‘जुम्बा योगा’मा नाच्ने बुटवल

मेचीकाली संवाददाता

२४ श्रावण २०८३, आईतवार
6 shares

प्रकाश आचार्य

बुटवल। खुला चौरमा सूर्योदयको किरणसँगै गुञ्जिने सुमधुर भजन र विभिन्न गीत । सोही ‘म्यूजिक’ को तालसँगै अगाडि प्रशिक्षकको स्टेप हेर्दै सोही आधारमा अघिपछि, दायाँबायाँ र तलमाथि चलिरहेका सयौँ हातखुट्टा । लुछुप्प पसिनाले भिजेको अनुहारमा थकानभन्दा मुस्कान बढी छ । पसिनाले पूरै कपडा भिजेको छ तर पसिना स्वास्थ्यतर्फको यात्रामा साक्षी बनेको छ । यस्तो दृश्य पछिल्लो समय बुटवलका खुला चौरमा लोकप्रिय बनेको छ । कुनै बेला योगा अभ्यासमा सीमित रहने स्वास्थ्य अहिले बिहानी नित्य संगीत र नृत्यसँग जोडिएको ‘जुम्बा योगा’तर्फ आकर्षित बनेको छ । शहरीया जीवनशैलीले स्वस्थ्य बन्न बिहानमा अपनाउँदै आएको यो फरक योगाको तरिकाले सबैको नजर तानेको छ ।

अहिले बुटवलका ठाउँठाउँमा जुम्बा योगामा बिहानै नाच्नेहरू बढिरहेका छन् । योग साधनाबाट जीवनमा प्राकृतिक सन्तुलन कायम राख्न अहिले बुटवलमा बिहानको समयमा ‘जुम्बा योग’ साधना भइरहेका छन् । व्यस्त जीवनशैली, मानसिक तनाव र अनियमित दिनचर्याका कारण स्वास्थ्यमा देखिने समस्यालाई कम गर्न ‘म्यूजिक’ योग साधना बुटवलबासी नाचेर गरिने योगा उपयोगी सावित बनेको सहभागीहरु बताउँछन् । ‘जुम्बा’ भनेको संगीतको तालमा गरिने एक फिटनेस व्यायाम अर्थात् योगा हो । ‘फ्रि’ योग साधना, बुटवलले यस क्षेत्रका विभिन्न स्थानका खुला चौरमा म्यूजिकमा नाचगानसहित सिकाउने जुम्बा साधनाले व्यायाम, मनोरञ्जन र मानसिक सन्तुलनलाई एकसाथ जोडेको छ ।

साधनाले हरेक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म एक घण्टा नियमित योग गरेपछि यसमा सहभागी हुनेको संख्या निरन्तर बढ्दो छ । बिहान अल्छी गरी सुतेर खेर फाल्ने समय आफ्नो स्वास्थ्यको लागि दिनुपर्नेमा अभ्यस्त हुँदै गीत संगीतमा रमाउँदै नचाउँदै गराइने योगालाई ‘म्यूजिकल योग’ नाम पनि दिइएको छ । बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको चौरमा, मणिमुकुन्द सेन उद्यान (फुलबारी), बुटवल बहुमुखी क्याम्पस, योगिकुटी, शंकरनगर, भलवारी, ठुटेपिपल, नयाँगाउँलगायतका ठाउँमा ‘जुम्बा योगा’ मा नित्य रुपमा चलिरहेका छन् ।
यो अवधारणा दुई वर्षअघि बुटवलकी विष्णुमाया श्रेष्ठले पतञ्जली योगको ज्ञान लिएर त्यसको बुटवलमा सुरूआत गरेकी थिइन् । कोरोना महामारीका बेला नागरिक निकै डराएका थिए । त्यो समयमा श्रेष्ठले आफ्नो घर नजिकैको लक्ष्मीपार्कबाट थोरै मानिसलाई जुम्बामा जोडेकी थिइन् । विष्णुमायाले पाँच वर्षको अन्तरालमा दर्जनभन्दा बढी योग शिक्षक तयार पारेर प्रशिक्षण चलिरहेको छ । योगका माध्यमबाट स्वास्थ्य प्रवद्र्धन, चरित्र निर्माण र आरोग्यतासँगै विभिन्न स्थानमा पुगेर योग साधनाका बारेमा प्रशिक्षण चलाइरहेका छन् । विष्णुमाया कोरानाका बेला अनलाइनमार्फत योग सिकाएपछि सबैले अहिले रूचाएर यो अभियान फैलिएको बताउँछिन् । ‘जुम्बा योग परम्परागत व्यायामभन्दा फरक छ । यो कठोर अभ्यासभन्दा पनि रमाइलो वातावरणमा संगीतको तालसँग शरीरलाई चलाइन्छ । यही कारणले गर्दा व्यायाम गर्न गाह्रो मान्नेहरु पनि जुम्बा योगमा सहजै सहभागी हुने गरेका छन्,’ विष्णुमायाले भनिन् ।

