लुम्बिनीका सडकमा बढ्दो जोखिम, तीब्र गति र लापरवाहीले जनधनको क्षति

मेचीकाली संवाददाता

१६ असार २०८३, मंगलवार
4 shares

अमृत गिरी

बुटवल । विश्वका कैयौ मुलुकमा सवारी दुर्घटना शून्यमा छ । तर, हामीकहाँ भने दिनदिनै न्यूनीकरणका अभियान सञ्चालन गरेपनि कहिल्यै निको नहुने रोगका रुपमा बढिरहेको छ । सडकमा हिँड्ने प्रत्येक व्यक्ति सुरक्षित रूपमा घर फर्कने हो कि होइन टुंगो नहुने गरी र छिनछिनमै दुर्घटनाका दुस्चक्रहरुले जनधनको क्षति भइरहेको छ । केही सेकेन्डको असावधानी, केही मिनेटको हतार र सामान्य नियम उल्लंघनले सडकमा जोखिम बढिरहेको छ ।

नियामक निकायले साधन स्रोत नभएको, जनशक्ति नभएको भन्दै कारबाहीका प्रक्रियालाई प्रभावकारी बनाउन सकेको छैन भने उपकरण आफैले खरिद गरेर जडान गर्न पनि सकिरहेको छैन । लुम्बिनी प्रदेशमा बैशाख र जेठ महिनामा सार्वजनिक भएको ट्राफिक तथ्यांकले यही पीडादायी यथार्थ उजागर गरेको छ । यसअवधिमा भएका दुई सय ४० जति दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने ६४१ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनामा मात्रै प्रदेशभर १५० वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा ४० जनाले ज्यान गुमाए भने २५५ जना घाइते भए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रुपन्देहीले जेष्ठ महिनाको कार्य प्रगति तथा सवारी दुर्घटनाको त्रैमासिक र मासिक समीक्षा विवरण सार्वजनिक गरेको थियो ।

बैशाखको तुलनामा दुर्घटना संख्या केही घटेको देखिए पनि प्रत्येक दिन औसत पाँचवटा दुर्घटना र दैनिक एकभन्दा बढीको मृत्यु हुनु चिन्ताजनक अवस्था हो । बैशाखमा प्रदेशभर १८९ वटा दुर्घटना भएका थिए । त्यसमा ४३ जनाको मृत्यु र २८६ जना घाइते भएका थिए । जेठमा दुर्घटना ३९ वटाले घटे पनि मृत्युदरमा उल्लेखनीय सुधार आउन सकेको छैन ।

तीव्र गति नै सबैभन्दा ठूलो ‘हत्यारा’
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरिक्षक (एसपी) निशान थापाले दुर्घटनाको कारण विश्लेषण गर्दा सबैभन्दा डरलाग्दो तथ्य तीव्र गति बनेको उल्लेख गरे । उनले अधिकांश दुर्घटना तीब्र गतिकै कारणले भएको पाइएको तथ्यांक प्रस्तुत गरेका छन् ।

जेठ महिनामा चालकको कारण भएका दुर्घटनामध्ये तीव्र गतिका कारण ९९ वटा दुर्घटना, मादक पदार्थ सेवनका कारण १७ वटा, चालकीय असक्षमताका कारण १८ वटा, लेन अनुशासन उल्लंघनबाट ९ वटा, मोबाइल फोन प्रयोगबाट १ वटा, निद्रा वा थकानबाट १ वटा, अनावश्यक ओभरटेकबाट २ वटा र अन्य लापरवाहीबाट ३ वटा दुर्घटना भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाले सार्वजनिक गरेको तथ्यांकमा छ ।
यसैगरी मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति अझै नियन्त्रणमा आउन नसकेको र जेठ महिनामा मात्रै प्रहरीले १ हजार ११३ जना चालकलाई मादक पदार्थ सेवन (मापसे) गरेको अभियोगमा कारबाही गरेको तथ्यांकमा छ । यसबाट मात्रै ६ लाख ९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

गलत पार्किङ र लेन उल्लंघन पनि उत्तिकै खतरनाक
जेठ महिनामा गलत पार्किङ गर्ने ५९६ चालक कारबाहीमा परेका छन् । यस्तै रातो बत्ती उल्लंघन गर्ने ५६८ जना कारबाहीमा परे । लेन अनुशासन उल्लंघन गर्ने २३४ जनामाथि कारबाही भएको छ ।
ट्राफिक प्रहरीले जेठ महिनामा १२ हजार ८०४ वटा सवारी साधनमाथि कारबाही गरेको छ । १ करोड ४८ लाख ३९ हजार ५०२ रुपैयाँ जरिवाना संकलन गरेको छ । बैशाखमा १० हजार १११ कारबाही र १ करोड ६५ लाख ७६ हजार ५०९ रुपैयाँ जरिवाना संकलन भएको थियो ।
दुर्घटना र क्षतिमा कमि आउनुमा ट्राफिक प्रहरीको सक्रियता र चेतनामूलक अभियानलाई मुख्य कारण मानिएको थापाले बताए । जहाँ वैशाखको तुलनामा जेठ महिनामा कारबाही संख्या १०,९११ बाट बढेर १२,८०५ पु¥याइएको छ भने जनचेतना कार्यक्रमबाट लाभान्वित हुनेको संख्या पनि ५२,३५५ बाट वृद्धि भई ७७,०५३ पुगेको छ ।

सचेतना अभियान पनि तीव्र
दुर्घटना रोकथामका लागि प्रहरीले कारबाहीसँगै जनचेतनालाई पनि प्राथमिकता दिएको छ । जेठ महिनामा १ हजार ४१९ जनालाई प्रत्यक्ष ट्राफिक सचेतनाका कार्यक्रममा सहभागी गराएको छ । ६७ हजार ५३ जनालाई विभिन्न कार्यक्रममार्फत लाभान्वित भएको प्रहरीको दाबी छ । यस्तै १३५ स्थानमा सिट स्टिकर, ६५ स्थानमा लाइट स्टिकर, बढि भिडभाड हुने ७ स्थानमा जेब्रा क्रसिङ निर्माण, ८० वटा भार मापन तथा मिलान, २७५ सवारीको यान्त्रिक परीक्षण तथा चेकजाँच भएको छ । यसैगरी १८३ जनाको स्वास्थ्य परीक्षण, ५ स्थानमा बस फकेट सञ्चालन, बुटवलमा १०५ वटा छाडा चौपाया व्यवस्थापन, १३५ स्थानबाट सिट बनाइका अनावश्यक सामग्री हटाइएको र ९ स्थानमा कन्भेक्स मिरर जडान गरिएको छ । यस्तै हराएका ३ थान मोबाइल र २ थान झोला फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाउनुका साथै बुटवल क्षेत्रबाट १०५ वटा छाडा चौपाया व्यवस्थापन गरिएको उल्लेख छ ।