कारण हुन् ।
२२ प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थ सेवनका कारण, १० प्रतिशत मोटोपन, पोषण अभाव, मदिरा र व्यायामको कमीका कारण, बाँकी विकिरण, संक्रमण (हेपाटाइटिस बी/सी, एचपीभी) र आनुवंशिक कारण क्यान्सर रोग लाग्ने गरेको विशेषज्ञहरु बताउँछन् ।
नेपालमै केमोथेरापी, रेडिएसन, सर्जरी र बोनम्यारो ट्रान्सप्लान्ट उपलब्ध भए पनि दक्ष विशेषज्ञको अभाव, अत्याधुनिक उपकरणको सीमितता, कमजोर रेफरल प्रणाली, ढिलो डायग्नोसिस, जस्ता कारणले धेरै बिरामी भारत, चीनलगायतका मुलुकमा जान बाध्य छन् ।

रोकथाम नै दीर्घकालीन समाधान
रोकथाम नै सबैभन्दा सस्तो र प्रभावकारी उपचार हो । विज्ञहरूका अनुसार ७०–८० प्रतिशत क्यान्सर जीवनशैली र वातावरण सुधारबाट रोक्न सकिन्छ । विषादी नियन्त्रण र जैविक कृषि प्रवद्र्धन, सुर्तीजन्य पदार्थ र मदिरामा कडा कर, खाद्य सुरक्षा र बजार निगरानी, विद्यालयस्तरमै स्वास्थ्य शिक्षा, हरेक वडामा व्यायाम र खेल पूर्वाधार, डिजिटल रेफरल र स्वास्थ्य नेटवर्क विस्तारको खाँचो छ ।