लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८२, सोमबार
1150 shares

रमेश पराजुली

बुटवल। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका कुल २६ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै २१ वटा क्षेत्रमा सानदार जित हासिल गरेको छ । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समान २–२ क्षेत्रमा जितेका छन् भने नेकपा (एमाले) एउटा मात्रै सिटमा खुम्चिएको छ ।

रास्वपाले एमाले–कांग्रेसका पुराना गढ भत्काउँदै रुपन्देहीका ५ वटै, दाङका ३ वटै, गुल्मीका २ वटै, नवलपरासी पश्चिमका २ वटै र बर्दियाका २ वटै क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । यस्तै अर्घाखाँची, प्युठान, पाल्पाको एउटा, कपिलवस्तु र बाँकेका २–२ वटा क्षेत्रमा रास्वपाले भारी मतान्तरका साथ सानदार जित निकाल्दा कांग्रेसले पाल्पा र कपिलवस्तुका एक–एक क्षेत्र, नेकपाले रुकुम पूर्व र रोल्पा गरी २ वटा क्षेत्र तथा एमालेले बाँकेको एउटा मात्रै क्षेत्रमा जित हासिल गरेको हो ।

कुन क्षेत्रमा कसले जिते ?
५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका महामन्त्री सुनिल लम्साल भारी मतका साथ विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर केसीले ११ हजार ९८२ मत मात्रै प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गर्दा नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत पाएका छन् । यस निर्वाचन क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको थियो ।

रुपन्देहीको क्षेत्र नम्बर २ मा रास्वपाकै सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

२०६४ को पहिलो संविधान सभा चुनावसहित त्यस यताका सबै निर्वाचनमा सहज जित निकाल्दै आएका पौडेलले योपटक फराकिलो मतान्तरले पराजय बेहोरेका छन् । निर्वाचनको टिकट वितरणका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरुमा पौडेललाई पाल्पा क्षेत्र नम्बर २ को टिकट दिएका थिए । तर, रुपन्देही–२ का नेताकार्यकर्ताले दबाव दिएर उनलाई फिर्ता गराएका थिए ।

पौडेलले २०६४ मा तत्कालीन माओवादीका भक्तिप्रसाद पाण्डेलाई करिब दुई हजार मतान्तरले पराजित गरेका थिए । यस्तै २०७० सालको दोस्रो संविधान सभा चुनावमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । २०७४ सालको चुनावमा पौडेलले नेपाली कांग्रेसका युवराज गिरीलाई २२ हजारको फराकिलो मतान्तरले जितेका थिए । २०७९ सालको चुनावमा भने रास्वपाका गणेश पौडेललाई १ हजार ६३६ मतको झिनो अन्तरले मात्र पराजित गरेका थिए ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.लेखजंग थापा विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनले नेपाली कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरे । थापाले ५८ हजार ८१४ मत ल्याउदा गुरूङले जम्मा ८ हजार ४३५ मत मात्रै ल्याएका छन् । यस्तै एमालेका बाशुदेव घिमिरेले ८ हजार २७८ र राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत पाए । डा. थापा न्यूरो रोग विशेषज्ञ हुन् ।

रुपन्देही–४ बाट रास्वपाका कन्हैया बनियाँ निर्वाचित भएका छन् । बनियाँले २८ हजार ६६ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का प्रमोदकुमार यादवले २० हजार २६२ मत मात्रै ल्याएका छन् । तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत पाएका छन् । त्यस्तै, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाको ३ हजार ४१० र जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवको २ हजार ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका अहमददिन मुसलमानको ९२६ मत रहेको छ ।
रुपन्देहीको क्षेत्र नम्बर ५ मा पनि रास्वपाका उम्मेदवार तौफिक अहमद खाँन विजयी भएका छन् । उनले एमालेका उम्मेदवार खिमलाल भट्टराईलाई २५ हजार ७ सयभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । खाँनले ३८ हजार ८०६ मत ल्याएर विजयी हुँदा भट्टराईले १३ हजार एकसय मत मात्रै पाएका छन् । यस्तै नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, नेपाली कम्युनिस्ट पार्टीका मुहम्मद वकील मुसलमानले ६ हजार १७६ र जनमत पार्टीका ओमप्रकाश यादवले ३ हजार १०९ मत ल्याएका छन् ।

यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीका दुवै क्षेत्रमा रास्वपाले जितेको छ । क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसका दुई ठुला प्रभावशाली नेताहरुलाई हराउँदै रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भए । ढकालले १४ हजार ४६१ मतान्तरले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरे । ढकालले २९ हजार ६४२ मत ल्याएर विजयी हुँदा एमालेका ज्ञवालीले १५ हजार १८१ मत मात्र प्राप्त गरे ।

