आज जितगढी विजय दिवसः जितगढी केन्द्रित पर्यटन सर्किटको खाँचो

–वीरताको इतिहास बुझाउने संग्रहालय ठडियो तर चलाइएन । जितगढीसँगै बटौली पर्यटन सर्किटको सम्भावना बढाउने पहल भए पनि साकार हुन सकेनन्

मेचीकाली संवाददाता

६ बैशाख २०८३, आईतवार
18 shares

अमृत गिरी

बुटवल । आज वैशाख ७ नेपालले तत्कालीन शक्तिशाली अंग्रेज सेनामाथि विजय हासिल गरेको गौरवपूर्ण दिन । वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई परास्त गर्दै राष्ट्रिय स्वाभिमानको अद्वितीय इतिहास रचेको थियो ।

युद्धमा कर्णेल उजिरसिंहसहित कैयौं वीर योद्धाहरूले बलिदान दिएका थिए । केही वर्षअघिसम्म ओझेलमा परेको यो किल्ला २०७४ पछि जनप्रतिनिधिहरूको पहलमा पुनः उजागर हुँदै आएको छ, जहाँ अहिले हरियाली पार्क, डिजिटल सूचना बोर्ड, जलफोहोरा र विशाल राष्ट्रिय झण्डाजस्ता संरचनाले यसको ऐतिहासिक महत्वलाई पुनर्जीवित गरिरहेका छन् ।

जितगढी विजयको मिति लामो समय विवादित रहेपछि बुटवल उपमहानगरपालिकाले २०७५ चैत २६ गतेको कार्यपालिका बैठकमार्फत वैशाख ७ लाई ‘विजय उत्सव दिवस’का रूपमा आधिकारिक मान्यता दिएको थियो । हरेक वर्ष नेपाली सेनाको सहभागितामा पदयात्रा, सांस्कृतिक कार्यक्रम र वीरहरूको स्मरण गर्दै उत्सव मनाइन्छ ।
इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको संगम बनेको यो स्थललाई मणिमुकुन्दसेन दरबार र नुवाकोट गढीसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि बढेपनि त्यो सकार हुन सकिरहेको छैन ।

तर तिनाउ नदीको कटान, अतिक्रमण र पूर्वाधार अभाव अझै चुनौतीका रूपमा रहेका छन् । योजनाबद्ध संरक्षण, लगानी र पर्यटनसँग समायोजन गर्न सके जितगढी लुम्बिनी प्रदेशकै प्रमुख ऐतिहासिक तथा आर्थिक केन्द्र बन्न सक्ने सम्भावना रहेको विज्ञहरूको भनाइ छ ।
वीरताको इतिहास बुझाउने भन्दै बटौली युद्ध संग्रहालय ठडिएको छ । तर, त्यो संग्रहालयका रुपमा चलाइएन । जितगढीसँगै बटौली पर्यटन सर्किटको सम्भावना बढाउने पहलका कुरा धेरै भए तर, साकार हुन सकेका छैनन् ।

वीरताको प्रतीक जितगढी
नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१८१६) अन्तर्गत भएको उक्त लडाइँमा उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले आधुनिक हतियारले सुसज्जित अंग्रेज (इष्ट इण्डिया कम्पनी) फौजलाई परास्त गरेको इतिहास छ । अंग्रेज गभर्नर लर्ड हेस्टिङग्सको निर्देशनमा मेजर जनरल जोन सुलिभान वुड र कमाण्डर क्रोकर नेतृत्वको सेना बुटवल हुँदै पाल्पा र तिब्बतसम्म विस्तार गर्ने योजनासहित आएको थियो । त्यहीँ अंग्रेज सेनालाई नेपाली वीर योद्धाहरुले परास्त गरेका थिए ।

