रमेश पराजुली
बुटवल । एचआइभी संक्रमणको रोकथाम, परीक्षण तथा उपचार सेवामा सुधार ल्याउन सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । एड्स हेल्थ केयर फाउन्डेशन (एएचएफ) नेपालको आयोजनामा बुधबार बुटवलमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले एचआइभी संक्रमणको जोखिम अझै कायम रहेकाले यसको नियन्त्रणका लागि साझा प्रयास अपरिहार्य रहेको औंल्याए ।
कार्यक्रममा एएचएफ नेपाल लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक धर्मराज भट्टराईले एचआइभी रोकथाम, जाँच÷परीक्षण, उपचार तथा हेरचाह सेवामा निरन्तर सरकारसँग सहकार्य गर्दै आएको बताए । एएचएफ नेपालले हाल देशभरका १९ वटा अस्पताल र २ वटा एचआइभी इन्फरमेसन सेन्टर गरी २१ वटा एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) केन्द्रबाट सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । कार्यक्रम संयोजक भट्टराईका अनुसार लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, एचआइभी इन्फरमेसन सेन्टर सुनौली, कपिलवस्तु अस्पताल र भेरी अस्पताल गरी ४ स्थानमा संक्रमितको हेरचाह, उपचार र अन्य सेवा सञ्चालनमा रहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एआरटी शाखाबाट हाल १ हजार ७०५ जना एचआइभी संक्रमितले सेवा लिइरहेका छन् । जसमा पुरुष ८५२ जना, महिला ७७९ जना, १५ वर्ष मुनिका बालबालिका ५६ जना र अन्य १८ जना रहेका छन् । कुल संक्रमितमध्ये रेजिमेनअनुसार १ हजार ७४८ जना ‘फस्ट लाइन’ र ५७ जना ‘सेकेण्ड लाइन’ मा रहेको कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए ।
प्रादेशिक अस्पतालमा एचआईभी संक्रमित ४३ गर्भवतीबाट संक्रमण नभएका स्वस्थ बच्चा जन्मिएका छन् । पिएमटिसिटी सेवाअन्तर्गत आमाको उपचारमा विशेष ख्याल र बच्चा जन्माउन विशेष ध्यान दिएपछि बच्चामा संक्रमण नदेखिएको उनले बताए । एचआईभी संक्रमितको उपचारमा लुम्बिनी प्रादेशिक अस्पताल काठमाडौंको टेकुपछिको राम्रो मानिन्छ ।
प्रादेशिक अस्पतालबाट नियमित औषधी खानेमध्ये ९७ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून मात्रामा रहेको पाइएको छ । १ हजार ७९ जनाको भाइरल लोड परीक्षण गरिएकोमा १ हजार ३९ जनामा न्यून मात्रामा रहेको उनले बताए । संक्रमित बिरामीहरुले एआरटी सेवा नियमित नलिएका कारण नियन्त्रणमा केही चुनौती रहेको उनले बताए । एएचएफले सन् २००८ देखि नेपालमा एचआइभी÷एड्स रोकथाम, परीक्षण, र उपचार सेवा सँगै सुरक्षित यौन शिक्षा, कण्डम वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पताल एआरटी शाखा प्रमुख भीमप्रसाद ज्ञवालीले अस्पतालमा सञ्चालित एआरटी सेवाको अवस्था र सेवा प्रवाहबारे जानकारी गराएका थिए । पछिल्लो समय संक्रमितको दर प्रति हजारमा १२ जना अर्थात् ०.१२ प्रतिशत रहेको उनले बताए । एचआइभी संक्रमित आमा तथा बच्चासम्बन्धी सेवा (सिएबिए) अन्तर्गत १६६ जनाले नियमित सेवा लिइरहेका छन् । तीमध्ये ११० जना वयस्क र ५६ जना बालबालिका रहेका छन् । यस्तै, पछिल्लो एक वर्षमा ९ जनाले पिइपी सेवा लिएका थिए । तीमध्ये कसैमा पनि संक्रमण पुष्टि नभएको उनले बताए । शाखा प्रमुख भीमप्रसाद ज्ञवालीका अनुसार नेपालमा यौनकर्मी महिला, तिनका ग्राहक पुरुष, समलिंगी तथा तेस्रो लिंगीहरू, सुइद्वारा लागूपदार्थ सेवन गर्नेहरू, जेलमा रहेका कैदीबन्दी र वैदेशिक रोजगारीमा गएकाहरू तथा तिनका श्रीमतीहरूसमेत एचआइभीको जोखिममा छन् । नेपालमा हाल करिब ३४ हजार एचआइभी संक्रमित रहेको अनुमान छ । जसमा लुम्बिनी प्रदेशमा मात्रै ५ हजारभन्दा बढी संक्रमित रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले एचआइभी संक्रमण रोकथामका लागि सञ्चारमाध्यमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए । संक्रमितको मनोबल बढाउन जरुरी रहेको भन्दै उनले एचआइभीसम्बन्धी सचेतना र सही सूचना प्रवाहमा सहकार्य गर्न पत्रकार महासंघ तयार रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल एआरटी शाखाका मेडिकल अधिकृत डा.सन्जीत पाण्डे, बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेलगायतले अझै पनि समाजमा एचआइभी संक्रमितलाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति कायमै रहेकोले उनिहरु खुल्न नसकेको उल्लेख गर्दै नियमित रूपमा औषधी सेवन ग¥यो भने अन्य दीर्घरोगहरूजस्तै एड्सका बिरामीले पनि राम्रो जीवनयापन गरेर बाँच्न सक्ने बताए ।
सन् १९८७ मा अमेरिकामा स्थापना भएको गैर नाफामुलक अन्तर्राष्ट्रिय संस्था एएचएफले हाल नेपालसहित विश्वका ५० वटा देशहरूमा २७ लाखभन्दा बढी एचआइभी संक्रमितहरूको जीवन बचाउने र हेरचाह सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमा सन् २०३० सम्म नयाँ संक्रमण दरलाई शून्यमा पु¥याउने लक्ष्य राखिएको छ ।
