गरिमा चौधरीमाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न नमस्ते नेपालको माग

मेचीकाली संवाददाता

८ भाद्र २०८३, सोमबार
1 shares

बुटवल । बाराको सिमराकी बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन, दोषीलाई कडा कानुनी कारबाही तथा महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न माग गर्दै नमस्ते नेपाल महिला विभागले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

नमस्ते नेपाल महिला विभागको नेतृत्वमा सोमबार बुझाइएको ज्ञापनपत्रमा बालिका चौधरीमाथि भएको अमानवीय घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ । साथै, आगामी दिनमा यस्ता जघन्य घटना दोहोरिन नदिन प्रभावकारी कानुनी, सामाजिक तथा सुरक्षा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले ज्ञापनपत्र बुझाउने कार्यक्रम न्याय, सुरक्षित समाज, महिला सम्मान र बालबालिकाको अधिकारका लागि सामूहिक आवाज भएको बताए । उनले भने, ‘यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी सुरक्षा र कानुनी व्यवस्था सुनिश्चित गर्नुपर्छ ।”

उनले महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराधविरुद्ध नमस्ते नेपालको आवाज निरन्तर रहने बताए । साथै, पीडित तथा परिवारलाई न्यायको अनुभूति हुने गरी घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

ज्ञापनपत्रमार्फत महिला तथा बालबालिकाको सुरक्षित वातावरण सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायलाई थप जिम्मेवार र प्रभावकारी बनाउनसमेत माग गरिएको छ ।