भोटेकोशीको भेलले निम्त्याएको महाविपत्ति

–क्षतिको यकिन विवरण संकलन हुँदै, मृत्युको संख्या बढ्दै, बेपत्ताको यकिन छैन, साँझसम्म ९५ शव फेला

मेचीकाली संवाददाता

१० भाद्र २०८३, बुधबार
80 shares

बुटवल। बुधबार बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे आसपासका मानिसले एकाएक ठुलो आवाज सुने । केही क्षणमै भोटेकोशीको किनार बदलियो । नदीमा पानी मात्र थिएन, गेग्रान, ढुंगा, माटो, काठ, सवारीसाधन र संरचना बगाउने वेग थियो । मानिसले आफूलाई जोगाउन भाग्ने समयसमेत पाएनन् ।

चीनको तिब्बततर्फबाट एक्कासि आएको भीषण बाढी नेपाल प्रवेश गरेपछि रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावतीलगायतका नदीकिनारका बस्तीमा विनाशको दृश्य देखियो । त्यसपछि यही भेल त्रिशूली नदी हुँदै नुवाकोट, धादिङ र चितवनतर्फ बढ्यो । केही घण्टामै एउटा सीमावर्ती नदीको विपत्ति चार जिल्लाको मानवीय र भौतिक संकटमा परिणत भयो ।
यो बाढीले घर मात्र बगाएन । पुल, सडक, प्रहरी कार्यालय, भन्सार संरचना, जलविद्युत् आयोजना, बैंकका शाखा, सवारीसाधन र वर्षौं लगाएर बनाइएका पूर्वाधारहरू समेत बगायो । कतिपय मानिस भेलामा हराए । कतिपयको शव धेरै तल पुगेपछि भेटियो । अझै कति मानिस सम्पर्कविहीन छन् भन्ने यकिन हुन सकेको छैन । कहाँ के कति क्षति भयो भन्ने कुनै यकिन हुन सकिरहेको छैन ।

केही घण्टामै बदलिएको रसुवा
रसुवागढी नाका नजिकैको टिमुरे बाढीको सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बन्यो । स्थानीयका अनुसार टिमुरेमा सयभन्दा बढी घर तथा व्यवसायिक संरचना रहेकोमा ठुलो हिस्सा बाढीले क्षतिग्रस्त वा बगाएको छ । धेरै मानिस भागेर अग्लो स्थानमा पुगेका छन् । कतिपयले घण्टौँसम्म खानेपानी र खाद्यान्नसमेत नपाएको विवरण सार्वजनिक भएका छन् । रसुवागढी भन्सार कार्यालयको संरचनामा समेत ठुलो क्षति पुगेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार परिसरका संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने यार्डमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको छ ।

बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा रहेका प्रहरी संरचनालाई समेत असर गरेको छ । प्रारम्भिक विवरणअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही कर्मचारी सम्पर्कविहीन भएका थिए । पछिल्लो प्रहरी विवरणमा २६ जना प्रहरी अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।
मृत्युको संख्या बढ्दै, बेपत्ताको यकिन छैन
बाढीबाट भएको मानवीय क्षतिको वास्तविक तस्वीर अझै बाहिर आइसकेको छैन । बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको पुष्टि भएको छ । तर, शवको सनाखत हुन बाँकी छ । नेपाल प्रहरीका अनुसार बाढीका कारण बुधबार साँझसम्म ९५ जनाको मृत्यु पुष्टि भइसकेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा ३३ जनाको शव फेला परेको छ । जसमा ५ जना महिला, १३ जना पुरुष र अन्यको लैंगिक पहिचान खुल्न सकेको छैन । यस्तै १८ जनाको शव धादिङमा फेला परेको छ । जसमा ११ जना महिला, पाँच जना पुरुष र २ जना लैंगिक पहिचान खुल्न नसकेका शव छन् ।

