सामुदायिक वनमा युवाको सहभागिता बढाउनुपर्ने जोड

मेचीकाली संवाददाता

२६ श्रावण २०८३, मंगलवार
5 shares

बुटवल । सामुदायिक वन स्थापना दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ, रुपन्देहीले नवीन औद्योगिक कदर बहादुर रीता माविमा सामुदायिक वनमा युवा सहभागिता विषयकमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार अबको सामुदायिक वन युवा सहभागिता हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने नाराका साथ मनाइएको हो । सो अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिननाथ आचार्य वनमा युवाको सहभागिता बढाउनुपर्ने बताए । उनले वनको विकास र संरक्षणमा सामुदायिक वनको योगदान ठूलो रहेको बताए । तीन तहका सरकारले लगाएको वनमाथि लगाएको अनावश्यक कर हटाउन जरुरी रहेको उनको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासंघ, रुपन्देही अध्यक्ष श्यामकला आचार्यले वनमा एकद्वार प्रणालीबाट कर लिने व्यवस्थापन गरिनुपर्ने बताइन ।

अब सामुदायिक वनबाट स्वरोजगार हुने गरी समुदायलाई स्वरोजगार बनाउन आवश्यक रहेको उनको भनाइ छ । सो अवसरमा बन क्षेत्रका जानकार तथा प्रशिक्षक डिआर घिमिरेले अब वनमा युवाको सहभागिता बढाउनुपर्ने बताए । वनको संरक्षणसँग आम्दानी पनि लिनुपर्ने उनको भनाइ छ । उपाध्यक्ष मधुकला कुँवरको स्वागत तथा सचिव कमला ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।