बुटवल । रोट्रयाक्ट युथ आइकन–२०८३ को अडिसन शनिबार बुटवलमा सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले युवाहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा वक्तृकलाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको पहिलो चरणको अडिसनमा विभिन्न क्याम्पसका ४८ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीहरुमध्ये उत्कृष्ट २० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आविष्कार खनालले जानकारी दिए । अडिसन चरणमा सहभागीहरूले ‘डिजिटल युगमा जिम्मेवार युवा’ विषयमा तीन मिनेटभित्र आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

प्रस्तुतिहरूमा डिजिटल प्रविधिको सकारात्मक तथा नकारात्मक प्रभाव, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र भविष्यमा युवाको भूमिकाजस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी जेठ ३० गते आयोजना गरिने अध्यक्ष खनालले बताए । रोट्रयाक्ट युथ आइकन बन्न सफल प्रतियोगिले २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दृतिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई पनि पुरस्कृत गरिने अध्यक्ष खनालले बताए ।
प्रतियोगिताको निर्णायक मण्डलमा अमर क्षेत्री, कृष्ण पाण्डे र बालकृष्ण पाण्डे रहेका थिए । प्रमुख निर्णायक क्षेत्रीका अनुसार विषयवस्तु तथा सन्देशलाई ३० अंक, प्रस्तुतीकरणलाई २५ अंक, भाषा तथा उच्चारणलाई २० अंक, मौलिकता तथा सिर्जनशीलतालाई १५ अंक र समय व्यवस्थापनलाई १० अंक छुट्याई कुल १०० पूर्णाङ्कका आधारमा मूल्याङ्कन गरिएको थियो ।
कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका आइपिडीआरआर विक्रम क्षेत्रीले युवाहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै रोट्रयाक्ट अभियानमा अझ धेरै युवाहरूलाई जोडिन आग्रह गरे ।
त्यस्तै, क्लबका पूर्वअध्यक्ष बालकृष्ण पाण्डे, उपाध्यक्ष रमेश पन्थीलगायत वक्ताहरूले पनि युवाहरूलाई अनुशासित, आत्मविश्वासी र नेतृत्वक्षम बनाउन यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उनीहरूले यस्ता प्लेटफर्मले प्रतिभाशाली युवाहरूलाई आफ्नो क्षमता उजागर गर्ने अवसर प्रदान गर्ने बताए ।
त्यसैगरी, कार्यक्रममा प्रशिक्षक रमेश अर्यालले सहभागी विद्यार्थीहरूलाई ‘जीवनमा कसरी सफल बन्न सकिन्छ’ भन्ने विषयमा उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए । बुटवल उपमहानगरपालिकासँगको सहकार्य तथा विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको क्लबका सचिव केशव पौडेलले जानकारी दिए । साथै, आइतबार बिहान ‘मर्निङ वाक विथ मेयर’ कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, डा.हरि पन्थीलगायतको सहभागितामा नयाँ बसपार्कदेखि हिलपार्कसम्म पदयात्रा गरिने उनले बताए ।
