बुटवल, फागुन २ (मेसस) । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित इन्टलेक्च्युअल एकेडेमीले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार एकेडेमीले विशेष कार्यक्रम आयोजना गरी आफ्नो १६ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोक्दै जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु पन्थीले बुटवल तथा समग्र राष्ट्रकै शैक्षिक गुणस्तर वृद्धिमा संस्थागत विद्यालयहरुको ठूलो भूमिका रहेको चर्चा गरे ।
उनले रुपन्देहीका संस्थागत र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो रहेको बताए । विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले विद्यालयले अहिलेको परिवेशलाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई नैतिक एवं संस्कारसहितको शिक्षामा जोड दिएर अघि बढेको बताए । विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै फरक सिकाइ र संस्कारयुक्त शिक्षण सिकाइलाई जोड दिएको उल्लेख गर्दै उनले विद्यार्थीलाई दवावमा होइन उनहरुको चाहनाअनुसारको शिक्षा दिने कार्यक्रमा विद्यालय निरन्तर सक्रिय रहेको बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष अधिवक्ता गोविन्दप्रसाद मरासिनीको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा अधिकृत मधुसुदन बेल्बासे, प्याब्सन बुटवलका अध्यक्ष मित्रमणि आचार्य, इएनटी सर्जन डाक्टर विष्णु शर्मा, विद्यालय सञ्चालक समिति सदस्य बालकुमारी भण्डारीलगायतले शुभकामना मन्तब्य राखेका थिए । शिक्षक ब्युटी रसाल र सिमरन थापाको सञ्चालनमा भएको कार्यक्रममा गएको शैक्षिक सत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, विषय शिक्षक, विभिन्न रचनात्मक कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको एकेडेमीक कोअर्डिनेटर माया पौडेलले जानकारी दिइन् । सो अवसरमा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, कवितावाचनलगायतका प्रस्तुति प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न प्रकारका साँस्कृतिक प्रस्तुतीहरु देखाएका थिए भने विज्ञान, चित्रकलालगायतका प्रदर्शनीहरु पनि विद्यालय प्राङ्गढमा प्रदर्शन गरेका थिए । विद्यालयका ८०० बढी विद्यार्थी अध्ययनरत छन् ।
