लुम्बिनीमा १० महिनामा ४४८८ सवारी दुर्घटना, ४९३ जनाको मृत्यु

–९४ हजार सवारी कारबाहीमा, १० करोड ४७ लाख राजस्व संकलन

मेचीकाली संवाददाता

३१ बैशाख २०८३, बिहीबार
13 shares

रमेश पराजुली

बुटवल । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । बढ्दो सहरीकरणसँगै वृद्धि भएका सवारी, सडक पूर्वाधार, चालकको लापरबाही, सडक सञ्जाल, प्रतिकुल मौसमलगायतका कारणले दुर्घटना वृद्धि भएका हुन् । यससँगै मृतक र घाइते हुनेको संख्या पनि बढेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा चालू आर्थिक वर्ष २०८२/०८३ को १० महिना (साउन–वैशाख) मा सानाठुला गरी कुल ४ हजार ४८८ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी ४९३ जना नागरिकले ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए । उनका अनुसार ज्यान गुमाउनेमा महिलाभन्दा पुरुष धेरै छन् । यस अवधिमा सवारी दुर्घटनामा परी ७ हजार ५०८ जना घाइते भएका छन् ।
यो तथ्यांक अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । लुम्बिनी प्रदेशमा गत आव ०८१/०८२ को एक वर्षको अवधिमा २ हजार ५२९ सवारी दुर्घटनामा परी ४२४ जना नागरिकले ज्यान गुमाएका थिए भने ४ हजार १५४ जना घाइते भएका थिए । यस्तै आव ०८०/०८१ मा १ हजार १२० वटा सवारी दुर्घटना हुँदा ४९६ जना नागरिकले ज्यान गुमाएका थिए भने १ हजार ६९३ जना घाइते भएका थिए । यस्तै, आव ०७९/८० मा ८९२ वटा सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको थियो ।

चालू आवमा दुर्घटनामा परेका सबै सवारी र घाइतेहरूको संख्या रेकर्डमा राख्दा दुर्घटनामा परेका सवारी, घाइते र मृतकको संख्या बढेको प्रहरी उपरीक्षक शर्माले बताए । ‘अघिल्लो आर्थिक वर्षसम्म मध्यम र गम्भीर घाइतेहरूको मात्र रेकर्ड राख्ने गरिएको थियो । तर, चालूदेखि दुर्घटनामा परेका सबै सवारी र घाइतेहरूको संख्या रेकर्डमा राख्ने गरेका छौँ, जसले गर्दा अघिल्ला वर्षमा भन्दा चालू आवमा दुर्घटनाग्रस्त सवारी र घाइतेको संख्या बढेको छ ।’ प्रहरी उपरीक्षक शर्माले भने । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन तथा निर्वाचन लगायतका विशेष जिम्मेवारीका कारण अपेक्षाअनुसार काम गर्न कठिन भएको उनले बताए ।

रुपन्देहीमा सबैभन्दा धेरै सवारी दुर्घटना
ट्राफिक प्रहरीको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् भने सबैभन्दा कम रुकुम पूर्वमा भएका छन् । रुपन्देहीमा चालू आवको १० महिनाको अवधिमा १ हजार ३६५ वटा सवारी दुर्घटना हुँदा १२३ जनाको मृत्यु भएको छ भने २ हजार १३५ जना घाइते भएका छन् ।

यस्तै, नवलपरासी पश्चिममा ४०६ वटा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने, ६८५ जना घाइते भएका छन् । कपिलवस्तुमा ६३१ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने १ हजार ७२ जना घाइते भएका छन् । पाल्पामा १४२ वटा सवारी दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ भने २४५ जना घाइते भएका छन् । गुल्मीमा ७२ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् ।

यस्तैगरी, अर्घाखाँचीमा १० महिनाको अवधिमा ५२ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३१ जना घाइते भएका छन् । दाङमा ३०३ वटा सवारी दुर्घटना हुँदा ६३ जनाको मृत्यु भएको छ भने ५३१ जना घाइते भएका छन् । बाँकेमा ७७५ वटा सवारी दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने १२४९ जना घाइते भएका छन् । बर्दियामा ५२३ वटा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ भने ८८३ जना घाइते भएका छन् ।