‘पतञ्जलीको योग प्याकेज गर्न पनि धेरैले गाह्रो माने विष्णु त्यो बेलाको कुरा विष्णुमाया सम्झन्छिन्,‘जुम्बामार्फत संगीतमा ढालेर यो गर्दा यसैमा सबै रमाए । यसले पैतलादेखि सुरु भएर सबै ठाउँमा शरीरलाई ‘एक्टिभ’ गराउँछ । यसलाई धेरैले प्रभावकारीसमेत मान्नुभएको छ । अहिले जिल्लाका धेरै ठाउँमा हामीबाट उत्पादितहरुले सिकाइरहेका छन् ।’ विस्तारै अभियान प्रभावकारी भएपछि यसको माग ठाउँठाउँमा बढेर अहिले जिल्लामा धेरै ठाउँमा सञ्चालन भइरहेको श्रेष्ठ बताउँछिन् । पूर्व शिक्षक तथा पतञ्जली योग समिति रूपन्देहीकी अध्यक्ष श्रेष्ठले लामो समयदेखि निरन्तर योग प्रशिक्षण दिइरहेकी छन् ।

विष्णुमायासँगै बुटवलका विभिन्न ठाउँमा पदम जिसी, टिबी श्रेष्ठ, सरिता खड्का, विष्णु उपाध्याय, लक्ष्मी पोखरेल, विष्णु केसी, विनोद आचार्य, धना राना, लक्ष्मी खड्का र शान्ता श्रेष्ठले प्रशिक्षकको भूमिका निभाइरहेका छन् । निःशुल्क चलाइएको अभियानमा स्वतस्फूर्त रुपमा सहभागी हुने क्रम निरन्तर बढेको प्रशिक्षक पदम जिसी बताउँछन् । योगासन, प्राणायाम र ध्यानका क्रममा शान्त तथा संगीतको प्रयोग गरिने यस विधिले सहभागीलाई शारीरिक र मानसिक रूपमा सहज महसुश बनाइरहेको जिसीको भनाइ छ । ‘बुटवलका विभिन्न स्थानमा बिहानको समयमा भजन, स्वदेशगान र गीतका ध्वनि वा ध्यानमूलक संगीतको लयमा विभिन्न योगासन अहिले लोकप्रिय बनिरहेको छ,’ जिसी भन्छन्, ‘संगीतको प्रभावले मनलाई शान्त बनाउने, तनाव घटाउने, एकाग्रता बढाउने गरिने योग अभ्यासलाई थप प्रभावकारी र आनन्ददायी मानिरहेका छन् ।’
यसको नियमित अभ्यासले मानसिक शान्ति, राम्रो निद्रा, श्वासप्रश्वासमा सुधार तथा शरीरको लचकता बढाउन सहयोग पु¥याउने गरेको छ ।

स्वास्थ्यप्रति सचेत युवादेखि ज्येष्ठ नागरिकसम्म सबै झुम्ने गर्छन् । म्युजिकल योगलाई स्वस्थ जीवनशैलीको एउटा सहयोगी अभ्यासका लिइएको छ । सहभागीहरु एउटै ड्रेस कोर्ड सेतो टिसर्टमा सहभागी हुन्छन् । टिसर्ट पनि सस्तो शुल्कमा उपलब्ध गराइएको छ । सबैजना ह्याटस्एप ग्रपमा जोडिएका छन् । सन्तुलित आहार, नियमित व्यायाम र आवश्यक स्वास्थ्य परीक्षणसँगै योगलाई दैनिक जीवनमा समावेश गर्दा यसको लाभ अझ प्रभावकारी बनेको छ । ‘पानी परेको दिन हुँदैन, नत्र सबै दिन ५ बजेदेखि ६ बजेसम्म नियमति योगा हुन्छ,’ प्रशिक्षक पदम जिसी भन्छन्, ‘योगामा ८० प्रतिशत महिला हुनुहुन्छ । नियमति सहभागी हुनेले आफूलाई पुरानो दीर्घ रोगबाट धेरै राहत मिलेको बताउने गर्छन् ।’ जुम्बामा ३५ वर्षदेखि ७० वर्षसम्मका सहभागी हुने गरेका छन् ।

अर्का प्रशिक्षक विष्णु उपाध्याय फ्रि योग अभियानले जिल्ला भर साधनाको अभियान चलिरहेको बताए । ‘उमेर, लिङ्ग र पेशाको सीमा नमान्ने यो अभ्यासले शरीरलाई सक्रिय राख्नुका साथै मानसिक रुपमा पनि स्फर्त र जागरुक बनाउँछ,’ उनी भन्छन् । बुटवलको हिलर्पाकमा पनि ‘मर्निङवाक’ गर्दै नाचगान गर्ने, योग गर्दै रमाइरहेका हुन्छन् । बिहान ४ बजेदेखि बुटवल हिलपार्कमा ‘मर्निङवाक’ गर्न जानेको चहलपहल शुरू हुन्छ । युवा युवती महिला पुरूष, बालक, सबै यहाँ पुग्छन् । यसरी नाचेरै ब्यायाम गर्छन् ।