चैतन्य एकेडेमीको वार्षिकोत्सवमा विशेष कार्यशाला सम्पन्न

मेचीकाली संवाददाता

३० माघ २०८२, बिहीबार
35 shares

बुटवल । चैतन्य एकेडेमी नेपालको १२औँ वार्षिकोत्सवको अवसर पारेर चैतन्य एकेडेमी बुटवल शाखाले युवा विद्यार्थीहरूलाई लक्षित गर्दै जीवन उपयोगी सीप, व्यवहार र क्षमताको विकास गर्ने उद्देश्यले दुईदिने विशेष कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक एवं उत्प्रेरक ऋषि न्यौपानेले उच्चतम सफलताका लागि मस्तिष्कको अधिकतम उपयोग विषयमा सहजीकरण गरेका थिए । उनले मन र जीवनको पुनर्संरचना, सोचाइको रूपान्तरण तथा लक्ष्य प्राप्तिका बहुआयामिक पक्षहरूबारे प्रयोगात्मक रूपमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। न्यौपानेले सकारात्मक सोच, आत्मविश्वास र अनुशासन सफलताको प्रमुख आधार भएको उल्लेख गरे ।

त्यसैगरी, दोस्रो दिन आध्यात्मिक गुरु, जीवनदर्शन, वेद तथा विज्ञानका ज्ञाता डा। चितामणि योगी गुरुले लक्ष्य र सपनाहरूलाई यथार्थमा रूपान्तरण गर्ने उपायहरूबारे प्रकाश पारे। उनले मन–मस्तिष्कको सक्रियता, चेतनाको उजागर, आध्यात्मिक चिन्तन र व्यवहार परिवर्तनजस्ता विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना व्यक्तिगत समस्या र जिज्ञासासम्बन्धी प्रश्नहरू राखेका थिए, जसको समाधान प्रशिक्षकहरूबाट प्रदान गरिएको थियो।

कार्यक्रमको संयोजन तथा स्वागत मन्तव्य चैतन्य एकेडेमीका व्यवस्थापक दीपक ढकालले गरेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य, नेपाल सरकारका शाखा अधिकृतहरू सागर पोखरेल, नवीन खड्का र शंकर अधिकारीलगायतको उपस्थिति रहेको थियो।

चैतन्य एकेडेमी बुटवलले विगत एक वर्षदेखि स्थानीय स्तरमै नासु, खरिदार, शाखा अधिकृत, शिक्षक सेवा, बैंकिङ तथा सुरक्षा निकायका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ। साथै, सहसचिवसम्मका नमुना परीक्षाहरू समेत सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

चैतन्य एकेडेमी नेपालको १२औँ वार्षिकोत्सवको अवसरमा बुटवल शाखाले विभिन्न सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेको व्यवस्थापक दीपक ढकालले जानकारी दिए । उनका अनुसार आगामी दिनमा समेत विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।