दोस्रोपटक विश्वासको मत लिए मुख्यमन्त्री आचार्यले

–सरकार विस्तार र सहमति कार्यान्वयन गर्दै जाने प्रतिवद्धता

मेचीकाली संवाददाता

१ भाद्र २०८३, सोमबार
1 shares

बुटवल । यसअघिको सत्ता सहयात्री दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको र केन्द्रको समीकरण पनि बदलिएपछि अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट सोमबार फेरि विश्वासको मत लिएका छन् । यो उनको दोस्रो पटकको विश्वासको मत हो ।

झण्डै अढाई वर्षअघि उनले पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला कांग्रेससंग आलोपालो गर्ने सहमति भएको थियो । प्रदेश सभाको सोमबार बसेको आठौं अधिवेशन तथा १९ औँ बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ जना प्रदेश सभा सदस्यले मत दिए भने प्रस्तावको विपक्षमा २६ जनाले मत दिए । विपक्षीमा रहेका कांग्रेसकै केही सांसद उपस्थित भएका थिएनन् ।
मतदान प्रक्रिया सकिएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरे । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले विश्वासको मत दिएका हुन् ।

केन्द्रको समीकरण फेरिएपछि प्रदेशहरुमा पनि सत्ता समीकरण फेरिएको थियो । लुम्बिनीमा एमालेकै नेतृत्व कायम रहने सहमतिसंगै आचार्यले विश्वासको मत लिएका हुन् । उनले अबको केही समयपछि एमालेकै अर्का नेता लिला गिरीलाई मुख्यमन्त्री छाड्ने पार्टी केन्द्रको निर्णय भएको नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष केपी ओलीले आचार्य र गिरीलाई संगै राखेर यस्तो सहमति गराएका थिए । सहमति अनुसार अबको बढिमा एक महिनामा आचार्यले गिरीलाई छाड्नुपर्ने छ ।

सदनमा विश्वासको मत माग्ने र प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री आचार्यले सत्ता सहयात्री र विपक्षी दलहरु सबैसंग विश्वासको मत मागेका थिए । उनले सहयात्री दलहरु र नेताहरुसंग भएका सहमतिहरु कार्यान्वयन गर्दै जाने, अग्रजलाई मार्गनिर्देशक मानेर सुझाव सल्लाह लिने र छिट्टै सरकारलाई पूर्णता दिएर प्रभावकारी डेलिभरी दिने प्रतिवद्धता जनाएका थिए ।
सदनमा नेताहरु विपक्षी दलका नेता डिल्लीबहादुर चौधरी, नेकपाका जोखबहादुर महरा, एमालेका भोजप्रसाद श्रेष्ठ, जनमतका सिके गुप्ता, राप्रपाका मिना श्रेष्ठ, राजमोका तारा थापालगायतले सम्बोधन गरेका थिए ।

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए भने ८ जना सांसद अनुपस्थित रहे । यस्तै ३ जना सांसदले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ रहे । सत्ता पक्ष नेकपाका एक सांसद विदेश भएकाले अनुपस्थित भइन् भने जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित भइन् । प्रदेश सभा सचिवालयका अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भए ।

प्रदेश सभामा एमाले, नेकपासँगै जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ बनेका छन् भने कांग्रेस, जनमत विपक्षमा देखिएका छन् । राप्रपा भने तटस्थ रहेको छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् । पार्टी केन्द्रले जसपा नेपाललाई सरकारबाट हट्न निर्देशन दिएपनि यहाँको संसदीय दलको निर्णयबाट जसपा सांसदले सरकारलाई विश्वासको दिएको उपनेता हेमा बेल्बासे केसीले बताइन् ।

विश्वासको मत दिनु अघि एमालेको संसदीय दलको कार्यालयमा सत्ता समर्थनका सबै दलका सांसदहरुको बैठक बसेको थियो । बैठकलाई नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सम्बोधन गर्दै पार्टी केन्द्रको निर्देशन अनुरुप संविधानको पालना गर्दै निर्धक्क भएर अगाडि बढ्न निर्देशन दिए । उनले प्रदेश संरचनालाई भरपर्दो, विश्वासिलो र जनताको माध्यमको सरकार बन्नुपर्नेमा जोड दिंदै सोही अनुरुप अनुशासित भएर प्रस्तुत हुन पनि आग्रह गरे ।

त्यसअवसरमा नेकपामा नेता जोखबहादुर महरा, जसपाका सन्तोष पाण्डे, हेमा बेल्बासे, राजमोका तारा थापालगायतले सम्बोधन गर्दै सरकारलाई विश्वासको मत दिने निर्णय भएको बताएका थिए ।