तुलसीराम पौडेल
सियारी, असार १४
। रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका अन्तर्गत सञ्चालित सहकारी संस्थाका पदाधिकारीलाई लक्षित गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ।
गाउँपालिकाको सहकारी शाखाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले सहकारी संस्थाले कानुन, मापदण्ड र सहकारीको सिद्धान्तअनुसार पारदर्शी रूपमा आर्थिक कारोबार तथा अभिलेख व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। नियमविपरीत कार्य गर्ने सहकारीमाथि गाउँपालिकाले आवश्यक कानुनी कारबाही गर्ने उहाँको भनाइ थियो।



अभिमुखीकरण कार्यक्रममा गाउँपालिका क्षेत्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक नारायण बेलबासे र ऋषिकेश ज्ञवालीले सम्पत्ति शुद्धीकरण निवारण, सहकारी सुशासन, वित्तीय अनुशासन तथा कानुनी व्यवस्थासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष धनपति खरेलसहित विभिन्न वडाका जनप्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। कार्यक्रमको समापन वडा नं. ३ का अध्यक्ष रामचन्द्र कुर्मीले गर्नुभएको थियो भने सञ्चालन सहकारी शाखा प्रमुख लक्ष्मी खत्रीले गर्नुभएको थियो।



