गंगा खनाल
केही वर्षअघिसम्म वातावरणीय सङ्कट भन्ने विषय धेरैका लागि केवल वैज्ञानिक बहसको मुद्दा थियो तर आज परिस्थिति बदलिएको छ । असामान्य गर्मी, अनियमित वर्षा, डढेलो, बाढी, पहिरो, हावाहुरी र प्रदूषणजस्ता घटनाले संसारभरका मानिसलाई प्रत्यक्ष असर पार्न थालेपछि वातावरणीय सङ्कट मानव जीवनकै गम्भीर चुनौती बनेको छ । प्रकृतिमा आएको यो असन्तुलन केवल भौतिक वा वैज्ञानिक समस्या मात्र होइन, यो गहिरो नैतिक संकट पनि हो । मानिसले प्रकृतिसँगको सम्बन्ध बिर्सँदै जाँदा मानवीय संवेदना, जिम्मेवारी र नैतिक चेतनासमेत कमजोर हुँदै गएको देखिन्छ ।
मानव सभ्यताको सुरुवातदेखि नै प्रकृति जीवनको आधार रहँदै आएको छ । नदी किनारमा सभ्यताहरू विकसित भए, जंगलले मानवलाई आश्रय दियो र उर्वर भूमिले जीवन धान्ने आधार बनायो । प्रकृतिसँगको यही आत्मीय सम्बन्धका कारण प्राचीन समाजले वन, नदी, पहाड र जनावरलाई सम्मानका साथ हेथ्र्यो तर आधुनिक युगमा विकासको परिभाषा नै बदलियो । मानिसले प्रकृतिलाई सहयात्रीको रूपमा होइन, उपयोग र लाभको वस्तुको रूपमा हेर्न थाल्यो । यही सोचले आज विश्वलाई वातावरणीय सङ्कटतर्फ धकेलेको छ ।
विश्वका विभिन्न अनुसन्धानहरूले जलवायु परिवर्तनको खतरा दिनप्रतिदिन बढिरहेको देखाएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु प्रतिवेदनहरूमा पृथ्वीको तापक्रम तीव्र गतिमा बढिरहेको तथ्य सार्वजनिक गरिएको छ । हिमनदीहरू पग्लिरहेका छन्, समुद्री सतह उकालो लागिरहेको छ र जैविक विविधता सङ्कटमा परेको छ । यी तथ्यहरूले मानिस र प्रकृतिबीचको असन्तुलन गम्भीर बन्दै गएको स्पष्ट सङ्केत गर्छन् ।
नेपाल पनि यस सङ्कटबाट अछुतो छैन । हिमालको देश भनेर चिनिने नेपालमा पछिल्ला वर्षहरूमा हिमनदी पग्लिने गति तीव्र भएको छ । बाढी, पहिरो र डढेलोका घटनाहरू हरेक वर्ष बढिरहेका छन् । काठमाडौंजस्ता सहरमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ तर विडम्बना के छ भने, यति ठूलो सङ्कट हुँदासमेत मानिसको जीवनशैलीमा खास परिवर्तन देखिएको छैन । हामी अझै पनि प्रकृतिलाई दोहन गर्ने प्रवृत्तिमै रमाइरहेका छौं ।
आज विकासको नाममा जथाभावी जंगल फँडानी भइरहेको छ । नदी किनार अतिक्रमण भइरहेका छन् । ठुला सडक र भवन निर्माणका लागि हरियाली नष्ट गरिँदैछ । उद्योगधन्दाबाट निस्कने फोहोरले नदी र वातावरण दूषित बनिरहेको छ । प्लास्टिकको अत्यधिक प्रयोगले माटो र जलस्रोत दुवै प्रभावित भएका छन् । आधुनिक उपभोगवादी संस्कृतिले मानिसलाई आवश्यकता भन्दा बढी उपभोग गर्न प्रेरित गरिरहेको छ । परिणामस्वरूप पृथ्वीमाथिको दबाब अस्वाभाविक रूपमा बढ्दै गएको छ ।
प्रकृति विनाशको मूल कारण केवल जनसंख्या वृद्धि वा औद्योगिकीकरण मात्र होइन; यसको केन्द्रमा मानव लोभ र असन्तुलित सोच रहेको छ । मानिसले आफूलाई प्रकृतिभन्दा माथि ठान्न थालेको छ । जब मानिसले प्रकृतिलाई केवल नाफा कमाउने माध्यमका रूपमा हेर्न थाल्छ, तब वातावरणीय नैतिकता स्वतः कमजोर बन्छ । यही कारण आज वातावरणीय सङ्कटसँगै नैतिक सङ्कट पनि गहिरिँदै गएको हो ।
नैतिक सङ्कट भन्नाले केवल सामाजिक अपराध वा मानव सम्बन्धमा आएको विघटनलाई मात्र बुझिँदैन । जब मानिसले आफ्नो अस्तित्वको आधार प्रकृतिप्रति नै गैरजिम्मेवार व्यवहार गर्न थाल्छ, त्यो पनि नैतिक पतनकै रूप हो । आज मानिसले सुविधा र विलासिताका लागि जङ्गल नष्ट गर्न, नदी प्रदूषित बनाउन र जीवजन्तुको अस्तित्वमाथि सङ्कट ल्याउन कुनै हिचकिचाहट देखाउँदैन । यही संवेदनहीनता आधुनिक समाजको सबैभन्दा ठुलो सङ्कट हो ।
