भैरहवा हवाई रुट कार्यान्वयनको प्रतीक्षा

मेचीकाली संवाददाता

१० मंसिर २०८३, बुधबार
1 shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

दिपेश पछाइँ

नेपाल–भारतबिच भैरहवा हुँदै अन्तर्राष्ट्रिय उडानका लागि हाल एकतर्फी रहेको बी ३४५ (काठमाडौं–भैरहवा–लखनउ) हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई नेपालको एक दशक लामो कूटनीतिक प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । संयुक्त प्रेस विज्ञप्तिमा दुवै देश प्राविधिक परामर्शमार्फत रुट सञ्चालनको मोडालिटीलाई अन्तिम रूप दिन सहमत भएको उल्लेख छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पनि प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा १० देखि १२ वर्षदेखिको प्रयासपछि सहमति जुटेको भन्दै यसलाई ऐतिहासिक ‘ब्रेकथ्रु’ भनेका छन् ।

रुट कार्यान्वयनमा आए भैरहवा र पोखरासहित नेपालको अन्तर्राष्ट्रिय हवाई उडानमा सहजता आउने अपेक्षा गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार लखनउ–भैरहवा हुँदै जहाज नेपाल प्रवेश गर्दा सिमरा रुटको तुलनामा भैरहवाका लागि करिब १७ मिनेट र पोखराका लागि १४ मिनेट उडान समय बचत हुन सक्छ । यसले हवाई सञ्चालन खर्च र यात्रुको टिकट मूल्य घटाउनसमेत सहयोग पुग्नेछ । साथै, भैरहवा विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनको बाटो खुल्दा हुस्सुका कारण हुने उडान अवरोध कम हुने अपेक्षा छ ।

विमानस्थल देखेर होटलहरुमा निजी क्षेत्रको अर्बौं लगानी
अर्बौं रुपैयाँ लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित रूपमा सञ्चालन हुन सकेको छैन । विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले गरेको लगानीसमेत प्रभावित भइरहेको छ । यस्तो अवस्थामा हवाई रुटसम्बन्धी सहमतिले लुम्बिनीको पर्यटन, होटल, व्यापार र समग्र आर्थिक गतिविधिमा नयाँ आशा जगाएको छ ।
यद्यपि, सहमति कार्यान्वयनका लागि दुवै देशका नागरिक उड्डयन अधिकारीबिच जहाज हस्तान्तरणको उचाइलगायत प्राविधिक विषय टुंग्याउनुपर्नेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी रुट सञ्चालनमा ल्याउन सकिनेछ । यसअघि २०७५ सालमा विराटनगर, जनकपुर र महेन्द्रनगरका हवाई रुट खोल्ने सहमति भए पनि प्राविधिक तहमा कार्यान्वयन हुन सकेको थिएन । त्यसैले भैरहवाको सहमति पनि कागजमै सीमित हुने जोखिमप्रति सचेत रहनुपर्ने देखिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा योगदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत राजनीतिक नेतृत्व तथा सम्बन्धित अधिकारीहरूको पहल स्मरणीय छ । अब वर्तमान सरकारले उनीहरूको प्रयासबाट बनेको पूर्वाधार र प्राप्त कूटनीतिक सहमतिलाई परिणाममा बदल्न विशेष पहलकदमी लिनुपर्नेछ । भैरहवा रुटको कार्यान्वयनमा ढिलाइ नगरी विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन सके मात्र राष्ट्रिय लगानीको प्रतिफल प्राप्त हुनेछ ।

काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबिच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी हाल एकतर्फी सञ्चालनमा रहेको बी ३४५ (काठमाडौं–भैरहवा–लखनउ) हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो । संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर ८ मा उल्लेख भएअनुसार अब भारतको लखनउ हुँदै भैरहवाबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानलाई समेत अनुमति दिने गरी दुवै देश सहमत भएका छन् ।

