बुटवलमा नवराज पराजुलीको ‘कविता कन्सर्ट’, झुम्मिए दर्शक

मेचीकाली संवाददाता

३१ श्रावण २०८३, आईतवार
1 shares

बुटवल । बुटवलमा युवा पुस्ताका चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न भएको छ । करियर गाइड इभेन्टको आयोजनामा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कविता कन्सर्टमा कवि पराजुलीले आधा दर्जन बढी चर्चित कविताहरु सुनाएका थिए । पराजुलीले आफ्नो विशेष बाचन शैलीमा कविता प्रस्तुत गरी बुटवल क्षेत्रका दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको करियर गाइड इभेन्टका सिइओ तथा कार्यक्रम संयोजक अर्जुन खरेलले बताए । काठमाडौंबाहीर साहित्यमार्फत् युवाहरुलाई जोड्ने उद्देश्यले कविता कन्सर्ट आयोजना गरीएको उनले बताए ।

पराजुलीले ह्यापी बर्थ डे छोरा, सगरमाथाको गहिराइ, कथामा भेटौँला कविता वाचन गर्दा दर्शकहरु धेरै पटक भावुक बने । उनले खोया र मैझारोको कविताले प्रेमलाई छोएर संयोग र वियोगको प्रसङ्गलाई उठाएका थिए । पराजुलीले अधिकांश कविता दुखाइ र पीडा र बेदना समेटिएका सुनाए । भने केहि दर्शकका रुचिलाग्ने कविता पनि सुनाए ।

कवि पराजुलीले बुटवलका दर्शकहरुको मायाले फर्कीफर्की कार्यक्रममा आइरहेको बताए । पराजुली कविता लेखन र बाचन शैलीका कारण विशेष चर्चामा रहेका साहित्यकार हुन् । निजी जीवनका अनुभूतिहरूमा आधारित उनका अधिकांश कविताले युवा पुस्तालाई विशेष आकर्षित गर्दै आएका छन् । पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’ २०७३ पद्मश्री साहित्य सम्मानबाट पुरस्कृत काव्यकृति हो । कविता कन्सर्टमा बुटवल र आसपासका सयौँ साहित्यप्रेमी दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।