बौद्ध दर्शनले मानव र प्रकृतिबिचको सम्बन्धलाई गहिरो रूपमा व्याख्या गरेको पाइन्छ । बुद्धले करुणा, अहिंसा र सह–अस्तित्वको शिक्षा दिएका थिए । बौद्ध दृष्टिकोणअनुसार सम्पूर्ण अस्तित्व एकअर्कासँग सम्बन्धित छ । कुनै पनि जीव वा प्रकृतिमाथि गरिने हिंसा अन्ततः मानवमाथिकै हिंसा हो । बुद्धको जीवन पनि प्रकृतिसँग अत्यन्त नजिक थियो । जन्मदेखि ज्ञान प्राप्ति र महापरिनिर्वाणसम्मका महत्वपूर्ण घटनाहरू वन र वृक्षसँग जोडिएका छन् । यसले प्रकृतिप्रतिको सम्मान बौद्ध परम्पराको आधारभूत मूल्य भएको देखाउँछ ।
आजको सन्दर्भमा बुद्धको ‘मध्यम मार्ग’ को शिक्षा अत्यन्त सान्दर्भिक देखिन्छ । आधुनिक समाज अत्यधिक उपभोग र विलासितातर्फ उन्मुख हुँदै गएको छ । मानिसले आवश्यकताभन्दा बढी उपभोगलाई सफलता र आधुनिकताको प्रतीक ठान्न थालेको छ तर यही असन्तुलित जीवनशैलीले वातावरणीय संकटलाई झन् गहिरो बनाइरहेको छ । यदि मानिसले संयमित र सन्तुलित जीवनशैली अपनाउन सके प्रकृतिमाथिको दबाब धेरै हदसम्म कम गर्न सकिन्छ ।
वातावरण संरक्षणका लागि केवल सरकार वा अन्तर्राष्ट्रिय संस्थालाई दोष दिएर पुग्दैन । प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ । पानी, ऊर्जा र प्राकृतिक स्रोतको अनावश्यक प्रयोग घटाउनुपर्छ । प्लास्टिकको प्रयोग कम गर्नुपर्छ । वृक्षारोपणलाई औपचारिक कार्यक्रमका रूपमा होइन, जीवनशैलीकै भाग बनाउनुपर्छ । सार्वजनिक यातायातको प्रयोग, सरसफाइप्रति जिम्मेवारी र वातावरणमैत्री बानीहरूले पनि ठुलो प्रभाव पार्न सक्छ ।
शिक्षाको भूमिका पनि यहाँ अत्यन्त महत्वपूर्ण हुन्छ । विद्यालय र विश्वविद्यालयमा वातावरणीय चेतनालाई केवल पाठ्यक्रमको विषयमा सीमित राखेर पुग्दैन । विद्यार्थीलाई व्यवहारिक रूपमा प्रकृतिसँग जोड्न आवश्यक छ । यदि नयाँ पुस्ताले प्रकृतिलाई सम्मान गर्न सिकेन भने भविष्य झन् सङ्कटपूर्ण बन्न सक्छ ।
धार्मिक तथा सामाजिक संस्थाहरूले पनि वातावरण संरक्षणमा प्रभावकारी भूमिका खेल्न सक्छन् । नेपालमा धेरै धार्मिक स्थलहरू प्राकृतिक क्षेत्रसँग जोडिएका छन् । लुम्बिनी, स्वयम्भू, नमोबुद्धजस्ता स्थानहरू वातावरणीय संरक्षणका नमुना बन्न सक्छन् । यदि यस्ता क्षेत्रमा हरियाली संरक्षण, प्लास्टिक नियन्त्रण र सरसफाइलाई प्राथमिकता दिइयो भने यसले समाजमा सकारात्मक सन्देश दिन सक्छ ।
आज मानिस प्रविधिमा धेरै अगाडि पुगेको छ तर प्रकृतिसँगको सम्बन्धमा भने कमजोर बन्दै गएको छ । मानिस चन्द्रमासम्म पुग्न सफल भएको छ तर पृथ्वीलाई जोगाउने जिम्मेवारीप्रति उदासीन देखिन्छ । यही विरोधाभास आधुनिक सभ्यताको ठुलो विडम्बना हो ।
यदि प्रकृति असन्तुलित भयो भने मानव सभ्यता पनि सुरक्षित रहन सक्दैन । वातावरणीय सङ्कले सबैभन्दा पहिले गरिब र कमजोर समुदायलाई असर गर्छ । खानेपानीको अभाव, कृषि उत्पादनमा गिरावट, स्वास्थ्य समस्या र प्राकृतिक विपत्तिका कारण लाखौं मानिस प्रभावित भइरहेका छन् । त्यसैले वातावरण संरक्षणलाई विलासिताको विषय होइन, अस्तित्वको प्रश्नका रूपमा बुझ्न आवश्यक छ ।
आज आवश्यकता केवल नयाँ प्रविधिको होइन, नयाँ चेतनाको हो । मानिसले आफूलाई प्रकृतिको मालिक होइन, प्रकृतिको एउटा अंशका रूपमा बुझ्नुपर्छ । जबसम्म मानव चेतनामा करुणा, जिम्मेवारी र सह–अस्तित्वको भावना विकास हुँदैन, तबसम्म वातावरणीय संकट समाधान हुन सक्दैन ।
प्रकृति विनाश र नैतिक संकट आजको विश्वका दुई अलग विषय होइनन्, यी एकअर्कासँग गहिरो रूपमा जोडिएका वास्तविकता हुन् । प्रकृतिको रक्षा गर्नु भनेको मानव सभ्यताको रक्षा गर्नु हो । यदि आज हामीले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्न सकेनौं भने भविष्यका पुस्ताले अझ भयावह संकट सामना गर्नुपर्नेछ । त्यसैले अब पनि समयमै सचेत भएर प्रकृतिप्रति जिम्मेवार बन्नु आजको सबैभन्दा ठुलो आवश्यकता हो ।
