बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टी–२० विश्वकपअन्तर्गत बिहीबार आफ्नो दोस्रो खेलमा नयाँ प्रतिद्वन्द्वी इटालीसँग प्रतिस्पर्धा गर्दै छ । मुम्बईस्थित वानखेडे रंगशालामा यी दुई राष्ट्रबिचको खेल दिउँसो ३स्१५ बजे हुनेछ । टी–२० आईमा इटाली र नेपालबिच अहिलेसम्म कुनै खेल भएको छैन । तर, ५० ओभरको फर्म्याटमा भएको तीन भेटमा नेपालले इटालीलाई हराएको छ ।
समूह ‘सी’को पहिलो खेलमा दुईपटकको विजेता इंग्ल्यान्डमाथिको सानदार प्रदर्शनका कारण नेपालका खेलाडीको आत्मविश्वास बढेको छ । विश्वकपमा पहिलोपटक स्थान बनाएको इटाली पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ वानखेडे रंगशालामा उत्रनेछ ।
टी–२० विश्वकपमा नेपालले तीन सहभागितामा अहिलेसम्म आठ खेलमा दुई जित निकालेको छ । सन् २०१४ को डेब्यु विश्वकपमा नेपालले हङकङलाई आठ विकेट र अफगानिस्तानलाई ९ रनले निराश बनाएको थियो ।
समग्रमा नेपालले विश्वकपमा आठ खेलमा दुई जित र ६ हारको सामना गरेको छ । पाँचमध्ये दुई हार सनसनीपूर्ण रह्यो । गत संस्करणमा नेपाल दक्षिण अफ्रिकासँग १ रन तथा यसपटक इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । नेपालले विश्वकपमा जित निकाल्न नसकेको १२ वर्ष भइसकेको छ ।
१०औँ संस्करणको दोस्रो खेलमा नेपालको लक्ष्य इटालीलाई हराउने हुनेछ । विश्वकपमा इटालीभन्दा नेपालसँग अनुभव बढी छ । । नेपालका कप्तान रोहितकुमार पौडेल लगातार वानखेडे रंगशालामा खेल्दा फाइदा पुग्ने बताउँछन् । उनले इटालीलाई सहज रूपमा नलिने र आफ्नो स्वाभाविक खेल खेल्ने बताए । ‘लगातार वानखेडे रंगशालामा खेल्दै छौँ । त्यसले पक्कै फाइदा पुग्नेछ,’ रोहितले भने, ‘त्यो भन्दैमा विपक्षीलाई कमजोर रूपमा लिँदैनौं ।’ युरोपियन छनोटमा स्कटल्यान्डलाई पराजित गर्दै इटाली पहिलोपटक विश्वकपमा छनोट भएको हो । इटाली पनि जित निकाल्ने दाउमा छ । स्कटल्यान्डसँगको पहिलो खेलमा इटाली ७३ रनले पराजित भएको थियो ।
एकदिवसीयमा तीन भिडन्त
नेपाल र इटालीबिच सन् २००५ मा पहिलोपटक प्रतिस्पर्धा भएको थियो । आइसिसी क्रिकेट विश्वकप डिभिजन छनोट खेलमा नेपाल र इटालीबिच पहिलो भेट भएको थियो । यस खेलमा शक्ति गौचनको शतकीय इनिङ्सको सहयोगमा नेपालले ५० ओभरमा ६ विकेट गुमाएर ३०४ रन बनाएको थियो । प्रत्युत्तरमा इटालीले सात विकेटको क्षतिमा २१६ रन बनाएको थियो ।
सन् २०१० मा आइसिसी विश्वकप डिभिजन ४ मा इटालीमाथि नेपालले पाँच विकेटको जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको इटालीले ३३।१ ओभरमा सबै विकेट गुमाएर ७१ रन बनाएको थियो । नेपालले २६ ओभरमा पाँच विकेट गुमाएर ७७ रन जोडेको थियो ।
त्यपसछि आइसिसी विश्वकप लिग ३ मा नेपालले इटालीलाई आठ विकेटले पाखा लगाएको थियो । इटालीले पहिलो ब्याटिङ गरी नौ विकेटको क्षतिमा १२७ रन जोड्यो । नेपालले १४।५ ओभरमा दुई विकेट गुमाएर १२९ रन बनाएको थियो । सन् २०१३ यता कुनै पनि फर्म्याटमा नेपाल र इटालीबिच खेल भएको छैन । नेपालले इटालीविरुद्ध १३ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । इटालीको टोलीमा अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबाट खेलिसकेका खेलाडी छन् । पाकिस्तान र भारतीय मूलका खेलाडी पनि इटालीको टोलीमा आबद्ध छन् ।
नेपाली समर्थकमाझ खेल्न उत्साहित
डिवाई पटिल रंगशालामा इटालीका कप्तान वायन म्याडसेन र प्रशिक्षक जोन डेभिसनले आफ्ना खेलाडी प्रतिस्पर्धा गर्न तयार रहेको नेपाली पत्रकारलाई प्रतिक्रिया दिएका छन् । म्याडसेन काँधको चोटका कारण नेपालसँगको खेलमा उपलब्ध हुनेछैनन् । उनले वानखेडे रंगशालामा हजारौँ नेपाली समर्थकबिच खेल्न उत्साहित भएको बताए । ‘इंग्ल्यान्डविरुद्ध १९ हजारभन्दा बढी नेपाली समर्थक उपस्थित भएको थाहा छ । नेपाली समर्थकमाझ खेल्न उत्साहित छौँ,’ म्याडसेनले भने, ‘यसलाई अवसरका रूपमा लिएका छौँ ।’
उनको स्थानमा उपकप्तान ह्यारी मानेन्टीले कप्तानी गर्नेछन् । इटालीका प्रशिक्षक जोनले विश्वकपको वार्मअप खेलमा युएईलाई हराएको बताउँदै नेपालसँग खेल्न सहज हुने प्रतिक्रिया दिए । उनले एसिया प्यासिफिकमा नेपाल र युएईको स्तरमा खासै फरक नभएको जनाए । ‘नेपाल विश्वकपमा राम्रो टोली हो । तर, यो टी–२० विश्वकप हो । हामीले अभ्यास खेलमा युएईलाई हराएका छौँ । त्यसैले नेपालविरुद्ध पनि जित्न खेल्छौँ,’ जोनले भने । नेपालले आफ्नो वार्मअप खेलमा क्यानडा र युएईविरुद्ध सानदार जित निकालेको थियो ।
