समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८२, सोमबार
20 shares

भैरहवा। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले समानुपातिकतर्फ ६६ प्रतिशत बढी मत प्राप्त गरेको छ । कुल १ लाख ३५ हजार ५० मतदाता रहेको क्षेत्र नं. २ मा ८६ हजार ७१३ मत खसेको थियो । जसअन्तर्गत ८५ हजार ३९६ मत सदर भएका थिए ।

निर्वाचन कार्यालयका अनुसार रास्वपाले ५६ हजार ७७२ मत प्राप्त गरेको छ । जुन सदर मतको ६६.४८ प्रतिशत हो । प्रत्यक्षतर्फ पनि क्षेत्र नं. २ मा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गरेका थिए । २०७९ सालको निर्वाचनमा पनि रास्वपाले समानुपातिकतर्फ २५ हजार ६७३ मत ल्याएर यो क्षेत्रमा पहिलो पार्टी बनेको थियो ।
यस पटकको निर्वाचनमा भने रास्वपाले अघिल्लो निर्वाचनभन्दा दोब्बरभन्दा बढी मत प्राप्त गरेको हो । नेकपा एमालेले समानुपातिक तर्फ जम्मा १० हजार ८९८ मत प्राप्त गरेको छ । यो मत सदर मतको १२.७६ प्रतिशत हो । एमालेले प्रत्यक्षभन्दा समानुपातिकतर्फको मत घटाएको छ ।

एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका थिए । एमालेले समानुपातिकतर्फ पनि अघिल्लो निर्वाचनभन्दा यस पटकको निर्वाचनमा झन्डै आधा मत कम ल्याएको छ । अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकतर्फ २१ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नेपाली कांग्रेसले समानुपातिकतर्फ ८ हजार ४६७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले प्राप्त गरेको समानुपातिक मत सदर मतको ९.९१ प्रतिशत हो । कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ १३ हजार ४५० मत ल्याएर तेस्रो बनेको थियो ।

क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ राप्रपाले २ हजार ५४७ मतसहित चौथो तथा श्रम संस्कृति पार्टीले २ हजार ३२४ मतसहित पाँचौँ भएको छ ।
यस्तैगरी रूपन्देही क्षेत्र नम्बर ३ मा पनि समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ । पार्टीले खसेको मतभन्दा ५० प्रतिशत बढी मत ल्याउँदा अन्य दलको समानुपातिक मत निकै कम देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५८ हजार ३२४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ८ हजार १८१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ११८ मत, नेकपा एमालेले ७ हजार ६८९ मत र नेपाली कम्युनिस्ट पार्टीले २ हजार २७७ मत प्राप्त गरेको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले रूपन्देही क्षेत्र नम्बर ३ मा समानुपातिक मतगणना शान्तिपूर्ण रूपमा सम्पन्न भएको घोषणा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सिद्धार्थनगरका सभापति परशुराम पराजुलीले मतदाताप्रति आभार व्यक्त गर्दै पार्टीले गरेका सबै प्रतिबद्धता पूरा गर्ने बताए । उनले जनताको विश्वास अनुसार काम गर्दै विकास र सेवा जारी राख्ने प्रतिबद्धता पनि जनाएका छन् ।