यस्तै, नुवाकोटमा ११ जनाको शव फेला परेको छ । जसमा ५ महिला र ६ पुरुष रहेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै, २ महिला, ४ पुरुष, पहिचान नखुलेकासहित १६ जनाको शव गोरखामा फेला परेको छ । यस्तै, तनहुँमा ५ जनाको शव फेला परेको छ । यस्तै, पूर्वी नवलपुरमा ११ जना र र रसुवामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
दुर्गम क्षेत्रसँगको सञ्चार सम्पर्क विच्छेद, नदीमा बगेका शव विभिन्न जिल्लामा भेटिनु तथा खोज तथा उद्धार जारी रहनुका कारण मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने अवस्था छ । चितवनतर्फ पुग्दा बाढीले अर्को भयावह दृश्य देखाएको छ । त्रिशूली र नारायणी नदीमा बाढीसँगै बगेर आएका शवहरू विभिन्न स्थानमा भेटिएका छन् । यसको अर्थ बाढीको मानवीय क्षति एउटा जिल्लाको सीमाभित्र सीमित रहेन; नदीको बहावसँगै त्यसको पीडा तलतिरका जिल्लासम्म पुगेको छ । यही कारण अहिलेको सबैभन्दा ठुलो चुनौती हराइरहेका मानिसको खोजी गर्नु हो । मृत्युको संख्या गणना गर्नु मात्र होइन, प्रत्येक बेपत्ताको अवस्था पत्ता लगाउनु र परिवारलाई वास्तविक जानकारी दिनु राज्यको तत्कालीन दायित्व बनेको छ ।

३८४ यात्रु कहाँ छन् ?
बाढीको मानवीय क्षतिको अर्को गम्भीर पक्ष पर्यटनसँग जोडिएको छ । नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८४ जना यात्रु तथा पर्यटक सम्पर्कविहीन रहेको जनाएको थियो । तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेको विवरण आएको छ । सम्पर्कविहीनमा कैलाश मानसरोवर यात्राका लागि तिब्बततर्फ जाने यात्रुहरू पनि रहेको बताइएको छ । विदेशी नागरिकमध्ये भारतीयसहित विभिन्न मुलुकका नागरिक रहेका विवरण सार्वजनिक भएका छन् । यही कारण भोटेकोशीको बाढी नेपालको आन्तरिक विपद् मात्र नभई अन्तर्राष्ट्रिय यात्रासँग समेत जोडिएको मानवीय संकट बनेको छ ।

ऊर्जा क्षेत्रमा गम्भीर असर
भोटेकोशीको बाढीले मानवीय जीवनसँगै नेपालको ऊर्जा क्षेत्रमा समेत गम्भीर धक्का दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रारम्भिक रूपमा रसुवा र नुवाकोटमा सञ्चालित तथा निर्माणाधीन आयोजनाहरूमा गरी ३५८ मेगावाट बराबरको विद्युत् उत्पादन प्रभावित भएको जनाएको थियो । मन्त्रालयको विवरणमा १४ वटा प्रमुख जलविद्युत् आयोजना प्रभावित भएको उल्लेख छ ।

तर पछि नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक आकलन उद्धृत गर्दै सञ्चारमाध्यमहरूले प्रभावित आयोजनाहरूको कुल क्षमता ७४८ मेगावाटसम्म पुग्न सक्ने विवरण दिएका छन् । त्यसमध्ये सञ्चालनमा रहेका आयोजनाको क्षमता ३५४ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट रहेको उल्लेख छ । क्षतिको पूर्ण आँकलन अहिले नै सम्भव छैन । बाँध, पावरहाउस, पहुँच सडक, प्रसारण संरचना र अन्य पूर्वाधारमा भएको क्षतिको स्थलगत निरीक्षणपछि मात्रै वास्तविक तस्विर आउनेछ । भोटेकोशीको बाढीले नेपालको विद्युत् उत्पादन र पूर्वाधारमा ठूलो असर पार्न सक्छ । यही कारण सरकारले तत्काल विद्युत् आपूर्ति सहज राख्न भारतबाट ‘रियल टाइम’ बजारमार्फत थप विद्युत् खरिदको विकल्पमा समेत तयारी थालेको छ ।