जितगढी युद्धमा नेपाली सेनाले सीमित स्रोत र घरेलु हतियारकै भरमा शक्तिशाली अंग्रेज सेनालाई पराजित गरेको थियो । यस युद्धमा सरदार सूर्य थापा, लेप्टेन अम्बर अधिकारी, जमदार भीमसेन देउजा, सुरवीर बोहोरा, रणशूर बानियाँ, जुठे बस्नेतलगायत करिब पाँच सय नेपाली वीरहरूले सहादत प्राप्त गरेका थिए । नेपाललाई जिताउन उनीहरुले आफ्नै बलिदानी दिए ।
बुटवल उपमहानगरपालिकाले नेपाली सेनासंगको सहकार्यमा किल्ला परिसरमा कर्णेल उजिरसिंहसहित १३ जना वीर योद्धाहरूको सालिक निर्माण गरेको छ । जितगढीमा कर्णेल उजीरसिंहको पूर्ण कदको र अरुको अर्धकदको सालिक निर्माण भएको छ । जसले इतिहासलाई जीवित बनाएको छ ।

पर्यटन गन्तव्यको रूपमा सम्भावना
जितगढीलाई केन्द्रमा राखेर मणिमुकुन्दसेन दरबार, नुवाकोट गढी, रामापिथेकस क्षेत्र, सहस्रधारा र हिलपार्कसम्म जोड्ने ‘बटौली पर्यटन सर्किट’ विकासको योजना अघि बढाइएको छ । किल्ला परिसरमा संग्रहालय, एम्फिथिएटर, भ्यू डेक, कलात्मक गेट, तथा तिनाउ किनारमा जलपर्यटन विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको छ । गर्नैपर्ने यी काममा भने अहिले खास चासो देखिएको पाइँदैन ।
इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको संगम बनेको जितगढी अब केवल स्मारक होइन–सम्भावनायुक्त पर्यटन गन्तव्य पनि हो । विज्ञहरूका अनुसार किल्लालाई नजिकैको मणिमुकुन्दसेन दरबार र नुवाकोट गढीसँग जोडेर एकीकृत ‘बुटवल ऐतिहासिक पर्यटन सर्किट’ विकास गर्न सकिन्छ । यसका बारेमा यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि आवाज पनि उठाउँदै आएका छन् । यसका साथै निर्माण भएको युद्ध संग्रहालयलाई योजनाअनुरुप नै सञ्चालन गरी ऐतिहासिक युद्धको जीवित अनुभव (डेमो) प्रस्तुत गर्न सकिन्छ ।

तिनाउ नदीमा जलाशय निर्माण गरी बोटिङ तथा मनोरञ्जन गतिविधि सञ्चालन गर्न सकिन्छ । पुरानो बुटवलको सांस्कृतिक स्वरूप झल्काउने संरचना पुनर्निर्माण गर्न सकिने पनि उत्तिकै सम्भावना रहेको बारेमा यसक्षेत्रका अग्रज देवेन्द्रराज शाक्यले सुरुदेखि नै सुझाव दिँदै आएका छन् ।
लुम्बिनी क्षेत्रसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटन प्रवाह आकर्षित गर्ने, सार्वजनिक–निजी साझेदारीमा होटल, रिसोर्ट र सेवा पूर्वाधार विस्तार गरि पर्यटन सर्किटका रुपमा विस्तार गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायी माधव नेपालको भनाइ छ । नेपालसहितका व्यवसायीहरुले नुवाकोट गढीलाई पर्यटन गन्तव्यका रुपमा विकास गरिरहेका छन् । त्यहाँसम्म चल्ने केबलकार समेत सञ्चालनमा छ ।

यद्यपि किल्ला क्षेत्र अझै पूर्ण रूपमा सुरक्षित छैन । तिनाउ नदीको कटान, निजी संरचनाद्वारा अतिक्रमण र सीमित पूर्वाधार विकास चुनौतीका रूपमा रहेका छन् । किल्ला वरपरका जग्गा अधिग्रहण, दीर्घकालीन गुरुयोजना कार्यान्वयन र निरन्तर लगानी अत्यावश्यक रहेको यहाँका अगुवा शाक्यको सुझाव छ ।