समयमै वर्षा नहुँदा लुम्बिनीमा धान रोपाइँ सुस्त, २० प्रतिशत मात्रै रोपाइँ !

मेचीकाली संवाददाता

१५ असार २०८३, सोमबार
1 shares

रमेश पराजुली

बुटवल । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि असार १५ मा राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । सरकारले हरेक वर्ष असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ ।

धान उत्पादनका लागि उर्भर भूमि मानिने लुम्बिनी प्रदेशमा मध्य असार सकिनै लाग्दा २०.८ प्रतिशत मात्र रोपाइँ भएको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नविन गैरेले जानकारी दिए । असारको दोस्रो सातामा पानी परेपछि किसानहरु रोपाइँमा जुटेका छन् । सिँचाइ अभावले आकाशे पानीमै भर पर्ने भएकाले तराइका जिल्लाहरूमा धानको ब्याडमा बिउ छिप्पिँदै जाँदासमेत किसानले रोपाइँ गर्न पाएका छैनन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा ६ लाख ७९ हजार ६१३ हेक्टर खेतीयोग्य जमिन छ । कुल खेतीयोग्य जमिनमध्ये ३ लाख एक हजार ३७२ हेक्टरमा धान खेती गरिन्छ । निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार लुम्बिनीमा धान खेती हुँदै आएको जमिनमध्ये २०.८ प्रतिशत अर्थात् ६२ हजार ६७०.८७ हेक्टरमा रोपाइँ भएको छ । समयमा नै वर्षा भएको भए ५० प्रतिशतको हाराहारीमा रोपाइँ हुनुपर्ने समयमा अत्यधिक गर्मीका कारण करिब २०.८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत गैरेले बताए । ‘यसवर्ष पनि समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाइँ न्यून मात्रामा भएको छ । विगतका वर्षहरूमा अहिलेसम्म झण्डै २५ प्रतिशत रोपाइँ भइसक्थ्यो । तर, अहिले पानी नपरेपछि पहाडी जिल्लामा फाटफुटबाहेक तराईका जिल्लामा रोपाइँ हुन सकेको छैन ।’, उनले भने ।

सिँचाइ हुने क्षेत्रमा रोपाइँ धमाधम भैरहेको छ । तर आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्रमा सुक्खाका कारण रोपाइँ गर्न सकिएको छैन । किसान आकाशे पानी अर्थात् वर्षाको पखाईमा छन् । कृषि विकास निर्देशनालय लुम्बिनीका निमित्त महानिर्देशक रामप्रसाद पाण्डेले असार लागेपछि पानी नै पर्न नसकेकाले धान रोपाइँ हुन नसकेको बताए । ‘गत वर्ष पनि किसान सुक्खा र खडेरीको चपेटामा परेका थिए ।’, पाण्डेले भने । लुम्बिनी प्रदेशमा धान उत्पादन हुने क्षेत्रफल घट्दै जानुका साथै कृषिका लागि जलवायु परिवर्तन चुनौतीपूर्ण बन्दै गएको छ । सोमबार बिहानैबाट लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा पानी परीरहेको छ ।

यस्तो छ जिल्लागत रोपाइँको अवस्था
कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ । ५५ हजार ८२५ हेक्टर खेतियोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुने गरेकोमा अहिलेसम्म ०.५ प्रतिशत अर्थात् १६८.९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ । लुम्बिनीमा प्रतिशतका हिसाबले प्रदेशको पहाडी जिल्ला प्युठानमा सबैभन्दा धेरै धान रोपाइँ भएको छ । प्युठानमा ४३ हजार ८४५ हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये ६ हजार ५२५ हेक्टरमा धान खेती लगाइन्छ । प्युठानमा अहिलेसम्म ८८ प्रतिशत अर्थात् ५ हजार ७४२ हेक्टरमा रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै धान खेती हुने कपिलवस्तुमा ८८ हजार ९७३ हेक्टर खेतीयोग्य जमिनमध्ये ६६ हजार २६५ हेक्टरमा धान खेती हुन्छ । जसमा हालसम्म १.५८ प्रतिशत अर्थात् १ हजार ५० हेक्टरमा रोपाइँ सकिएको छ । कपिलवस्तुपछि धेरै धान खेती हुने रुपन्देहीमा ४३ प्रतिशत रोपाइँ भएको छ । ६३ हजार ५५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६३ हजार ५५० हेक्टरमा धान खेती हुने गरेको रुपन्देहीमा २७ हजार ३२६.५ हेक्टरमा रोपाइँ भइसकेको छ । नवलपरासी पश्चिममा कुल खेतीयोग्य जमिन ३९ हजार ४०७ हेक्टरमध्ये २० हजार ८८७ हेक्टरमा धान खेती हुन्छ । जसमा हालसम्म ५० प्रतिशत अर्थात् १०४४३.५ हेक्टरमा रोपाइँ भएको छ ।