दुई खर्बको पूर्वाधार क्षति भएको मन्त्रीको अनुमान
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधार क्षेत्रमा मात्रै करिब दुई खर्ब रुपैयाँ हाराहारीको क्षति भएको प्रारम्भिक जानकारी आएको बताएका छन् । सडक र पुलदेखि जलविद्युत्, भन्सार, निजी घर, बजार, बैंक, सञ्चार तथा अन्य संरचनासम्म क्षति फैलिएका कारण यो अनुमान आएको हो । तर दुई खर्ब रुपैयाँको आँकडा अन्तिम क्षतिको मूल्यांकन होइन । विस्तृत स्थलगत अध्ययनपछि मात्रै यसको वास्तविक आकार निर्धारण हुनेछ । यति ठुलो प्रारम्भिक अनुमान आफैँमा एउटा गम्भीर संकेत हो–विपद्ले भौतिक संरचना मात्र ध्वस्त पारेको छैन, राज्यको आर्थिक पुनर्निर्माण क्षमतामाथि समेत ठूलो भार थपेको छ ।

बैंकका शाखा बगे, कर्मचारी सम्पर्कविहीन
बाढीले वित्तीय क्षेत्रलाई समेत अछुतो राखेन । रसुवामा रहेका नौवटा वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । ती शाखामा कार्यरत करिब २६ जना कर्मचारीसँग केही समयसम्म सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको थियो । सञ्चार र विद्युत् अवरुद्ध भएका कारण कर्मचारीसँग सम्पर्क गर्न कठिन भएको संघको भनाइ थियो ।यस घटनाले विपद्का बेला बैंकिङ सेवा कति संवेदनशील हुन्छ भन्ने पनि देखाएको छ । स्थानीय नागरिकलाई नगद, डिजिटल भुक्तानी वा बैंकिङ सेवाको आवश्यकता पर्ने समयमा बैंकका भौतिक संरचना नै बग्नु अर्को समस्या हो ।

उद्धारका लागि आकाशबाट दौड
स्थलमार्ग क्षतिग्रस्त भएपछि उद्धारको सबैभन्दा महत्वपूर्ण माध्यम हेलिकप्टर बनेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन भएका छन् । उपलब्ध विवरणअनुसार नेपाली सेना र निजी क्षेत्रले गरी ११४ जनाको हवाई उद्धार गरेको प्रारम्भिक विवरण आएको छ । सेनाले टिमुरे–धुन्चे, टिमुरे–त्रिशूली, मैलुङ, बेत्रावती र त्रिशूली–काठमाडौं क्षेत्रबाट नागरिकको उद्धार गरेको छ । निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले समेत घाइते तथा जोखिममा परेका नागरिकलाई काठमाडौंका अस्पतालसम्म ल्याएका छन् ।
नेपाल प्रहरी अस्पतालले डा.छन्द बुढाथोकीको कमान्डमा नौ सदस्यीय चिकित्सक टोली आवश्यक स्वास्थ्य सामग्रीसहित रसुवातर्फ पठाएको छ । काठमाडौंमा पनि आपत्कालीन उपचारका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ । यो उद्धार अभियान अहिले केवल मानिसलाई सुरक्षित स्थानमा सार्ने काम मात्र होइन । नदीले बगाएर कहाँ पु¥याएका मानिसको खोजी गर्ने, घाइतेलाई तत्काल उपचार दिने र परिवारसँग सम्पर्क स्थापित गर्ने जटिल कामसमेत हो ।

बाढी कहाँबाट आयो ?
यो विपत्तिको सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो–यति ठुलो बाढी आखिर कसरी आयो ? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषणअनुसार नेपाल–चीन सीमाको करिब २० किलोमिटर उत्तरपूर्वतर्फ चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा ठूलो परिमाणमा गेग्रानसहितको बाढी आएको देखिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीका अनुसार स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणबाट यस्तो देखिएको हो । ल्हेन्दे खोलाबाट आएको बाढी टिमुरे हुँदै भोटेकोशी र त्यसपछि त्रिशूली नदीमा मिसिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
तर बाढीको अन्तिम कारणबारे थप अध्ययन आवश्यक छ । प्रारम्भिक अन्तर्राष्ट्रिय रिपोर्टहरूमा हिमपहिरोसँगै भूकम्पीय गतिविधिको सम्भावनासमेत चर्चा गरिएको छ । त्यसैले अहिले नै एउटै कारणलाई अन्तिम निष्कर्ष मान्नु उचित हुँदैन ।

