मेचीकालीकर्मी अमृत गिरीलाई १ लाख नगद राशिको उत्कृष्ट पत्रकारिता पुरस्कार

मेचीकाली संवाददाता

१५ असार २०८३, सोमबार
7 shares

बुटवल । मेचीकाली राष्ट्रिय दैनिकमा स्थापनाकालदेखि कार्यरत सम्पादन शाखा प्रमुख अमृत गिरीले एक लाख नगद राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा २०५३ सालमा स्थापना गरेको उक्त प्रतिष्ठित पुरस्कार गिरीले प्राप्त गरेका हुन् ।

पत्रकार महासंघ रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको एक समारोहबिच उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवालीलगायतको उपस्थितिमा हस्तान्तरण गरे । उक्त पुरस्कार प्रत्येक वर्ष रुपन्देहीमा बसेर खोजमूलक समाचार लेख्ने एक जना पत्रकारलाई प्रदान गर्ने गरिन्छ ।

मेचीकालीका स्थापनाकालदेखि कार्यरत गिरी बुटवलमा बसेर विगत साढे दुई दशकदेखि खोजमूलक पत्रकारितामा सक्रिय छन् । पुरस्कार ग्रहण गर्दै गिरीले पत्रकार आचारसंहिताको पालना गर्दै पूर्ण व्यवसायिक र निश्पक्ष पत्रकारितामा निरन्तर केन्द्रित रहने प्रतिवद्धता जनाए ।
पुरस्कार छनौटका लागि महासंघले सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा घनश्याम गौतम, तेजेन्द्र केसी रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले गरेको छनौटका आधारमा महासंघले उपमहानरगको समन्वयमा सोमबार उक्त पुरस्कार प्रदान गरेको सचिव सीपी खनालले जानकारी दिए ।

सूर्यप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पाण्डे र केसी पुरस्कृत
यस्तै सोही अवसरमा सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट गोरखापत्रमा कार्यरत छवि पाण्डे र बुटवल टुडे दैनिकमा कार्यरत माया केसीलाई जनही ५० हजार रुपैयाँ राशिले पुरस्कृत गरिएको थियो ।

तीनैवटा पुरस्कार वितरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले वर्तमान समयमा सञ्चारमाध्यम आर्थिक रूपमा टिक्न कठिन अवस्थामा पुगेको र पत्रकारहरूको भविष्यसमेत असुरक्षित बन्दै गएको बताए । प्रविधिको विकास र समयको परिवर्तनसँगै मिडिया हाउसहरुले आफूलाई रुपान्तरण गर्नुपर्ने उनको भनाई थियो । प्रमुख पाण्डेले बुटवललाई ‘मिडिया सिटी’ का रूपमा विकास गर्ने योजना रहेको जानकारी दिँदै यस अभियानमा बुटवलले राष्ट्रिय स्तरमै पत्रकारिताको नेतृत्व गर्न सक्ने गरी समन्वय गर्न पालिका तयार रहेको बताए ।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै जिम्मेवार, तथ्यमा आधारित र जनउत्तरदायी पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले स्थानीय सरकार र सञ्चार माध्यमबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विकास, सुशासन र नागरिक सचेतनाका क्षेत्रमा मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डित, सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार छनोट समितिका संयोजक तथा रुपन्देहीका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाईं, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्वअध्यक्ष रामराज पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पुरस्कृत तीनै जना पत्रकारलगायतले बोल्दै आमसञ्चारको प्रवद्र्धन र व्यावसायिक पत्रकारिताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।