कांग्रेसको नगर अधिवेशनः रुपन्देहीका कुन पालिकामा को विजयी ?

मेचीकाली संवाददाता

१० आश्विन २०७८, आईतवार
620 shares

बुटवल। नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन अन्तर्गत रुपन्देहीका अधिकांश पालिकामा शेरबहादुर देउवा पक्ष बिजयी भएका छन्। बुटवल उपमहानगर र देवदह नगरमाबाहेक अन्य नगरपालिकामा सबै देउवा पक्षबाट सभापति चयन भएका छन् ।

बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन्। पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन्। पाण्डेय पार्टीका सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् । उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । केसी प्यानलका नर बहादुर रजालीले २३८ र हरिलाल सुनार १०२ मत पाए । सचिवमा पाण्डेय प्यानलकै गंगा पन्थीले ३०७ मत र छाया पोखरेलले २ सय ९४ मत पाएर विजयी भए । केसी प्यानलका जय प्रकाश भट्टराईले २३९ र सन्तोष पौडेल १४८ मत पाए । दुई जना सहसचिव मध्ये पाण्डेय प्यानलका देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मत सहित विजयी भए ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा देउवा पक्षका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिए ।

पाण्डे वर्तमान नगर सभापति हुन् भने न्यौपाने तिलोत्तमा ९ का वडाध्यक्ष हुन् । अन्य सबै पदाधिकारी भने पाण्डे प्यानलकै विजयी भए । तिलोत्तमामा सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत प्राप्त गरे ।

यता सिद्धार्थनगरमा देउवा पक्षकै कोसिस खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका छन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् । उनीसहित उनको सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो ।

सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए । खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाह निकट हुन् भने पोखरेल बालकृष्ण खांण निकट हुन् ।

शनिबार भएको निर्वाचनमा जिल्लाका छ वटा नगरपालिकामध्ये सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक, तिलोत्तमा र सैनामैना नगरपालिकामा देउवा पक्षबाट नगर सभापति निर्वाचित भएका छन् । बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट विजयी भएका छन् ।

पाँच पालिकामा निर्विरोध

रुपन्देहीका १६ मध्ये पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ । जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका घिमिरेले जानकारी दिए ।

जिल्लाका बुटवल उपमहानगरपालिका तथा सिद्धार्थनगर, तिलोत्तमा र देवदहमा देउवा र पौडेल समूह अलग–अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धाका लागि उत्रिएका थिए ।