पूर्वसूचना कहाँ थियो ?
यही घटनाले सबैभन्दा गम्भीर प्रश्न उठाएको छ–बाढी आउनुअघि नेपालले कति समयअगाडि थाहा पाउन सक्थ्यो ? प्राकृतिक विपत्ति रोक्न सकिँदैन । तर विपत्तिले निम्त्याउने मानवीय क्षति घटाउन सकिन्छ । यदि सीमापार क्षेत्रमा ठुलो हिमपहिरो वा नदी थुनिएको अवस्था केही समयअगावै पहिचान गर्न सकिने थियो भने के टिमुरे, रसुवागढी र भोटेकोशी किनारका नागरिकलाई सुरक्षित स्थानमा सार्न सकिन्थ्यो ? के मोबाइल फोनमा आपत्कालीन सन्देश पठाउन सकिन्थ्यो ? के नदीकिनारका बजार बन्द गर्न सकिन्थ्यो ? यी प्रश्नको उत्तर अब खोजिनैपर्छ । यस घटनामा दोष कसैलाई थोपर्नेभन्दा वैज्ञानिक अनुसन्धान आवश्यक छ । सीमापार क्षेत्रमा हुने प्राकृतिक गतिविधिको जानकारी नेपालले कसरी पाउन सक्छ ? चीनसँग जल तथा मौसमसम्बन्धी सूचना कति छिटो आदानप्रदान गर्न सकिन्छ ? नेपालका नदीमा स्वचालित सेन्सर र रियल टाइम जलस्तर मापन प्रणाली पर्याप्त छन् कि छैनन् ? जोखिममा रहेका बस्तीमा साइरन र मोबाइल अलर्ट प्रणाली पुगेको छ कि छैन ? यी प्रश्न अब भविष्यका लागि होइन, आजैबाट उठ्नुपर्छ । जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकायका अधिकारीबिच भएको भर्चुअल बैठकमा मौसम गतिविधि र पूर्वानुमानका विषयमा सहकार्य गर्ने सहमति भएको जनाइएको छ । भोटेकोशीजस्तो सीमापार नदीका लागि यस्तो संयन्त्र अब औपचारिक सहमतिमा सीमित हुनु हुँदैन । नदीको माथिल्लो तटीय क्षेत्रमा हुने असामान्य गतिविधि तलको देशका लागि केही मिनेट वा केही घण्टाभित्रै जीवन–मरणको सूचना बन्न सक्छ । त्यसैले सीमापार बाढीको सूचना आदानप्रदानलाई नियमित, स्वचालित र तत्काल कार्यान्वयन हुने प्रणालीमा बदल्नुपर्ने आवश्यकता छ ।

अर्को बाढी नआउँदासम्म पर्खिने कि यहीँबाट सिक्ने ?
भोटेकोशीको बाढीले एउटा कठोर सत्य फेरि सम्झाएको छ–विपद् आउँदा हामी उद्धार गर्न दौडन्छौँ तर विपद् आउनुअघि कति तयार छौँ भन्ने प्रश्नको उत्तर कमजोर छ । रसुवामा यसअघि पनि हिमबाढी र बाढीका घटनाले ठुलो क्षति गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ समेत तयार पारेको छ तर योजना हुनु र त्यसलाई वास्तविक संकटमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नु फरक कुरा हो ।

