टोपलाल अर्याल
गुल्मी । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा मुसिकोट नगरपालिकाको समन्वयमा उद्यमीहरुको उद्यमशिलता पराशर्म कार्यशाला सम्पन्न भएको छ । विगतमा सीप विकास तालिम प्राप्त गरेर उद्यममा जोडिएका उद्यमीहरुको व्यवसायको अवस्था, समस्या, अपेक्षा र सहजीकरणका उपायका विषयमा कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले उद्यमको व्यवसायिक योजना र नगरको नीति कार्यक्रमका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कफीको सम्भावना र अहिले भइरहेका कामहरुको बारेमा कफी विकास केन्द्रका प्रमुख राहुल पाण्डे र स्थानीय उद्यमका संभावनाका विषयमा टोपलाल अर्यालले कार्यपत्र प्रस्तुत गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले जानकारी दिए ।
अर्यालले आफूहरुले हरेक स्थानीय तहका उद्यमीहरुलाई व्यवसायीक ज्ञान सीप र प्रविधिमा सहयोग गरिरहेको बताए । कार्यक्रममा वामी उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले आफूहरुले व्यवसायीहरु व्यवसाय प्रवद्र्धनमा र मेला उत्सवहरुमा निशुल्क उत्पादन प्रदर्शन, व्यवसायीक दक्षता अभिवृद्धि र बजारीकरणमा काम गरिरहेको बताए । कफी कृषक डिल्लीराज अर्यालले साना सिंचाइ, सडक, प्रविधि र प्राविधिक सहयोग तथा बजारीकरणमा सरकारको ठुलो सहयोग किसानलाई आवश्यक रहेको बताए । आफूले कफी, माछा, केरा र तरकारीसहितका उद्यमहरु सञ्चालन गरिरहेको बताउँदै माटोमा खेल्ने कृषकलाई कानुनी उल्झनमा सरकारका निकायहरुले राख्न नहुने तर्कसमेत अर्यालले गरे ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठले तालिममा मात्रै सहभागी हुने तर उद्यम नगर्ने प्रवृत्तिको कारण राज्यको रकमको सही सदुपयोग हुन नसकेको बताए । सरकारका तीन तहबाट नागरिकलाई व्यवसायीक उद्यममा जोड्न धेरै तालिमहरु सञ्चालन भएपनि व्यवहारिक रुपमा उपयोग नभएको श्रेष्ठले बताए । मुसिकोट नगरपालिकामा मेयर जिवलाल खरेलले कृषकको व्यवसाय प्रर्वद्धन र उद्यमशिलताको लागि आफूहरुले पालिका तहबाट थुप्रै योजनाहरु समावेश गरेपनि प्रशस्त नभएको बताए । उनले घरेलु तथा साना उद्योग कार्यालयले उद्यमीहरुको ज्ञान सीपको अभिवृद्धिसंगै प्रविधिमा समेत गरेको काम निकै फलदायी रहेको बताए । उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
