बौद्ध अर्थदर्शनमा आधारित विकासको खाँचो

–पूर्वाधार, पर्यटन र वातावरणको सन्तुलनमार्फत् दिगो विकासको नयाँ खाकाको खोजी

मेचीकाली संवाददाता

२३ माघ २०८२, बिहीबार
37 shares

अमृत गिरी

बुटवल । यो क्षेत्र बुद्धको जन्मभूमि हो । बुद्धका दर्शनहरु केबल धर्ममा मात्रै सिमित छैनन् । बुद्धले पहिल्याएका कैयौं तथ्यहरु अहिले विज्ञानले, समयले र परिस्थितिले पुष्टि गरिरहेको छ । आजभन्दा २५ सय वर्षपहिले बुद्धले पत्ता लगाएका धेरै तथ्यहरु मानव जीवनका लागि अहिले पनि उत्तिकै शान्दर्भिक, उपयोगी र महत्वका सावित भइरहेका छन् । सडक, भवन, पुल, पुलेसा र हरियाली पार्कहरुको निर्माण कार्य अहिले जसरी चलिरहेको छ त्यसलाई बौद्ध अर्थदर्शन र पर्यावरणसंग जोड्दै दिगो बनाउनुपर्ने बहस उठिरहेको छ । यस्ता पूर्वाधारका संरचनालाई मौलिकता झल्कने र दिगो विकासमा आधारित बनाउनुपर्ने बहसलाई सार्थक बनाउनेतर्फ केही विज्ञ र विश्लेषकहरु लागेका पनि छन् ।

बौद्ध दर्शनका ज्ञाता तथा केही विश्लेषकहरुले बुद्ध जन्मस्थलमा हुने पूर्वाधार निर्माणलाई बौद्ध अर्थशास्त्र र वातावरणीय न्यायमा आधारित बनाउनुपर्नेमा जोड दिन्छन् । बुद्धको जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्रहरू आज धार्मिक मात्र होइन, पूर्वाधार, आर्थिक र दिगो विकासको नयाँ केन्द्रका रूपमा अघि बढाउनुपर्ने उनीहरुको सुझाव छ । बौद्ध दर्शनले देखाएको मध्यम मार्ग, करुणा र सहअस्तित्वको भावनालाई आधार मानेर यहाँको विकासलाई मौलिकता र वातावरणीय सन्तुलनसँग जोड्ने प्रयास तीव्र हुँदै गएको छ । यसमा खटिएका विज्ञ तथा प्राविधिकहरुलाई विष्णुप्रसाद पौडेलले आफु अर्थमन्त्री हुँदा सुरुदेखि नै भेटेर सुझाव दिएका थिए ।

यसक्षेत्रमा निर्माण भएका भौतिक पूर्वाधारका केही तस्बिरहरु ।

सुझावका आधारमा बुटवल–गोरुसिंगे सडकको निर्माणकार्य भइरहेको छ । यो ५० किमीको सडक राजमार्ग बनेको ६३ वर्षपछि स्तरोन्नति भइरहेको छ र यसका लागि स्रोत सुनिश्चित गर्नेदेखि डिजाइनलाई वातावरणमैत्री बनाउनेसम्मका काममा सुरुदेखि नै पूर्वअर्थमन्त्री पौडेलको नेतृत्वदायी र परिणामुखी भूमिका छ ।
लुम्बिनी प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेको बुटवललाई केन्द्रमा राखेर अघि बढाइएका ठूला पूर्वाधार आयोजनाहरू पौडेलकै पहलमा भएका हुन् । यिनले क्षेत्रीय ‘कनेक्टिभिटी’ र आर्थिक गतिविधिमा उल्लेखनीय परिवर्तन ल्याइरहेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल–गोरुसिंगे सडकखण्डको स्तरोन्नतिले पश्चिम तराई र पहाडी क्षेत्रबीचको आवागमन सहज बनाउनेछ भने बुटवल–नारायणघाट सडक विस्तारले देशको पूर्व–पश्चिम व्यापारिक प्रवाहलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडक विस्तारको प्रक्रियाले लुम्बिनी, गण्डकी र मध्यपहाडी क्षेत्रलाई आपसमा जोड्दै पर्यटन र आन्तरिक बजार विस्तारमा टेवा पु¥याउने गरी डिजाइन भइरहेको छ । यो राजमार्गको गेमचेञ्जर सुधार हुँदैछ । अन्तर्राष्ट्रिय पहुँच विस्तारतर्फ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक महत्वपूर्ण आधार बनेको छ । यसले दक्षिण एशिया र विश्वका बौद्ध राष्ट्रसँग लुम्बिनीको प्रत्यक्ष सम्पर्क बढाउँदै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना खोलेको छ ।
यद्यपि विमानस्थलको विजनेश बढाउने तत्कालीन र दीर्घकालीन उपायको भने खोजी गर्न जरुरी छ । विमानस्थलसँगै होटल, सेवा र स्थानीय उत्पादनको बजार विस्तारका लागि भएको अर्बौंको लगानीको सुरक्षा र त्यसको प्रतिफलका लागि पनि विशेष कार्यक्रम बनाउनुपर्ने छ ।