यस्तै पाल्पामा रहेको ५३ हजार ४५४ हेक्टर खेतीयोग्य जमिनमध्ये ७ हजार २८७ हेक्टरमा धान खेती हुन्छ । जसमा अहिलेसम्म ४ प्रतिशत अर्थात् २९१.४८ हेक्टरमा रोपाइँ भएको छ । गुल्मीमा ४७ हजार २८५ हेक्टर खेतीयोग्य जमिनमध्ये ६ हजार ५४१ हेक्टरमा धान खेती लगाइन्छ । जसमा हालसम्म ७ प्रतिशत अर्थात् ४५७.८७ हेक्टरमा रोपाइँ भएको छ ।
यस्तैगरी, अर्घाखाँचीमा २६ हजार ३०१ खेतीयोग्य जमिनमध्ये ६ हजार ७६० हेक्टरमा धान खेती हुन्छ । जसमा अहिलेसम्म ११.२ प्रतिशत अर्थात् ७५७.१२ हेक्टरमा रोपाइँ भएको छ । रोल्पामा रहेको ७८ हजार ३८१ हेक्टर खेतीयोग्य भूमिमध्ये ३ हजार ७३ हेक्टरमा धान खेती हुँदै आएको छ । जसमा ४० प्रतिशत अर्थात् १ हजार २३० हेक्टरमा रोपाइँ भएको छ ।

दाङमा ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ३६ हजार २०० हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म १५ प्रतिशत अर्थात् ५ हजार ४३० हेक्टरमा रोपाइँ गरिएको छ । बर्दियामा ६३ हजार ७२ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ५० हजार १५० हेक्टरमा धान खेती हुन्छ जसमा १९.३१ प्रतिशत अर्थात् ९ हजार ६८५ हेक्टरमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशको एउटा मात्रै हिमाली जिल्ला रुकुम पूर्वमा १९ हजार ३९५ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये सबैभन्दा थोरै ३५४ हेक्टरमा मात्रै धान खेती हुन्छ जसमा २५ प्रतिशत अर्थात् ८८.५ हेक्टरमा रोपाइँ सकिएको छ ।

रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नम्बर ३ का किसान सुरज बरुनले मध्य असारसम्म पनि प्रशस्त पानी नपरेका कारण रोपाइँ सुरु हुन नसकेको बताए । किसानहरूले बाली लगाउने बेला बर्सेनी यस्तो समस्या भोग्दै आएको दुखेसो उनले गरे । ‘हामी किसानको समस्या कसले सुन्छ ? धान रोप्ने बेलामा न पानी हुन्छ न त मल ।’, उनले भने । समयमै पानी नपर्दा रुपन्देहीको दक्षिणी क्षेत्रका किसानले बोरिङबाट पानी तानेर धान रोपाइँ गर्न थालेपछि पिउने पानीको समस्या बढेको छ । मायादेवी गाँउपालिका वडा नम्बर ७ का बैजनाथ सहानीका अनुसार जेठ अन्तिम सातादेखि किसानहरुले बोरिङबाट पानी तानेर रोपाइँ गर्दा यस्तो समस्या निम्तिएको हो ।

प्रतिकूल मौसमका बिच पनि धान उत्पादन बढाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्थानशील जातका बिउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने आवश्यकता देखिएको कृषिविज्ञहरु बताउँछन् । किसानले सिँचाइ अभावमा रोपाइँ गर्न नपाइरहेका बेला स्थानीय र प्रदेश सरकार भने असार १५ को अवसरमा किसानको खेतमै पुगेर धान दिवस मनाउने तयारीमा छन् । प्रदेश सरकारले नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा धान दिवस मनाउने तयारी गरेको छ ।

धान उत्पादन वृद्धि गर्न प्रदेश सरकारले खेतियोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधा विस्तार तथा समयमै गुणस्तरीय बीउ र मल उपलब्ध, यान्त्रीकरण, चैते धान प्रवद्र्धन, बजारीकरण, रैथाने जातको संरक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका उन्नत जातहरूको खेती भइरहेको छ । साथै, किसानले तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता परम्परागत बिउको प्रयोग गर्दै आएका छन् ।