घरदैलोमा विष्णु पौडेलः विकासका योजनासँगै रोजगारलाई प्राथमिकता दिन सुझाव

मेचीकाली संवाददाता

१३ फाल्गुन २०८२, बुधबार
27 shares

बुटवल । घरदैलोमा रहेका रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णु पौडेललाई युवा पुस्ताले विकासका योजनासँगै रोजगारमूलक क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् । सोमबार मात्रै जेनजी २.० समूहले यो क्षेत्रमा पौडेललाई साथ दिने घोषणा गरेसँगै अलमलमा परेका युवाहरु उनको पक्षमा खुलेका हुन् । जेनजी समूहले विभिन्न क्षेत्रको अध्ययन र सर्वेक्षणका आधारमा पौडेललाई समर्थन गर्ने घोषणा गरेका थियो ।

निर्वाचनको समय नजिकिँदै गर्दा उनले घरदैलो र मतदाता भेटघाट तीब्र गतिमा बढाएका छन् । पूर्वउपप्रधान तथा अर्थमन्त्री बनेर यस क्षेत्रको विकासमा धेरै काम गरेका पौडेलले बुटवललाई महानगरको रुपमा विकास गर्ने, कालीगण्डकी डाइभर्सन योजना अघि बढाउने, बुटवल–पोखरा जोड्ने बाटो स्तरोन्नति गरी २ घन्टा कटाउनेसहितका कनेक्टिभिटीले धेरैको ध्यान कन्द्रित गराएको हो । पौडेलले घरदैलोमा पनि यस्ता विषयमालाई प्रष्ट पारेका छन् । मंगलबार तिलोत्तमा नगरपालिकाको वडा नं ५ मा घरदैलो कार्यक्रम गरेका छन् । बिहानै सबेरै उनी मतदाताको घरदैलोमा पुगेका थिए । सो क्षेत्रबाट निर्वाचित भएर देशकै अर्थमन्त्रीका रुपमा रुपन्देहीको विकासमा योगदान दिएका उम्मेदवार पौडेलले मतदाताको सुझाव लिएका छन् । अधिकांश पुरानै मतदाताहरु उनको विकास र योजना बारेमा बुझेका छन् । घरघरमा पुग्दा मतदाता खुशी देखिन्छन् ।

घरदैलोमात्र होइन मन्दिर, विद्यालय र संघसंस्थाहरुमा समेत उनी पुगे । नेता पौडेलले सरस्वती पन्चायतन मन्दिर वैदिकआश्रम दर्शन तथा बटुकहरुसँग टीका ग्रहण गरे । मणिग्राममा एक युवाले उनलाई फूल दिँदै अग्रीम विजयको शुभकामना दिए । जेननी पुस्ताहरु देशको बारेमा चिन्तित छन् । युवाहरु पुनः एकपटक यस क्षेत्रबाट पौडेललाई विजयी गराउने गरी लागेको तिलोत्तमा वडा नं. ५ का संयोजक कृष्णप्रसाद भट्टराईले बताए । रुपन्देहीको निर्वाचन परिचालन कमिटीको आयोजनामा मंगलबार बिहानैबाट चुनावी प्रचारप्रसार भएको थियो । पहिलो चरणको घरदैलो सकेर यो दोस्रो चरण सुरु भएको उनले बताए ।

पौडेलले मंगलबार नै तिलोत्तमाको वडा नं ६ को घरदैलो गरे । रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिका गरी ३ पालिका समेटिएको भूगोलमा हरेक मतदातालाई भेट्ने र आफ्ना प्रतिबद्धता सुनाउँदै पौडेल दैनिक हिँडेका छन् । कतिपय ठाउँमा सवारी साधनमार्फत र कतिपय स्थानमा पैदल नै हिँड्दै मतदाता भेट्ने काम जारी छ । मंगलबार नै उम्मेदार पौडेलले तिलोत्तमा ६ मा घरदैलो, बुटवल २ र १० मा सम्पर्क कार्यालयमा भेटघाट तथा तमु समुदायसँग अन्तरसंवाद गरेका छन् । सो क्षेत्रमा पर्ने विभिन्न समस्या सँगै स्थानीयले यी समस्या सम्बोधनका लागि गरेका आग्रहलाई उनले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।