जोखिमयुक्त बस्तीको नक्सांकन, नदीको वास्तविक समयको जलस्तर मापन, स्याटेलाइटबाट जोखिमको निगरानी, साइरन प्रणाली, मोबाइलमा अनिवार्य आपत्कालीन सन्देश, सुरक्षित स्थानको पूर्वपहिचान, नियमित उद्धार अभ्यास र स्थानीय समुदायलाई तालिम–यी सबै अब कागजमा होइन, व्यवहारमा देखिनुपर्छ । विशेषगरी सीमावर्ती नदीका लागि नेपालले चीनसँग नियमित सूचना संयन्त्र विकास गर्नुपर्छ । जलविद्युत् आयोजनाले पनि आफ्नो संरचनाभन्दा बाहिर नदीकिनारका समुदायको सुरक्षालाई विपद् योजनाको हिस्सा बनाउनुपर्छ ।

भोटेकोशीले छोडेको सबैभन्दा ठुलो पाठ
बुधबारको बाढीले रसुवाको भूगोलमा मात्र विनाश गरेको छैन । यसले नेपालको विपद् व्यवस्थापन प्रणालीको कमजोरी, पूर्वसूचना संयन्त्रको आवश्यकता, सीमापार सूचना सहकार्यको अपरिहार्यता र विकास निर्माणमा जोखिम मूल्यांकनको महत्वलाई एकैपटक सतहमा ल्याइदिएको छ । अहिलेको प्राथमिकता स्पष्ट छ–बेपत्ताको खोजी, घाइतेको उपचार, शवको पहिचान, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम र राहत । त्यसपछि आउँछ पुनर्निर्माण । तर पुनर्निर्माण गर्दा हिजो जहाँ संरचना थियो, त्यहीँ जस्ताको तस्तै संरचना बनाउने गल्ती दोहोरिनु हुँदैन । नदीको बहाव, भूगोल, जोखिम र भविष्यका सम्भावित विपद्को अध्ययन गरेर मात्रै पुनर्निर्माण गर्नुपर्छ ।

किनकि बाढीले भत्काएको पुल फेरि बनाउन सकिन्छ । सडक बनाउन सकिन्छ । भन्सार कार्यालय पुनः निर्माण गर्न सकिन्छ । जलविद्युत् आयोजना पनि उठाउन सकिन्छ । बैंकका शाखा र बजार फेरि बन्न सक्छन् । तर नदीले बगाएर लगेको एउटा जीवन फर्काउन सकिँदैन । त्यसैले भोटेकोशीको बाढीबाट बगेका मानिसहरूको पीडालाई केवल एउटा दुःखद घटनाको रूपमा सम्झेर पुग्दैन ।
यो मुलुकको विपद् व्यवस्थापन इतिहासमा ठूलो चेतावनी हो । बाढी रोक्न नसकिएला । हिमपहिरो रोक्न नसकिएला । तर त्यसको सूचना समयमै दिन सकिन्छ । मानिसलाई सुरक्षित स्थानमा सार्न सकिन्छ । जोखिमयुक्त बस्ती पहिचान गर्न सकिन्छ । एउटा परिवारलाई आफ्नो प्रियजन गुमाउनबाट जोगाउन सकिन्छ ।

राहत र उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावितको राहतलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।
उनले रातभर पनि उद्धार कार्य जारी नै रहने बताएका छन् । ‘यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ’, प्रधानमन्त्री शाहले भनेका छन्, ‘घाइतेहरूको पूर्ण विवरण र बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ । आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ ।’

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीको खबर प्राप्त हुनासाथ सरकारले आफ्ना सम्पूर्ण संयन्त्रलाई उद्धार कार्यमा परिचालन गरेको बताएका छन् । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने सम्बन्धमा निर्णय गरिएको छ ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिएको जानकारी दिएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार शुरू गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहले नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएको उल्लेख गरेका छन् । ती क्षेत्रका पीडित परिवारसम्म तत्काल खानेकुरा, सफा खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था पु¥याइने उनको भनाइ छ ।

‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,’ प्रधानमन्त्री शाहले भनेका छन् । उनले बाढी प्रभावित नागरिकको उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत र उद्धार अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य ठूला अस्पताललाई पनि आवश्यक परेमा घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।