सामूहिक विकास सहकारीको ३२ औँ वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२५ आश्विन २०८३, आईतवार
13 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, शंकरनगरस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाको संस्थाका संस्थापक कोषाध्यक्ष तथा अग्रज ज्येष्ठ सदस्य ईश्वरी गिरीले उद्घाटन गरे ।

सोही अवसरमा बोल्दै उनले सहकारीको सफलता सेयर सदस्यको विश्वास, पारदर्शिता र सामूहिक सहभागितामा निर्भर हुने भन्दै सहकारीलाई अझ अनुशासित, जवाफदेही र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रतिको विश्वास घटिरहेको भन्दै उनले सहकारी ऐन, नियम र कानुनको परिधिभित्र रहेर सञ्चालनमा रहेका सहकारीमा समस्या नरहेको बताए ।

संस्थाका अध्यक्ष पार्थमणि आचार्यले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने उनको भनाई थियो । आर्थिक सुशासन, विधि र प्रविधिलाई आत्मसात् गर्दै पारदर्शी ढङ्गले संस्था सञ्चालन गरेकै कारण यो सफलता हासिल गर्न सम्भव भएको अध्यक्ष आचार्यले बताए । समाजमा छरिएर रहेको ससानो पुँजीलाई संकलन गरी सदस्यहरुबिच विभिन्न वित्तीय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै शेयर सदस्यहरुलाई शुलभ, प्रविधियुक्त, सदस्यमैत्री सेवा प्रदान गर्न संस्था सधैँ लागिरहने कुरालाई उनले जोड दिए ।

वि.सं. २०५० मा २६ जना मिलेर २ हजार ६ सय रुपैयाँ शेयर पुँजी संकलन गरी स्थापना भएको सामूहिक विकास सहकारी अहिले लुम्बिनी प्रदेशकै ठुला सहकारीमध्ये एक बनेको छ । मासिक २ सय रुपैयाँ बचत संकलनबाट सुरु भएको संस्थाले तीन दशकभन्दा लामो यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ । सुरुवातमा सीमित सदस्य र न्यून पुँजीबाट अघि बढेको सहकारीमा अहिले १२ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् ।

संस्थाको वासलात ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । शेयर पुँजी र वित्तीय कारोबारका हिसाबले प्रदेशकै अग्रणी सहकारीका रूपमा अघि बढेको संस्थाले तिलोत्तमाको शंकरनगरस्थित आफ्नै सुविधासम्पन्न भवनबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको छ भने संस्थाले भलवारी, फर्साटिकर, बुटवलमा सेवाकेन्द्र विस्तार गरेको छ । सहकारीले हरेक वर्ष आफ्नो कारोबार र नाफा बढाउँदै लगेको छ । रूपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीले अधिकांश ऋण व्यवसाय र उद्योग क्षेत्रमा लगानी गरेको छ ।

संस्थाले गत आर्थिक वर्षमा २ अर्ब ६६ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । सोही अवधिमा संस्थाले ७ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले बताए । संस्थाले बचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम गर्दै आएको छ । वित्तीय बजारको अवस्थालाई ध्यानमा राख्दै संस्थाले बचत तथा कर्जाको व्यवस्थापन गर्दै आएको उनले बताए । सहकारीको शेयर पुँजी ३१ करोड २ लाख ८७ हजार ८ सय रुपैयाँ तथा जगेडा कोषमा २९ करोड २३ लाख रहेको छ ।

सहकारीले गत आर्थिक वर्षको नाफाबाट शेयर सदस्यलाई शेयर रकमका आधारमा ७.७५ प्रतिशत लाभांश वितरण गर्न सफल भएको संस्थाका वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनीले जानकारी दिए । यसका साथै सदस्यले संस्थासँग गरेको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट थप लाभांशसमेत वितरण गरिएको उनले बताए । कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता गर्ने अभ्यासमा पनि संस्थाले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले २०६५ सालदेखि नै सदस्यले गरेको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम वितरण गर्दै आएको उनले बताए । यस्तै संस्थाले उत्कृष्ट सहकारीको रुपमा बिभिन्न सम्मानसमेत प्राप्त गरीसकेको छ ।

कार्यक्रममा अध्यक्ष आचार्यसँगै सचिव रेनुका खरेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष विष्णुहरि पन्थीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक रघुनाथ ढकालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले सबै प्रतिवेदन पास गरेको छ । साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधवप्रसाद पाठक, पूर्वअध्यक्ष तथा सल्लाहकार चुरामणि खरेल, निवर्तमान अध्यक्ष सुरेन्द्रकुमार बर्मा, पूर्वउपाध्यक्ष तथा लुम्बिनी प्रदेश सहकारी संघका सदस्य प्रकाश भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले यसअघि असोज १८ गते भलवारी र फर्साटिकरमा एकाइगत साधारणसभा सम्पन्न गरेको थियो भने असोज २४ गते सदस्यबाट गुनासो तथा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा सहकारीका उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, ज्येष्ठ नागरिक शेयर सदस्य, उद्यमी सदस्य, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष भूमिलाल सापकोटाको स्वागत तथा सचिव रेनुका खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।