यस्तै कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुदर्शन बरालले ३ हजार १६७ मत मात्र ल्याउन सके । विगतका निर्वाचनमा यो क्षेत्रमा भण्डारी र ज्ञवालीबिच प्रतिस्पर्धा हुँदै आएको थियो । २०७९ सालको निर्वाचनमा यहाँ भण्डारी विजयी भएका थिए भने ढकालले डडेल्धुरामा शेरबहादुर देउवासँग चुनाव लडेर पराजित भएका थिए ।
गुल्मीको क्षेत्र नम्बर २ मा रास्वपाकै गोविन्द पन्थी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गरे । पन्थीले १६ हजार ९६७ मत पाएर निर्वाचित भएका हुँदा विष्टले १६ हजार ४०६ मत पाए । त्यस्तै नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्रीराम महतले ३ हजार ८१ मत मात्रै प्राप्त गरे । पन्थी नेपाल प्रहरीका पूर्वडीएसपी तथा अधिवक्ता हुन् । ३० वर्ष प्रहरी सेवा गरेर डीएसपी दर्जाबाट उनी २०८१ सालमा अवकाश भएका थिए ।

यसअघिका पाँचवटा निर्वाचनमध्ये चारवटामा जित निकालेका विष्टको यो दोस्रो हार हो । उनले २०७० सालदेखि लगातार (२०७०, २०७४ र २०७९) ‘ह्याट्रिक’ जित निकालेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी, तत्कालीन नेकपा एकीकृत समाजवादीसहितको संयुक्त गठबन्धनबाट महिला नेत्री रामकुमारी झाँक्रीसँग कडा प्रतिस्पर्धा भए पनि अन्ततः विष्टले जित निकालेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजित भएका थिए ।
यस्तैगरी अर्घाखाँचीमा पनि रास्वपाकै उम्मेदवार हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा उनले एमालेका पिताम्बर भुसाललाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । हरिले ३५ हजार २३ मत ल्याएर विजयी हुँदा पिताम्बरले २२ हजार ६४९ मत मात्रै पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८४७ र राष्ट्रिय जनमोर्चाका पशुपति ढकालले १ हजार ८०९ मत ल्याएका छन् । २०७९ सालको निर्वाचनमा यहाँबाट टोपबहादुर रायमाझी विजयी भएका थिए ।

उता दाङका ३ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले सानदार जित हासिल गरेका छन् । क्षेत्र नम्बर १ मा फराकिलो मतान्तरसहित देवराज पाठक विजयी भएका छन् । पाठकले ४२ हजार ६०२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २८० मत ल्याएका छन् । उनीहरूको मतान्तर २७ हजार ३२२ छ । यहाँ नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४ हजार ९६५ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३८४ मत मात्रै प्राप्त गरे ।

दाङको क्षेत्र नम्बर २ बाट पनि रास्वपाकै उम्मेदवार विपिनकुमार आचार्य विजयी भएका छन् । आचार्यले एमालेका महासचिव शंकर पोखरेललाई २८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । आचार्यले ४३ हजार ५५९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पोखरेलले १५ हजार २८७ मत मात्रै पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५५८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८३ मत पाएका छन् । दाङ–२ मा कुल ८० हजार ९२० मत खसेको थियो ।

दाङको क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । यहाँ कांग्रेसका उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेको थियो ।

यस्तै पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी भएका छन् । रानाले १८ हजार ३३६ मत प्राप्तगरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत ल्याएका छन् । राना एक हजार ५१७ मतान्तरले विजयी भएका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले १४ हजार ३३३ मत ल्याएका छन् भने, नेपाली कम्युनिष्ट पार्टीका हुमबहादुर सुनारीले ९५१ मत मात्रै पाएका छन् ।

यस्तैगरी प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक विजयी भएका छन् । अन्तिम परिणामअनुसार उनले २७ हजार ४६९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्राडा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरे । एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थानमा रहे । नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहँदा राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौँ स्थानमा रहेका छन् । प्युठानमा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेकामा ८४ हजार ४३३ मत खसेको थियो । तीमध्ये ८१ हजार १४६ मत सदर र ३ हजार २८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तैगरी कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य भारी मतान्तरले विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई करिब १९ हजार मतान्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् । आचार्यले ३४ हजार १४८ र शर्माले १५ हजार ८६० मत ल्याए । नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२, एमालेका विश्रामप्रसाद चौधरीले ७ हजार ९८१ र नेकपाका कृष्णबहादुर कुँवरले ४ हजार ६१६ मत प्राप्त गरे ।

कपिलवस्तु क्षेत्र नम्बर २ मा पनि रास्वपा कै उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन् । थापाले ६ हजार १०८ मतान्तरले जितेका हुन् । थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी भएका छन् । शाहले निकटतम प्रतिस्पर्धी रास्वपाका प्रकाश रजौरियालाई मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । शाहले २३ हजार ५३५ मत प्राप्त गरी विजयी हुँदा रजौरियाले १८ हजार ८९० मत प्राप्त गरे । यस्तै एमालेका बीरेन्द्रकुमार कानोडियाले १४ हजार ७६३ मत ल्याए भने राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का ईश्वर दयाल मिश्रले ५ हजार १७ मत पाए ।

