रेसुङ्गामा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रिया सुरु

मेचीकाली संवाददाता

११ भाद्र २०८३, बिहीबार
13 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीको रेसुङ्गगा नगरपालिमा बालमैत्री स्थानीय शासन घोषणाको प्रक्रिया शुभारम्भ गरिएको छ । नगरप्रमुख खिलध्वज पन्थीले प्रक्रिया शुभारम्भ गर्दै महत्वपूर्ण कार्यको थालनी निकट समयमै सफल हुने विश्वास व्यक्त गरे ।

उनले घोषणाका लागि आवश्यक सूचक पूरा गर्नु मात्र नभई त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘बालमैत्री स्थानीय शासन घोषणा महत्वपूर्ण कार्यको थालनी हो । यसलाई सफल बनाउन नगरपालिका मात्र होइन, सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, विद्यालय, अभिभावक, बालबालिका, संघसंस्था तथा समुदायको साझा प्रयास आवश्यक छ ।’
बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि आवश्यक नीति, प्रक्रिया तथा सूचकका विषयमा नगरपालिका स्तरीय सरोकारवालालाई दुई दिने अभिमुखीकरण गरेको छ । बालबालिकाको अधिकार सुनिश्चित गर्दै स्थानीय तहको शासन प्रणालीलाई बालमैत्री बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको हो ।

राष्ट्रिय बालमैत्री तथा पोषण सहजकर्ता विष्णुप्रसाद चौबे अभिमुखीकरणमा बालमैत्री स्थानीय शासनको अवधारणा, स्थानीय तहले पूरा गर्नुपर्ने नीतिगत तथा प्रक्रियागत व्यवस्था, बालबालिकाको सहभागिता र बालअधिकार संरक्षणका विषयमा जानकारी गराएका थिए । बालमैत्री स्थानीय शासनका लागि स्थानीय नीति तथा कानुन निर्माण, बालबालिकाको सहभागिता सुनिश्चितता, बालमैत्री योजना तथा बजेट निर्माण, संस्थागत संरचना र सेवा प्रवाहलाई प्राथमिकताका विषयमा राष्ट्रिय बालमैत्री तथा पोषण सहजकर्ता चौबेले सरोकारवालाई अभिमुखीकरण गरे ।

बालमैत्री स्थानीय शासनका प्रमुख सूचकअन्तर्गत बालबालिकाको जन्मदर्ता, खोप तथा पोषण, बालमैत्री शिक्षा, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ, बाल संरक्षण, बालश्रम न्यूनीकरण, बालविवाह रोकथाम, हिंसा तथा दुव्र्यवहारबाट संरक्षण, बालबालिकाको सहभागिता र सामाजिक समावेशीकरण जस्ता विषय पर्दछन् । त्यस्तै, बालबालिकामाथि हुने हिंसा, शोषण, दुव्र्यवहार तथा विभेदको अन्त्य, विद्यालयमा बालमैत्री वातावरण निर्माण, अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाको पहुँच सुनिश्चितता, खेलकुद तथा मनोरञ्जनका अवसर र बालबालिकाका लागि सुरक्षित सार्वजनिक स्थान निर्माणसमेत सूचकभित्र रहेका छन् ।

नगरपालिकाले अब बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक तथ्याङ्क सङ्लन तथा विश्लेषण, सूचकको अवस्था पहिचान, सुधारका लागि योजना निर्माण, बजेट विनियोजन, अनुगमन तथा मूल्याङ्कन लगायतका चरण पूरा गर्नुपर्नेछ । वडादेखि नगर तहसम्म बालमैत्री संरचना र संयन्त्रलाई प्रभावकारी बनाउँदै बालबालिकाको सहभागितामा योजना तथा कार्यक्रम सञ्चालन गर्न नगरपालिका स्तरीय समिति निर्माण गरेको नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिइन् ।

नगरपालिकाले आवश्यक सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाका लागि सुरक्षित, समावेशी र अधिकारमैत्री वातावरण निर्माण गरी बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी अघि बढाएको रेसुङ्गा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पन्थीले बताए । आगामी तीन वर्षभित्र घोषणा गर्ने गरेरे अभियानलाई प्रभावकारी बनाउन वडा तहसम्म सरोकारवालाको सहभागिता बढाउने तथा बालबालिकालाई योजनादेखि कार्यान्वयन र अनुगमनसम्म सहभागी गराउने तयारीसमेत गरिएको बताए ।