हरियाली प्रवद्र्धन अभियान: घरघरमा पुग्दै फलफूलका बिरुवा

मेचीकाली संवाददाता

१८ असार २०८३, बिहीबार
1 shares

अमृत गिरी

बुटवल। डिभिजन वन कार्यालय रुपन्देहीले समुदायमा आधारित वन व्यवस्थापन, हरियाली प्रवद्र्धन र जैविक विविधता संरक्षणलाई विशेष अभियानका रुपमा सञ्चालन गरेको छ । वनलाई उत्पादन, वातावरण, पोषण, जैविक विविधता, जलाधार संरक्षण र सामुदायिक सहभागितासँग जोड्दै हरियाली विस्तार गर्ने अभियान सञ्चालन भइरहेको छ । लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको डिभिजन वन कार्यालय रुपन्देहीले यही उद्देश्यलाई केन्द्रमा राखेर जिल्लाभर निःशुल्क फलफूल तथा विभिन्न प्रजातिका बिरुवा वितरण गरिरहेको छ ।

डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत प्रविण विडारीका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहमा पालिकाको सिफारिसका आधारमा थोरैधेरै बिरुवा वितरण गरिएको छ । लगिएका बिरुवाको अभिलेख राखेर वितरण गरेको छ ।
रुपन्देहीमा रहेका १११ वटा सामुदायिक वन तथा २ वटा साझेदारी वनसँग सहकार्य गर्दै वन, वन्यजन्तु, वनस्पति, जलाधार तथा जैविक विविधता संरक्षणलाई अभियानकै रूपमा अघि बढाइएको कार्यालय प्रमुख विडारीको भनाइ छ ।

वन संरक्षण सरकारी कार्यालयको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै सिनियर डिभिजन वन अधिकृत विडारीले स्थानीय तह, सामुदायिक वन, विद्यालय, संघसंस्था र प्रत्येक नागरिकको साझा दायित्व हो भन्ने सन्देशका लागि पनि अभियान सञ्चालन गरिएको जानकारी दिए । समुदायसँग सहकार्य गरेर हरियाली विस्तारलाई जनअभियानका रूपमा अघि बढाइएको उनको भनाइ छ ।

कार्यालयमै उत्पादन, बाहिरबाट समेत गुणस्तरीय बिरुवा
डिभिजन वन कार्यालयले आफ्नै परिसरमा विभिन्न जातका फलफूल, सौन्दर्यकरणका फूल तथा हरियालीका बिरुवा उत्पादन गर्दै आएको छ ।

स्थानीय रूपमा उत्पादन गर्न नसकिने केही फलफूलका बिरुवा भने रौतहटबाट ल्याएर सर्वसाधारण, स्थानीय तह तथा संस्थाहरूलाई अभिलेख राखेर निःशुल्क वितरण गरिएको प्रमुख विडारीले जानकारी दिए । वातावरण संरक्षणसँगै स्थानीय स्तरमा फलफूल उत्पादन बढाउने, पोषण सुधार गर्ने, आयआर्जनमा सहयोग पु¥याउने र हरियाली विस्तार गर्ने लक्ष्यलाई एकैसाथ सम्बोधन गरेको उनको दाबी छ ।

फलफूलदेखि बहुउपयोगी वनस्पतिसम्म
यस वर्ष कार्यालयले विभिन्न चरणमा दुई प्रकारका कार्यक्रममार्फत बिरुवा वितरण गरिरहेको कार्यालयका वरिष्ठ वन अधिकृत उमेश साहले बताए । उनले फलफूलका बिरुवामा मुख्य रूपमा आँप, लिची, अम्बाका बिरुवा निःशुल्क वितरण गरेको छ । सार्वजनिक सूचना जारी गरेर वितरण सुरु गरिएको थियो ।
सूचनाअनुसार एक व्यक्तिले अधिकतम ५ बोट (बढीमा ३ आँप र २ लिची) प्राप्त गर्न सक्ने भन्दै सूचना जारी गरिएको थियो । सूचना जारी गरिएकै दिनमा एकैसाथ हजारौं विरुवा वितरण भएको र हाल आँप र लिचीका बिरुवा सकिइसकेको अधिकृत साहले बताए । अरु बिरुवा भने उपलव्ध रहेको उनको भनाइ छ ।

