बुटवलमा टिभिएसको इभी अर्बिटर स्कुटर सार्वजनिक

मेचीकाली संवाददाता

२५ श्रावण २०८३, सोमबार
2 shares

बुटवल। टिभिएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको स्कुटर आइतबार बुटवलमा सार्वजनिक गरिएको हो । द अल न्यू टिभिएस अर्बिटर स्कुटरको नेपाल अटो ट्रेड युनियनका अध्यक्ष कृष्ण घिमिरेले सार्वजनिक गरे । स्कुटर सार्वजनिक गर्दै घिमिरेले अर्बिटरको आगमनसँगै दिगो तथा स्वच्छ यातायात प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनले आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक प्रयोगलाई ध्यानमा राखेर स्कुटरले नयाँ पुस्ताका ग्राहकको विश्वास जित्ने धारणा राखे ।

स्कुटरको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ । इभी स्कुटरका सेल्स सर्भिस हेड सुशान्त आचार्यले दैनिक सहरी यात्रालाई दिगो र सहज बनाउने उद्देश्यले ल्याइएको बताए । यो स्कुटरले एक पटकको फूल चार्जमा १५८ किलोमिटरको रेन्ज दिने उनको भनाइ छ ।
टिभिएसको यस क्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइलका एमडी विशाल जैसवालले अर्बिटरले नेपालको दुई पाङग्रे ईभी बजारलाई अझ बलियो बनाउने र सहरी यात्रालाई नयाँ परिभाषा दिने बताए । स्कुटरमा ३.१ किलोवाट आवरको ब्याट्री, १६९ एमएम ग्राउन्ड क्लियरेन्स र सेग्मेन्टमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल भएको स्कुटरमा दुईवटा हेल्मेट अटाउने ३४ लिटरको अन्डर–सिट स्टोरेज, ८४५ एमएम लामो सिट र २९० एमएमको फल्याटफर्म फुटबोर्ड छ ।

टर्न–बाय–टर्न नेभिगेसन, कल÷एसएमएस अलर्ट, लाइभ लोकेसन ट्र्याकिङ, जियो–फेन्सिङ र ओटीए अपडेट सुविधासहितको डिजिटल एलसीडी क्लस्टर र मोबाइल एप कनेक्टिभिटी भएको यसमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट र रिजेनेरेटिभ ब्रेकिङसहितको ‘इको’ र ‘पावर’ मोड पनि उपलब्ध छ । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।