बर्डफ्लू संक्रमण: सचेत बनौं तर अनावश्यक त्रास नफैलाऔं

मेचीकाली संवाददाता

१४ असार २०८३, आईतवार
2 shares

बुटवल । पछिल्ला वर्षहरूमा नेपालका विभिन्न जिल्लामा बेलाबेलामा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिने गरेको छ । कुनै ठाउँमा कुखुरा वा हाँसमा संक्रमण पुष्टि भएमा सम्बन्धित क्षेत्रका पक्षी नष्ट गर्ने, आवतजावत नियन्त्रण गर्ने र जैविक सुरक्षा Biosecurity अपनाउने काम सरकारले गर्दै आएको छ । यस्ता घटना देखिए पनि यसलाई लिएर अनावश्यक त्रास फैलाउनु उपयुक्त हुँदैन । समयमै नियन्त्रणका उपाय अपनाएमा रोगको फैलावट रोक्न सकिन्छ ।

बर्डफ्लू मुख्यतः पक्षीमा लाग्ने भाइरल रोग हो । यसको संक्रमण घरेलु कुखुरा, हाँस, टर्की, बट्टाईलगायतका चराचुरुङ्गीमा देखिन्छ । कतिपय अवस्थामा जंगली चराले पनि भाइरस बोक्न सक्छन् । मानिसमा संक्रमण हुने सम्भावना अत्यन्त कम भए पनि संक्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ ।

११ जिल्लामा फैलियो संक्रमण
पशुसेवा विभागका अनुसार तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । विभागका अनुसार ४ चैत २०८२ मा मोरङबाट सुरु भएको यो संक्रमण हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा फैलिसकेको छ ।
यी जिल्लाका कुल ८२ स्थानमा प्रयोगशाला परीक्षणबाट बर्डफ्लू भएको प्रमाणित भएको हो । संक्रमण तत्काल नियन्त्रणमा लिन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ स्थापना गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरिएको विभागका महानिर्देशक डा.उमेश दाहालले जानकारी दिए । रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठुलो संख्यामा पक्षी र पक्षीजन्य सामग्री नष्ट गरिएको विभागको भनाइ छ । हालसम्मको तथ्यांकअनुसार संक्रमित क्षेत्रका ५ लाख ६९ हजार ८५८ पक्षी मारिएका छन् ।

यसैगरी रोग फैलाउन सक्ने ९ लाख ८९ हजार ३१३ वटा अन्डा र १ लाख ९५ हजार ४८५ किलो दानासमेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ । यो कार्यका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको समन्वयमा द्रुत कार्यदल परिचालन गरिएको थियो । हालको अवस्थाबारे जानकारी दिँदै विभागले कोशी प्रदेशमा भने संक्रमण केही हदसम्म नियन्त्रणमा आएको उल्लेख गरेको छ । सुरुवाती चरणमा कोशीमा पक्षी ओसारपसारमा लगाइएको रोक हाल खुकुलो बनाइएको छ । तर, काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा पालिएका पक्षीमा भने संक्रमण देखिने क्रम अझै बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुरमा जोखिम उच्च रहेको देखिएको छ । संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताए ।

विभागका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र अन्य राष्ट्रिय प्रयोगशालामार्फत रोगको शीघ्र निदान गरिँदै आएको छ । रोग पुष्टि हुनासाथ जोखिम मूल्यांकन गर्न ‘आकस्मिक रोग अन्वेषण टोली’ खटाउने गरिएको छ । साथै, यो भाइरसको प्रकृतिमा कुनै परिवर्तन भए वा नभएको यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको ‘सिक्वेन्सिङ’ गर्ने कार्यसमेत अगाडि बढाइएको विभागका महानिर्देशक दाहालले बताए ।
पशु सेवा विभागले पक्षीपालक कृषकलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाइसाथ लागू गर्न र पक्षीमा कुनै पनि असामान्य लक्षण देखिए वा एक्कासि मर्न थाले तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा जानकारी गराउन अपिल गरेको छ । फार्म परिसरमा जैविक सुरक्षा विधि कडाइसाथ पालना गर्न, अन्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोगमा नल्याउन र ढुवानीका साधनलाई फार्मभित्र प्रवेश गराउनु अघि अनिवार्य रूपमा निसंक्रमण गर्न अनुरोध गरिएको छ ।

त्यस्तै काग र जंगली चराचुरुङ्गीबाट घरपालुवा पक्षी जोगाउन जैविक सुरक्षाका मापदण्ड अपनाउनुका साथै पक्षीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएरमात्र ढुवानी गर्न सचेत गराइएको छ । बर्डफ्लूबाहेक न्यून प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानीखेत र ईकोलाई जस्ता रोगहरूका कारण पनि पक्षीहरूमा उच्च मृत्युदर देखिएको प्रयोगशाला परीक्षणहरूले पुष्टि गरेको छ ।
यस्ता बहुविधि संक्रमणबाट बच्न किसानलाई नियमित रूपमा खोप लगाउन र संक्रमण पुष्टि भई मरेका पक्षीलाई फार्म परिसरमै गहिरो खाडल खनेर पुरेपछि निसंक्रमण गर्न सुझाव दिइएको छ । विभागले कुनै पनि फार्म वा पक्षी बिक्री स्थलमा अस्वाभाविक रूपमा पक्षी बिरामी परे वा मरे तुरुन्त नजिकैको सरकारी पशु सेवा निकायमा खबर गर्न आग्रह गर्दै रोग नियन्त्रणको यस साझा अभियानमा सबै सरोकारवालाको सहयोग र सचेतना आवश्यक रहेको जनाएको छ ।