यस्तै बाँके निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुरेशकुमार चौधरी विजयी भएका छन् । चौधरीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेललाई १७ हजार ४९१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । चौधरीले ३२ हजार ७९२ मत प्राप्त गरी विजयी हुँदा गौडेलले १५ हजार ३०१ र नेकपा (एमाले) का उम्मेदवार सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरे ।

बाँके क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार मोहम्मद इश्त्यिाक राई विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार उनले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत मात्रै प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत पाएका छन् ।

बाँके क्षेत्र नम्बर ३ मा भने रास्वपाका उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरे ।

यस्तै बर्दियाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुरसिंह थारू विजयी भएका छन् । थारूले ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गरेका छन् । कांग्रेसका सञ्जय कुमार गौतमले १३ हजार ७२२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका विष्णुप्रसाद चौधरीले ९ हजार २८५ मत प्राप्त गरेका छन् ।

बर्दियाको क्षेत्र नम्बर २ मा पनि रास्वापका श्रीधर पोखरेलले जित हासिल गरेका छन् । उनले २९ हजार ६७८ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका किशोर सिंह राठोरले २० हजार ४०२ मत ल्याएका छन् । यी दुईबिच ९ हजार बढी मतको अन्तर छ । भने नेकपाका सुरेश पन्थले १९ हजार १८० मत पाएका छन् ।

‎यस्तैगरी लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन् । साथै यहाँ नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार ४६२ ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ र प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याएका छन् ।

यस्तै रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा वर्षमान पुन विजयी भएका छन् । । नेपाली कम्युनिष्ट पार्टीका नेता पुनले अर्थशास्त्रीसमेत रहेका नेपाली कांग्रेसका डा. सुदनकुमार वलीलाई १५ हजार ४ सय ५२ मतले पराजित गर्दै विजयी भएका हुन् । योसँगै पुनले रोल्पाबाट लगातार तेस्रोपटक जित निकालेका हुन् । पुनले २७ हजार ४६० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा.वलीले १२ हजार ८ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८९४ मत प्राप्त गरे भने नेकपा (एमाले) का गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाए । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन पुनको संसदीय यात्रामा यो चौथो जित हो ।

यस्तैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका विनोदकुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् । खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनितकुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रकुमार गुप्ता विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार गुप्ताले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ को भारी मतान्तरले गरेका हुन् । गुप्ताले कुल ४४ हजार १३८ मत प्राप्त गरी जित हासिल गर्दा थापाले १५ हजार ९४५ मत मात्रै प्राप्त गरे । लुम्बिनी प्रदेशमा यी बाहेक अन्य कुनैपनि दलका उम्मेदवारले जित हासिल गर्न सकेनन् ।

कसले कहाँबाट जिते ?
सुनिल लम्साल रूपन्देही–१, (रास्वपा)
सुलभ खरेल रूपन्देही–२, (रास्वपा)
डा.लेखजंग थापा रूपन्देही–३, (रास्वपा)
कन्हैया बनियाँ रूपन्देही–४, (रास्वपा)
तौफिकअहमद खाँन रूपन्देही–५, (रास्वपा)
सागर ढकाल गुल्मी–१, (रास्वपा)
गोविन्द पन्थी गुल्मी–२, (रास्वपा)
देवराज पाठक दाङ–१, (रास्वपा)
विपिन आचार्य दाङ–२, (रास्वपा)
कमल सुवेदी दाङ–३, (रास्वपा)
सन्दीप राना पाल्पा–१, (कांग्रेस)
माधव थापा पाल्पा–२, (रास्वपा)
सुशान्त वैदिक प्युठान, (रास्वपा)
हरिप्रसाद भुसाल अर्घाखाँची, (रास्वपा)
मोहनलाल आचार्य कपिलवस्तु–१, (रास्वपा)
विक्रम थापा कपिलवस्तु–२, (रास्वपा)
अभिषेकप्रताप शाह कपिलवस्तु–३ (कांग्रेस)
सुरेशकुमार चौधरी बाँके–१, (रास्वपा)
मोहम्मद इश्तियाक राई बाँके–२ (एमाले)
खगेन्द्र सुनार बाँके–३, (रास्वपा)
विक्रम खनाल नवलपरासी–१, (रास्वपा)
नरेन्द्रकुमार गुप्ता नवलपरासी–२, (रास्वपा)
ठाकुर सिंह थारु बर्दिया–१, (रास्वपा)
श्रीधर पोख्रेल बर्दिया–२, (रास्वपा)
पुष्पकमल दाहाल (प्रचण्ड) रूकुम पूर्व (नेकपा)
वर्षमान पुन रोल्पा (नेकपा)