आरोग्य भवन वर्क्स प्रालिले पायो ‘डब्लुएचओ जीएमपी’ र ‘नेशनल जीएमपी’ प्रमाणपत्र

मेचीकाली संवाददाता

१२ फाल्गुन २०८२, मंगलवार
40 shares

बुटवल । नेपालको निजी क्षेत्रको पहिलो औषधि उद्योग आरोग्य भवन वर्क्स प्रालिले ‘विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याकचरिङ प्रैक्टिस– डब्लुएचओ जीएमपी’ प्रमाणपत्र प्राप्त गरेको छ । साथै कम्पनीले ‘नेशनल जीएमपी’ प्रमाणपत्र पनि प्राप्त गरेको छ । औषधि व्यवस्था विभागबाट यी दुई प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीले उत्पादन, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन प्रणालीका आवश्यक सबै मापदण्ड पूरा गरेको पुष्टि भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सामा अत्याधुनिक उत्पादन प्लान्ट र काठमाडौं महानगरपालिकाा–४, टोखा धापासीस्थित कर्पोरेट कार्यालयमार्फत सञ्चालन हुँदै आएको कम्पनीले सन् १९२५ देखि नेपाली औषधि उत्पादन क्षेत्रमा योगदान दिँदै आएको छ । कम्पनीले यो प्रमाणीकरण संस्थागत सुधार, प्रविधिमा गरिएको निरन्तर लगानी र गुणस्तर अनुगमनको परिणाम भएको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सुमन प्रसाद पाण्डेयले औषधि व्यवस्था विभागबाट प्राप्त प्रमाणीकरण पत्रले आरोग्य भवनको गुणस्तर प्रणाली अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भएको बताए । ‘यो उपलब्धि हाम्रो समर्पित टोलीको परिश्रम, अत्याधुनिक प्रविधिको प्रयोग तथा बिरामी सुरक्षाप्रतिको प्रतिबद्धताको प्रतिफल हो । यसले नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने हाम्रो प्रयासलाई थप मद्दत पु¥याएको छ ।’, प्रबन्ध निर्देशक पाण्डेयले भने ।

उनले यो सफलता समग्र नेपाली आयुर्वेद औषधि उद्योगकै लागि गौरवको विषय भएको र यसले सम्पूर्ण उद्योगीलाई जीएमपीतर्फ उत्प्रेरित गरेको उल्लेख गरे । प्रमाणीकरणपछि उत्पादन क्षमता विस्तार, अनुसन्धान तथा विकासमा थप लगानी र निर्यात सम्भावना बढाउने योजना अघि बढाइएको प्रबन्ध निर्देशक पाण्डेयले जानकारी दिए । कम्पनीले स्वदेशी औषधिलाई विश्वसनीय विकल्पका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ ।

स्थापनाकालदेखि नै गुणस्तरमा सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको कम्पनीले ‘डब्लुएचओ जीएमपी’ प्रमाणीकरण प्राप्त गरेसँगै नेपाली उपभोक्ताले अझ सुरक्षित र प्रभावकारी औषधि स्वदेशमै सुलभ मूल्यमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ । निजी क्षेत्रबाट औषधि उत्पादन सुरु गर्ने अग्रणी संस्थाको रूपमा आरोग्य भवनको यो उपलब्धिले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने राष्ट्रिय लक्ष्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।