सहरी तथा संस्थागत विकासतर्फ बुटवल अन्तर्राष्ट्रिय सभाहल र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रले सम्मेलन, प्रदर्शनी र अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्ने पूर्वाधार तयार गर्दैछन् । यसले बुटवललाई प्रदेशस्तरीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । यस्ता महत्वपूर्ण परियोजनालाई पनि उपयुक्त विजनेश मार्फत् चलायमान गराउनुपर्ने छ । स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पतालको विस्तार र स्तरोन्नतिले यस क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आधार तयार गरेको छ । यसले स्वास्थ्यका लागि अन्य प्रदेश वा राजधानी धाउनुपर्ने बाध्यतालाई क्रमशः घटाउने विश्वास गरिएको छ ।

लुम्बिनी प्रदेशमा रहेका औषधि उद्योगहरुका लागि कच्चा पदार्थको जोहो देखि उत्पादनको सुरक्षित खपतसम्मका काममा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने छ । यी सबै विकास प्रयाससँगै वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राख्ने नीति पनि अहिले अघि सारिएको छ । बुद्धको अहिंसा र प्रकृतिप्रति सम्मानको दर्शनलाई आत्मसात गर्दै हरित क्षेत्र संरक्षण, व्यवस्थित सहरी विस्तार र दिगो पर्यटनमा जोड दिँदै विकासका काम अघि बढाउन विज्ञहरुलाई पूर्वअर्थमन्त्री पौडेलको सुझाव छ । ‘योजनाविहीन विकासले बुद्ध जन्मस्थलको मौलिकता नखोसियोस् भन्नेमा सचेत रहेर काम गर्नुहोला’ पौडेलको जोड छ ।
लुम्बिनी क्षेत्रको विकास केवल कंक्रिट र सडकमा सीमित नराखी बौद्ध दर्शन, स्थानीय संस्कृति, कृषि, पर्यटन र वातावरणसँग जोडेर अघि बढाउन सके यो क्षेत्र दक्षिण एशियाकै नमुना दिगो विकास मोडल बन्न सक्ने भन्दै विज्ञहरुले सुझाव दिएका छन् । बुद्ध जन्मस्थलको पहिचान जोगाउँदै समृद्धि हासिल गर्न सकिने विश्लेषकहरुको जोड छ ।

धार्मिक पर्यटनलाई संरचित र दीर्घकालीन बनाउने उद्देश्यले अघि सारिएको बृहत् बौद्ध सर्किट र लुम्बिनी परिक्रमा पथ परियोजनाले बुद्धकालीन इतिहास, संस्कृति र दर्शनलाई आधुनिक पूर्वाधारसँग जोड्ने काम गरिरहेको छ । ‘लुम्बिनीलाई सही रुपमा सदुपयोग गर्न सकिएको छैन र अब पनि ढिलो गर्ने हो भने अवसरहरु खेर जानेछन्’ लुम्बिनी क्षेत्रमा सक्रिय रहेका युवा नेता खिमलाल भट्टराई भन्छन्–‘संसारभरका बौद्ध अनुयायीमध्येको एउटा सानै हिस्सालाई भएपनि लुम्बिनी ल्याउन सकियो भने यहाँको धार्मिक पर्यटनले समृद्धिमा योगदान दिनेछ ।’

बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष विताएको त्यसबेलाको शाक्य राज्यको राजधानी र दरबार क्षेत्र कपिलवस्तु, बुद्धले ज्ञान प्राप्त गरेको हालको भारतको बोधगया, महापरिनिर्वाण भएको कुसिनगर, बुद्धको अस्तुधातू रहेको नवलपरासीको रामग्राम, मावली क्षेत्र देवदह, प्राचीन महत्वको सैनामैना हुँदै हिल स्टेशनहरु जोडेर मानसरोवरसम्मको एकीकृत रुट तयार भइरहेको छ ।
नेपाल र भारतका विज्ञ र पर्यटन् अगुवाहरुले यसको खाका बनाइरहेको छन् । यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई केवल तीर्थस्थल होइन, अन्तर्राष्ट्रिय बौद्ध अध्ययन, ध्यान र शान्ति पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । चीनले विकास गरिरहेको शिल्क रोडले पनि नेपालका यस्ता कतिपय क्षेत्रलाई कनेक्ट गर्नेछ ।

के हो बौद्ध अर्थदर्शन ?
आधुनिक अर्थतन्त्रले तीव्र उत्पादन र उपभोगलाई प्राथमिकता दिइरहेका बेला बौद्ध अर्थदर्शनले भने मानव, समाज र प्रकृतिबीच सन्तुलन कायम गर्ने दृष्टिकोण प्रस्तुत गरेको छ । बौद्ध दृष्टिकोणमा आधारित अर्थशास्त्रले केवल नाफा होइन, मानवीय कल्याण, नैतिकता र सामाजिक न्यायलाई केन्द्रमा राख्छ । अर्थशास्त्र मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । बिहान उठेदेखि राति सुत्दासम्म मानिस उत्पादन, उपभोग, विनिमय र वितरणका क्रियाकलापमा संलग्न हुन्छ । बौद्ध अर्थदर्शनले यिनै आर्थिक गतिविधिलाई लोभ, हिंसा र असमानता होइन; करुणा, मध्यम मार्ग र जिम्मेवारीसँग जोडेर हेर्छ ।

बौद्ध दृष्टिकोणअनुसार श्रम, भूमि, पूँजी र संगठन उत्पादनका साधन हुन्, तर यी साधनको प्रयोग सीमित स्रोतको सदुपयोग र समाजको सामूहिक हितका लागि हुनुपर्छ । असीम चाहना होइन, आवश्यकतामा आधारित उपभोगले दिगो अर्थतन्त्र निर्माण गर्न सक्ने सन्देश यस दर्शनले दिन्छ । विशेषगरी, बौद्ध अर्थदर्शनले आर्थिक गतिविधिलाई दुई भागमा हेर्छ–आर्थिक र गैर–आर्थिक । आम्दानी र सम्पत्तिसँग सम्बन्धित क्रियाकलाप आर्थिक हुन् भने सामाजिक, नैतिक र सेवामूलक कार्यहरू गैर–आर्थिक भए पनि तिनले समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइन्छ । यस्तै, सार्वजनिक वित्त र सुशासनको सन्दर्भमा बौद्ध दर्शनले पारदर्शिता, उत्तरदायित्व र न्यायपूर्ण वितरणमा जोड दिन्छ । राज्यले कर संकलन र खर्च गर्दा जनहित, समानता र नैतिक मूल्यलाई प्राथमिकता दिनुपर्ने सन्देश यसले दिन्छ ।

लुम्बिनी बौद्ध विश्व विद्यालयमा बौद्ध अर्थशास्त्रको विषयको अध्यापन गराईरहेका विश्लेषक सुरज घिमिरेका अनुसार बढ्दो आर्थिक असमानता, उपभोक्तावाद र पर्यावरणीय संकटको समाधान खोजिरहेका मुलुकका लागि बौद्ध अर्थदर्शन दिगो विकासको वैकल्पिक मार्ग बन्न सक्छ । आर्थिक वृद्धि र मानवीय मूल्यबीच सन्तुलन कायम गर्न जरुरी रहेको घिमिरेको भनाइ छ ।