यसअघि यो रुट नेपालबाट भारततर्फ बाहिरिने उडानका लागि मात्र प्रयोग हुँदै आएको थियो भने भारतबाट नेपाल प्रवेश गर्ने विमानले सिमरा रुट प्रयोग गर्नुपर्ने अवस्था थियो । सहमतिअनुसार यसको सञ्चालन प्रक्रिया, उडानको उचाइ, एयर ट्राफिक कन्ट्रोल तथा अन्य प्राविधिक पक्ष टुंग्याउन दुवै देशका नागरिक उड्डयन अधिकारीबिच परामर्श हुनेछ र त्यसपछि आवश्यक सम्झौता तथा उड्डयन सूचना प्रकाशन गरी रुट सञ्चालनमा ल्याइनेछ ।
यो सहमतिले भैरहवा र पोखरा जाने अन्तर्राष्ट्रिय उडानको दूरी, समय र इन्धन खर्च घटाउन तथा सिमरा प्रवेशमार्गको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, यो सहमति तत्कालै विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने वा थप नयाँ हवाई रुट खुल्ने निर्णय भने होइन; प्राविधिक प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

के के भएका हुन् सहमति ?
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई पूर्वाधार, ऊर्जा, पर्यटन, व्यापार तथा कनेक्टिभिटीका क्षेत्रमा विस्तार गर्ने महत्वपूर्ण सहमति भएका छन् । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन प्रभावकारी बनाउन लामो समयदेखि प्रतीक्षा गरिएको काठमाडौं–भैरहवा–लखनउ बी ३४५ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भ्रमणको प्रमुख उपलब्धिका रूपमा देखिएको छ । यससँगै जनकपुरधाम र अयोध्याबिच सिधा रेल सेवा सञ्चालन, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर, जनकपुर–अयोध्या र काठमाडौं–वाराणसीलाई जोडेर रामायण, बौद्ध तथा शिवशक्ति पर्यटन सर्किट विकास गर्ने समझदारी भएको छ ।
यसैगरी, नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरण गर्न भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) प्रयोगको नयाँ मार्ग उपलब्ध गराउने र आवश्यक पूर्वाधार बनेपछि ओडिसाको पारादीप बन्दरगाहसमेत प्रयोग गर्न दिने सहमति भएको छ ।

रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गर्दै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने समझदारी भएको छ । सीमावर्ती क्षेत्रमा बनबासामा नयाँ एकीकृत जाँचचौकी (आइसिपी) निर्माणको शिलान्यास, भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँचचौकी निर्माणलाई गति दिने तथा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटर पुल उद्घाटन गरिएको छ ।
ऊर्जा तथा पूर्वाधारतर्फ मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा पेट्रोलियम टर्मिनल निर्माण, सिलिगुडी–झापा पाइपलाइन निर्माण अघि बढाउने र ग्यास पाइपलाइनको सम्भावना खोज्ने सहमति भएको छ ।

जलविद्युत् क्षेत्रमा ६६९ मेगावाटको तल्लो अरुण आयोजनाको शिलान्यास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर टुंग्याउने तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन अघि बढाउने समझदारी भएको छ । इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली उच्च क्षमताका प्रसारण लाइन निर्माणमा पनि सहकार्य अघि बढाइनेछ । भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब २४ हजार करोड नेपाली रुपैयाँ विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ, जसमा ३५ सय करोड भारतीय रुपैयाँ अनुदान र ११ हजार ५ सय करोड भारतीय रुपैयाँ ऊर्जा क्षेत्रका लागि सहुलियतपूर्ण ऋण रहेको छ ।

चितवनमा कृषि औद्योगिक पार्क स्थापना, नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को शाखा स्थापना तथा डिजिटल सेवा, स्टार्टअप र वित्तीय कनेक्टिभिटी विस्तार गर्ने सहमति पनि भएका छन् । यसका अतिरिक्त प्रहरी अनुसन्धान तथा तालिम, सरकारी कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्वास्थ्य, पशुपन्छी तथा मत्स्य विकास, अन्तरिक्ष तथा भूउपग्रह सञ्चार र दिगो सहरी विकासका क्षेत्रमा आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् ।

समग्रमा भ्रमणले दुई देशबिचको सम्बन्धलाई परम्परागत राजनीतिक तथा सांस्कृतिक सम्बन्धबाट आर्थिक साझेदारी, व्यापार, ऊर्जा, पूर्वाधार र प्रविधिमा आधारित परिणाममुखी सहकार्यतर्फ विस्तार गर्ने आधार तयार गरेको छ । तर, सार्वजनिक भएका यी सहमति र घोषणाको वास्तविक उपलब्धि तिनको समयमै कार्यान्वयन र नेपालले प्राप्त गर्ने प्रतिफलबाट मात्रै मापन हुनेछ ।