यस्तैगरी, प्युठानमा ९५ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् । रोल्पामा १०३ वटा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । रुकुम पूर्वमा १७ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

‘हामीले निरन्तर ट्राफिक सचेतना र लेनअनुशासनलाई कडाई गरिरहेका छौं’, प्रहरी उपरीक्षक शर्माले भने, ‘तीव्र गति, क्षमताभन्दा बढी यात्र, अनावश्यक ओभरटेक, लेन अनुशासन उल्लघंन, चालक थकित र निदाउँदा, मादकपदार्थ र लागुपदार्थ सेवन, मोबाइल फोन प्रयोग, चालकको असक्षमतालगायतका कारणले दुर्घटना हुने गरेका छन् । यसलाई रोक्न १२ वटै जिल्लामा विभिन्न योजनासाथ टिम बनाएर काम गरिरहेका छौं ।’

सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी दुर्घटना

ट्राफिक प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । चालू आवको १० महिनाको अवधिमा भएका कुल ४४८८ सवारी दुर्घटनामध्ये ६३.१७ प्रतिशत अर्थात् ३९३३ मोटरसाइकल/स्कुटर दुर्घटना भएका छन् । जसमा धेरै युवापुस्ता (जेनजी) समूहले ज्यान गुमाएका छन् । यस्तै ९.७७ प्रतिशत अर्थात् ६०८ वटा कार/जिप, ४६५ वटा ट्याम्पो, १८२ वटा बस, १७९ वटा ट्रक/ट्यांकर, १०८ वटा माइक्रो, १७६ वटा ट्याक्टर, ९४ वटा टिप्पर, ९ वटा डोजर/लोडर, अन्य ३० वटा र शारीरिक शक्तिबाट चल्ने ४४१ दुर्घटना भएका छन् ।

९४ हजार सवारी कारबाहीमा, १० करोड ४७ लाख राजस्व संकलन
सवारी नियम उल्लघंन, नक्कली चालक अनुमति पत्र, गलत नम्बर प्लेट, ओभर लोड, मादकपदार्थ र लागुऔषध सेवन, स्वरूप परिवर्तन गरिएका सवारीलगायतका मुद्दामा कडा निगरानी गर्ने गरीएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक शर्माले बताए । उनका अनुसार चालू आवको १० महिनामा ९४ हजार ८४१ सवारीसाधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट १० करोड ४७ लाख ९५ हजार ५०३ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तैगरी ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणलाई तीव्रता दिएको छ । चालू आवको १० महिनामा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालेर सञ्चालन गरेका ५७२ वटा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ । उक्त कारबाहीबा ४७ लाख ५८ हजार राजस्व संकलन भएको छ । गत आवमा स्वरूप परिवर्तन गरेका २१९ वटा मोटरसाइकल चालकलाई प्रहरीले कारबाही गरेको थियो ।
यस्तै सवारीको क्षमताभन्दा बढी (ओभर लोड) सामान बोक्ने २४ हजार २६६ वटा सवारी कारबाहीमा परेका छन् । जसबाट ४ करोड १८ लाख २६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै ओभर लोड बोकेका १ हजार ४४९ वटा सवारीसाधनलाई कारबाहीका लागि यातायात कार्यालयमा पठाइएको छ । जसबाट १ करोड ४३ लाख ७० हजार ८०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ हजार ७७५ जना चालक कारबाहीमा परेका छन् । जसबाट २४ लाख ६४ हजार राजस्व संकलन भएको छ । भने लागु पदार्थ सेवन गरेका ३९ जना चालकलाई मुद्दा चलाइएको छ । यस्तै तीव्र गतिमा सवारी चलाउने १ हजार ८९९ जना चालक कारबाहीमा परेका छन्, जसबाट १० लाख १७ हजार राजस्व संकलन भएको छ । गलत स्थानमा पार्किङ गरेका ३ हजार ७२३ वटा सवारी कारबाहीमा परेका छन् । जसबाट २६ लाख ५२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

