हजारौँ विद्यार्थीसँग जोडिने व्यवसायी रानाको संकल्प, जन्मदिनको खर्चले अक्षयकोष स्थापना

मेचीकाली संवाददाता

२ असार २०८३, मंगलवार
20 shares

बुटवल । गरिव तथा विपन्न परिवारका हजारौं विद्यार्थीसँग जोडिने संकल्पसहित सामाजिक अभियानमा लागेका गोपाल रानाले जन्मदिनमा खर्च गरिने रकम उनीहरुको भविष्य निर्माणका लागि अक्षकोष स्थापनामा सदुपयोग गर्ने गरेका छन् । आफ्ना विशेष दिनहरुका नाममा गरिने अनावश्यक खर्च र भड्किलो परम्परा भन्दा उक्त खर्चलाई बचाएर बालबालिकाहरुको मुहारमा खुसी ल्याउने अठोटसहित उनले आफ्नो हरेक जन्म दिनहरुमा उनीहरुको सहयोगका लागि विभिन्न शैक्षिक संस्थाहरुमा अक्षकोष स्थापना गर्दै आएका छन् ।

रुपन्देहीका सफल पर्यटन व्यवसायी रानाले यस पटकको जन्म दिनमा पनि विद्यार्थीको सहयोगका लागि अक्षकोष स्थापना गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–११ स्थित मायादेवी जनकल्याण आधारभूत विद्यालयमा २ लाख रुपैयाँको अक्षकोष स्थापना गरि यस पटकको जन्म दिन मनाएका छन् । अधिकांश गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा १२० जना विद्यार्थी अध्ययनरत छन् । मंगलबार विद्यालयमा उपस्थित भई रानाले अक्षकोष बापतको रकम हस्तारण गरेका हुन् । आवश्यकता अनुसार आगामी दिनहरुमा अक्षकोषको रकम वृद्धि गर्दै लैजाने बताउँदै उनले सानो सहयोगले पनि सयौं विद्यार्थीको अनुहारमा खुसी थप्ने योजनासहित सहयोगमा जुटेको उल्लेख गरे ।

यसअघि समेत आफ्ना जन्म दिनमा आर्थिक सहयोग गर्दै आएका उनले बुटवलका विभिन्न विद्यालयहरुमा गरि करिब १० हजार विद्यार्थीसँग जोडिएका छन् । उनले मुलुककै नमुना बुटवल–१० स्थित कालिका माध्यमिक विद्यालय, बुटवल–११ स्थित प्रगति मावि, बुटवलकै उजिर सिंह मावि तथा तिलोत्तमा–३ स्थित सगरमाथा आधारभूत विद्यालयमा अक्षकोष स्थापना गरिसकेका छन् । हरेक वर्ष फरक–फरक विद्यालयमा अक्षकोष स्थापना गर्ने योजना बनाएका उनले आगामी दिनमा रुपन्देहीको मर्चवार क्षेत्र, पाल्पा, खर्घाखाँची, गुल्मी, पर्वत लगायतका जिल्लाहरुमा समेत पुग्ने लक्ष्य रहेको बताए ।

विद्यालयमा अक्षकोष स्थापना भएकोमा खुसी व्यक्त गर्दै मायादेवी जन जागृती विद्यालयका प्रधानाध्याक दिनाकला खनाल (न्यौपाने)ले बालबालिकालाई समतामुलक शिक्षाको पहुँचमा ठूलो योगदान पुग्ने उल्लेख गरिन् । आफ्नो विद्यालयलाई छनोट गरि प्राथमिकता साथ सहयोगका लागि रानाले गरेको योगदानले यहाँ अध्ययनरत बालबालिकाहरुको मुहारमा थोरै भएपनि खुसी थप्न मद्दत पुग्ने अपेक्षा गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र रानाले सरकाबाट प्राप्त सीमित स्रोत र साधनका बाबजुद विभिन्न व्यक्तिहरुको थोरै–थोरै सहयोग र सहकार्यमा विद्यालय सञ्चालन हुँदै आएको बताए । यस विद्यालयमा हाल ३ जना सरकारी अनुदान, २ जना बाल बिकास कार्यक्रम तथा २ जना निजी स्रोतबाट खर्च व्यवस्थापन हुनेगरी शिक्षक कर्मचारी रहेका छन् ।

बुटवल–११ का वडा सदस्य नहकुल शाहीका अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बस्ती बीचमा रहेको यस विद्यालयमा अधिकांश दैनिक ज्याला मजदुरी गर्ने परिवारका बालबालिकाहरु अध्ययनरत छन् । समाजसेवी रानाले यस विद्यालयलाई छनोट गरि सहयोगको हात बढाउनु प्रसंशनीय रहेको बताउँदै उनले विद्यालयले अक्षकोषको सही र व्यवस्थित परिचालन गर्न आग्रह समेत गरे ।

समाजसेवी रानाले आफ्नो जन्म दिन, वैवाहिक वर्षगाँठ लगायतका महत्वपूर्ण दिनहरुमा गरिने खर्चलाई यसैगरी शैक्षिक संस्था, अनाथ आश्रम, अपाङ्गता भएकाहरुको आश्रम तथा मठ–मन्दीरहरुमा अक्षकोष स्थापना गर्दै आएका छन् । रुपन्देहीकै प्रतिष्ठित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, ड्रिम इन्टरनेश्नल होटलका सञ्चालक रानाले विभिन्न नाममा गरिने फजुल खर्चलाई बचत गरि सामाजिक कार्यमा लगाउँदा आत्मसन्तुष्टी प्राप्त हुने बताए ।