टोपलाल अर्याल
गुल्मी । गुल्मीकी १२ वर्षीया आन्भी बिष्ट नेपाली संगीतको लोकप्रिय रियालिटी शो ‘द भ्वाइस किड्स’को फाइनलमा प्रवेश गरेकी छन्। टिम अर्जुन’बाट आफ्नो गायन यात्रा छन् । आन्भीले उत्कृष्ट प्रस्तुतिमार्फत निर्णायकसँगै नेपाली दर्शकको मनसमेत जित्दै फाइनलको यात्रा तय गरेकी हुन्।
गुल्मी मूल घर भएकीआन्भी हाल काठमाडौं महानगरपालिका–६, टोखामा परिवारसँग बस्दै आएकी छन्। उनी काठमाडौंको छाउनीस्थित युरो स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्। अध्ययनमा समेत अब्बल आन्भी कक्षाकी प्रथम छात्रा हुन्। लगनशील, अनुशासित र मेहनती विद्यार्थीका रूपमा परिचित उनी अध्ययनसँगै गायन कला, वक्तृत्वकला तथा खेलकुदमा समेत सक्रिय छिन्।
सानै उमेरदेखि गायनमा विशेष रुचि राख्दै आएकी आन्भी गीत गाउन मात्र होइन, गितार र हार्मोनियम बजाउनसमेत दक्ष छिन्। उनको गायन प्रतिभाले विभिन्न प्रतियोगितामा समेत सफलता हासिल गरेको छ। उनले युरो सिङ्गिङ स्टार, प्याब्सन सिङ्गिङ प्रतियोगिता तथा इन्टर स्कुल चाइनिज सिङ्गिङ लगायतका प्रतियोगितामा सहभागिता जनाउँदै विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन्।
गायनसँगै आन्भी सार्वजनिक वक्तृत्वकला (Public Speaking) र डिबेट प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। विद्यालयमा आयोजना हुने विभिन्न प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुँदै उनले आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गर्दै आएकी छन्। खेलकुदमा पनि उनको विशेष रुचि छ। विशेषगरी बास्केटबलमा सक्रिय आन्भी अध्ययन, संगीत र खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउँदै आएकी छन्।
‘द भ्वाइस किड्स’को टिम अर्जुन बाट प्रतिस्पर्धा गरिरहेकी आन्भीले आफ्नो मधुर स्वर, आत्मविश्वास र आकर्षक प्रस्तुतिका कारण पछिल्लो समय नेपाली दर्शकको समेत ध्यान तानेकी छन्। उनको हरेक प्रस्तुतिपछि सामाजिक सञ्जालमा समेत चर्चा हुने गरेको छ।
अध्ययनमा अब्बल, संगीतमा प्रतिभाशाली र खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सक्रिय आन्भीलाई युरो स्कुलले मिलनसार, अनुशासित, मेहनती र प्रतिभाशाली छात्राका रूपमा चिनाउँदै आएको छ। उनको फाइनल यात्राले परिवार, विद्यालय र गुल्मीवासीमा समेत उत्साह थपिएको छ।
अब आन्भीको लक्ष्य ‘द भ्वाइस किड्स’को उपाधितर्फको यात्रा अझ अघि बढाउनु रहेको छ। गायनमा देखाएको निरन्तर लगाव, मेहनत र आत्मविश्वासले उनलाई नेपाली संगीत क्षेत्रमा भविष्यमा समेत सम्भावना बोकेकी बाल प्रतिभाका रूपमा उभ्याएको छ।