स्थानीय तहहरूले आफ्ना क्षेत्रभित्र वितरणका लागि अधिकतम ३०० बिरुवा माग गर्न सक्ने व्यवस्था गरी सूचना जारी भएको थियो । समूह वा संस्थाले सम्बन्धित स्थानीय तहको सिफारिससहित आवेदन दिँदै विरुवा लगेका छन् । आँप र लिचिका मात्रै करिब ९ हजार विरुवा दुई दिनमै वितरण गरेर सकिएको कार्यालयले बताएको छ ।
केही ढिलो भएका कारणले आँप र लिचि सकिइसकेकाले अरु आवश्यक बिरुवाहरु सहज रुपमा रेकर्ड राखेर उपलव्ध भएको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले बताए । आँप र लिचिबाहेकका जामुन र अन्य शौैन्दर्य र हरियाली प्रवद्र्धनका विरुवा भने सूचनाअनरुप कै पाइएको उनले बताए ।

वन तथा औषधीय महत्वका बिरुवा पनि वितरण
फलफूलसँगै कार्यालयको नर्सरीमा उत्पादन भएका विभिन्न प्रजातिका बहुउपयोगी बिरुवा पनि वितरण भइरहेका छन् । तीमध्ये प्रमुख रूपमा टिक, मसला, जामुन, अर्जुन,गंगाकाठलगायतका काष्ठ तथा बहुउपयोगी वनस्पतिसमेत वितरण गरिएको छ । १० बोटसम्म नर्सरीबाट सिधै प्राप्त गर्न सकिने, १०–५० बोटका लागि योजना÷व्यवस्थापन शाखाबाट चिट लिनुपर्ने, ५०–१०० बोटका लागि निवेदन, नागरिकताको प्रतिलिपि तथा वडा कार्यालयको सिफारिस आवश्यक पर्ने, १०० भन्दा बढी बिरुवा माग गर्नेले बिरुवा रोप्ने स्थानमा खाल्डा तयार गरेको प्रमाण (फोटो) समेत पेश गर्नुपर्ने व्यवस्था गरी सूचना जारी गरिएको र सोही प्रक्रिया पूरा गर्नेलाई बिरुवा उपलव्ध गराइएको कार्यालय प्रमुख विडारी बताउँछन् ।

कागजमा होइन, जमिनमै हरियाली
कार्यालयले बिरुवा वितरणलाई मात्रै उपलब्धि नमानेको जनाएको छ । वितरणपछि बिरुवा वास्तवमै रोपिएको छ वा छैन भन्ने विषयलाई पनि उत्तिकै महत्व दिँदै अनुगमनको व्यवस्था गरिएको सिनियर डिभिजन वन अधिकृत विडारीले बताए ।
रुपन्देहीमा सामुदायिक वन व्यवस्थापन नेपालको सफल नमुनामध्ये एक मानिन्छ । अहिले यही संरचनालाई हरियाली विस्तार, वन्यजन्तुको बासस्थान संरक्षण, जलाधार व्यवस्थापन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तन अनुकूलनसँग जोडेर अघि बढाइएको छ ।

विश्वव्यापी रूपमा बढ्दो तापक्रम, असामयिक वर्षा, बाढी, पहिरो र खडेरीजस्ता चुनौतीबीच वृक्षारोपण नै सबैभन्दा प्रभावकारी प्राकृतिक समाधान भएको उल्लेख गर्दै विडारी भन्छन्, ‘आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण, सुरक्षित जैविक विविधता र हराभरा भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’