सर्भर नचल्दा यातायात कार्यालयको सेवा ठप्प

मेचीकाली संवाददाता

२२ बैशाख २०८३, मंगलवार
20 shares

मिलन गाहा

बुटवल । बुटवलस्थित यातायात व्यवस्था कार्यालय (सवारी) को सेवा एक सातादेखि पूर्ण रूपमा ठप्प भएको छ । विभागको सर्भरमा समस्या आएपछि वैशाख १७ गतेदेखि सेवा अबरुद्ध भएको निमित्त कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।

सर्भर समस्या समाधानका लागि विभागसँग पटक–पटक समन्वय गरिए पनि हालसम्म सेवा पुनः सञ्चालन हुन नसकेको उनले बताए । समस्या समाधान हुनेबित्तिकै सेवा सुचारु हुने उनले बताए । दैनिक ४ देखि ५ सय सेवाग्राहीले सेवा लिने उक्त कार्यालयमा सामान्य अवस्थामा दैनिक लाखौँ राजस्व संकलन हुने गर्छ । सेवा ठप्प हुँदा राजस्वमा ठुलो असर परेको छ भने लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका सेवाग्राही मारमा परेका छन् ।

कार्यालयमा सेवा लिन आएका सैनामैनाका टिकाराम पौडेलले सर्भर कहिले सञ्चालनमा आउँछ भन्नेमा कार्यालय नै अन्योलमा रहेको गुनासो गरे । ‘यति लामो समयसम्म सेवा बन्द हुनु राज्यकै कमजोरी हो ।’, उनले भने ।

त्यस्तै, बुटवलमा रिकन्डिसन व्यवसाय सञ्चालन गर्दै आएका सन्तोष केसीले सवारी साधन किनबेच, राजस्व बुझाउने तथा नामसारीजस्ता काम प्रभावित हुँदा व्यवसाय नै ठप्पजस्तै भएको बताए । सर्भर समस्या समाधानमा ढिलाई हुँदा सेवा प्रवाह र राजस्व संकलन दुवै प्रभावित बनेको छ भने सेवाग्राही र व्यवसायी दुवै अन्योलमा परेका छन् ।