भीम अस्पतालबाट एक वर्षमा ३ लाख बढी बिरामीले लिए सेवा

मेचीकाली संवाददाता

८ भाद्र २०८३, सोमबार
3 shares

भैरहवा । भीम अस्पताल भैरहवामा आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा ३ लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् । ओपिडी सेवामार्फत २ लाख ६४ हजार ५३१ जना र इमर्जेन्सी सेवामार्फत ४७ हजार ८११ जनाले उपचार सेवा लिएका हुन् । अस्पतालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट वर्षा थापाले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइन् ।

जिल्लाकै पुरानो अस्पताल भीम अस्पताललाई सीमित स्रोतसाधन र जनशक्तिका बिच पनि उपचार सेवालाई थप आधुनिक, गुणस्तरीय र प्रभावकारी बनाउँदै एक वर्षमा ओपिडी र इमर्जेन्सी सेवा गरी ३ लाख १३ हजार बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताइन् । अस्पतालले आगामी आर्थिक वर्ष २०८३/०८४ मा मुटु, दन्त, प्रयोगशाला, शल्यक्रिया र बाल उपचारतर्फ आधुनिक प्रविधिसहित विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि सारेको सो क्रममा जानकारी दिइन् ।

आगामी दिनमा अस्पतालले मुटुको भल्भलगायत मुटुसम्बन्धी समस्या परीक्षणका लागि इको सेवा, दन्त उपचारमा ओपिजी, दूरबिन प्रविधिबाट शल्यक्रिया तथा बालबालिकाको उपचारका लागि एनआइसियू स्थापना गर्ने योजना रहेको मेडिकल सुपरिटेन्डेन्ट वर्षा थापाले बताइन् । बिरामीलाई सेवा लिन सहज बनाउने उद्देश्यले अनलाइन टिकट प्रणाली, प्रयोगशाला परीक्षणको रिपोर्ट लिन लामो समय लाइनमा बस्न नपर्ने गरी स्वचालित प्रिन्ट रिपोर्ट प्रणाली तथा नयाँ पोस्टमार्टम भवन निर्माणको योजना पनि रहेको उनले बताइन् ।

वि.सं. १९९० सालमा तीन शैयाबाट स्थापना भएको भीम अस्पताल अहिले सरकारी स्तरबाट स्वीकृत ५० शैयाको अस्पतालका रूपमा सञ्चालनमा छ । अस्पताल विकास समितिले थप ५० शैया व्यवस्थापन गरी आवश्यक जनशक्ति र आर्थिक स्रोत जुटाउँदै आएको छ । सरकारले आवश्यक दरबन्दी थप नगर्दा अस्पतालमा जनशक्तिको अभाव भएको छ । हाल मेडिकल सुपरिटेन्डेन्टसहित २५ जना चिकित्सक र कुल १४२ जना कर्मचारी कार्यरत छन् । रेडियोलोजिस्टको अभाव रहेको यो अस्पताल केही महिनादेखि सर्जनविहीन अवस्थामा रहेकोे छ । भीम अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्त शर्माले विभिन्न कार्यकालका सरकारबाट अस्पताल उपेक्षामा पर्दै आएको गुनासो गरे । सीमित साधन र स्रोतका बाबजुद पनि प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको उनले बताए ।

सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खाँले अस्पतालको इमर्जेन्सी विभागको काम बिरामीलाई अन्यत्र रेफर गर्नेमै सीमित हुन नहुने बताए । अस्पतालमा कार्यरत सबै कर्मचारीमा सेवाभाव र बिरामीप्रति मानवीय संवेदना आवश्यक रहेको उनको भनाइ थियो । गत आर्थिक वर्षमा अस्पतालबाट प्रदान गरिएका सेवाको विवरण प्रस्तुत गर्दै प्रदेश सरकार, अस्पताल विकास समिति र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा आधुनिक प्रविधिसहित थप विशेषज्ञ सेवा सञ्चालनको तयारी भइरहेको अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले जानकारी दिए ।