लेन अनुशासन उल्लघंन गर्ने १ हजार २६१ वटा सवारी कारवाहीमा परेका छन् जसबाट ६ लाख ७६ हजार राजस्व संकलन भएको छ । रोतो बत्ती/इसारा उल्लंघन गर्ने ४ हजार २६२ वटा सवारी कारबाहीमा परेका छन् भने जसबाट २२ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । चालकको असक्षमतासम्बन्धी कारवाहीबाट १ करोड ३१ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

‘हामीले राजस्व संकलन गर्नेभन्दा पनि नियम पालना र दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिएका छौँ’, प्रहरी उपरीक्षक शर्माले भने, ‘तर, नियम नमान्ने र उल्लंघन गर्नेलाई भने कानुनी दायरामा ल्याएर जरिवाना पनि गरेका छौँ ।’ ट्राफिक प्रहरीले दैनिक जसो लापरबाही गरी सवारी चलाउने चालकलाई कारबाही गरे पनि सवारी साधनहरूको संख्या थपिँदै जाँदा दुर्घटनाको संख्या पनि बढ्दै गएको प्रहरी उपरीक्षक शर्मा बताउँछन् ।

साँघुरो सडक, घुम्ती र जंगल क्षेत्रको ट्राफिक चेकजाँचलाई पूर्ण रुपमा हटाइएको छ भने भारतिय गाडीले भन्सारमा सबै प्रकृया पूरा गरी नेपाल प्रवेश गरेको अवस्थामा ट्राफिक नियम उल्लंघन गरेको अवस्थाबाहेक अन्य स्थानमा चेकजाँच गर्न छोडिएको प्रहरी उपरीक्षक शर्माले बताए ।

निरन्तर ट्राफिक सचेतना अभियान
जेनजी आन्दोलनपछि केही समय सुस्ताएको ट्राफिक गतिविधिलाई पछिल्लो समय तीव्रता दिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलयका प्रहरी वरिष्ठ नायव निरीक्षक ज्ञानुप्रसाद पाण्डेले बताए । सडक सुरक्षामा नागरिकको भूमिका बढाउन कार्यालयले नागरीकको सहभागितामा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस्तै पैदल यात्रुलाई जेब्राक्रसबाट सडक वारपार गर्न सिकाउने, विभिन्न विद्यालय, क्लब र संघसंस्थाहरुसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम भएका छन् । ‘मेरो सवारी, मेरो लेन’ अभियान, शैक्षिक सडक नाटक, तथा दुर्घटनामा नपरेका चालकलाई सम्मान गर्ने कार्यक्रमले जनचेतनामा सुधार ल्याएको देखिन्छ । ‘विद्यालय, संघसंस्था, सडक प्रयोगकर्ता सबैलाई सचेतना जगाएका छौं’, ‘लापरबाही, सडक सञ्जाल र मौसमका कारण पनि दुर्घटना रोकिएका छैनन् ।’ उनले भने ।

यस्तै ट्राफिक प्रहरीले नियमविपरीत अतिरिक्त सिट जडान गरेका सवारीको सिट र हुड (छत) हटाउने अभियानलाई तीव्र बनाएको छ । चालू आवको हालसम्म ८२ वटा सवारीका हुड र ५८३ वटा अतिरिक्त सिट/मुडा हटाइएको छ । यस्तै ट्राफिक प्रवर्तनसँगै सवारी साधनको मेकानिकल चेकजाँच, चालकको स्वास्थ्य तथा आँखा परीक्षण, ट्राफिक लाइट तथा रोड मार्किङ, अटोमेटिक नम्बर प्लेट रिड (एनपीआर) र सिसिटिभी जडान गरेर व्यवस्थित सवारी चालकलाई प्रोत्साहन गर्ने गरिएको प्रहरी वरिष्ठ नायव निरीक्षक पाण्डेले बताए ।

यस्तै छाडा चौपाया व्यवस्थापन तथा हराएका सवारी साधन र मोबाइल उपकरणहरू सम्बन्धित धनीलाई फिर्ता दिने कार्यमा कार्यालयले उदाहरणीय भूमिका निर्वाह गरेको छ । भने लुम्बिनी प्रदेशभर ई–चलान प्रणाली, ई–हाजिरी, टिभिआरएस सेवा विस्तार गरिएको छ ।