किसानका लागि मुख्य सन्देश
कुखुरा पालन व्यवसाय नेपालका हजारौं किसानको जीविकोपार्जनको आधार हो । त्यसैले संक्रमण देखियो भन्दैमा सम्पूर्ण कुखुरा व्यवसायलाई जोखिमपूर्ण भनेर बुझ्नुहुँदैन । पशु क्वारेन्टाइन कार्यालय, भैरहवाका कार्यालय प्रमुख डा.भक्त निउरेले लुम्बिनी प्रदेशमा तत्काल बर्डफ्लू संक्रमणको जोखिम नरहेको बताए । ‘हामीले सिमानाकामा बिशेष निगरानी गरेका छौँ । देशको कुनै एकदुई ठाउँमा संक्रमण देखियो भन्दैमा देशभर संक्रमण फैलिन्छ भन्ने होइन तर, सावधानि भने अपनाउनुपर्छ ।’ उनले भने । ‘किसानले खोरमा अनावश्यक मानिसको प्रवेश रोक्ने, खोरमा पस्नुअघि जुत्ता, लुगा तथा हात सफा गर्ने, नयाँ कुखुरा ल्याउँदा केही दिन छुट्टै राखेर मात्र मिसाउने, जंगली चरालाई खोरभित्र प्रवेश गर्न नदिने गर्नुपर्छ ।’

यस्तै संक्रमण लुकाउँदा एउटा फार्म मात्र होइन, पूरै क्षेत्रको पोल्ट्री उद्योग प्रभावित हुन सक्ने भएकाले कुखुरामा अस्वाभाविक रूपमा धेरै मर्ने, अण्डा उत्पादन घट्ने, सास फेर्न गाह्रो हुने वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त पशु सेवा कार्यालय वा स्थानीय पशु चिकित्सकलाई खबर गर्नुपर्ने डा. निउरेको भनाइ छ ।

उपभोक्ताले के बुझ्नुपर्छ ?
बर्डफ्लू देखियो भन्ने समाचार आउँदा धेरै उपभोक्ताले कुखुराको मासु र अण्डा खानै छोड्ने प्रवृत्ति देखिन्छ तर वैज्ञानिक तथ्य फरक छ । किसानले विशेष गरी जैविक सुरक्षामा ध्यान दिने र उपभोक्ताले कुखुराको मासु, अण्डा राम्रोसँग पकाएर खाएमा यो रोग सर्ने सम्भावना नरहने डा.निउरेको भनाइ छ । ‘उपभोक्ताले कुखुराको मासु ६० डिग्रीभन्दा बढी तापक्रममा पकाएर मात्रै खाने हो बर्डफ्लू भाइरस नष्ट हुन्छ सर्ने सम्भावना हुँदैन ।’ डा. निउरे भन्छन्,‘काँचो वा आधा पाकेको मासु र अण्डा भने खानुहुँदैन । मासु काटेपछि हात, चक्कु र भाँडा साबुनपानीले सफा गर्नुपर्छ । सरकारी निरीक्षण र स्वीकृति प्राप्त वधशाला वा विश्वसनीय पसलबाट मात्र मासु खरिद गर्नुपर्छ । यसैले बजारमा बर्डफ्लूको हल्ला चल्यो भन्दैमा सबै कुखुरा तथा अण्डा असुरक्षित हुन्छन् भन्ने बुझाइ सही होइन ।’

अफवाहभन्दा आधिकारिक सूचना विश्वास गरौं
सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना, पुराना भिडियो वा अतिरञ्जित सामग्रीले किसानलाई ठुलो आर्थिक क्षति र उपभोक्तामा अनावश्यक डर सिर्जना गर्न सक्छ । त्यसैले सूचना लिन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, सम्बन्धित स्थानीय सरकार, आधिकारिक प्रयोगशालाबाट पुष्टि भएका जानकारीलाई मात्र आधार बनाउनुपर्छ ।

सबैको साझा जिम्मेवारी
बर्डफ्लूविरुद्धको लडाइँ किसान, उपभोक्ता, व्यापारी, पशु चिकित्सक, स्थानीय सरकार र सञ्चारमाध्यम सबैको साझा जिम्मेवारी हो । किसानले रोग लुकाउनु हुँदैन । उपभोक्ताले हल्लाको पछि लाग्नुहुँदैन । व्यापारीले गुणस्तरीय र सुरक्षित उत्पादन मात्र बिक्री गर्नुपर्छ । सञ्चारमाध्यमले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ । सरकारले शीघ्र परीक्षण, पारदर्शी सूचना र आवश्यक सहयोग सुनिश्चित गर्नुपर्छ । बर्डफ्लू गम्भीर पशुजन्य रोग हो तर यसको अर्थ सम्पूर्ण पोल्ट्री उद्योग असुरक्षित भयो भन्ने होइन । समयमै पहिचान, जैविक सुरक्षा, सरकारी निगरानी र उपभोक्ताको सचेत व्यवहारले यसको जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ ।