लुम्बिनी प्रादेशिक अस्पतालको प्रगति ४६ प्रतिशत, निर्धारित समयमै सक्ने लक्ष्य

मेचीकाली संवाददाता

११ भाद्र २०८३, बिहीबार

रमेश पराजुली

बुटवल । बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ । १२ सय शैयाको १२ तले अस्पताल निर्धारित मितिमै सक्ने गरी तीव्र गतिमा काम भइरहेको छ । नारायणी पश्चिमको स्वास्थ्य क्षेत्रमा ‘गेम चेञ्जर’ आयोजना निर्माण पूरा भएपछि उपचारको लागि बुटवलबाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलका अनुसार अस्पतालको हालसम्म भौतिक प्रगति ४६ र वित्तीय प्रगति ४२ प्रतिशत पुगेको छ । हालसम्मको कार्ययोजना र प्रगति हेर्दा निर्धारित मितिमै सकिने गरी काम भइरहेको उनले बताए । ‘कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा यो आयोजना सम्झौता भएको समयभन्दा अघि नै सम्पन्न हुनेछ,’ इञ्जिनियर पोखरेलले भने,‘निर्माण कम्पनीले जसरी काम गरिरहेको छ यही गतिमा अगाडि बढ्ने र सरकारले पनि बजेट विनियोजन गर्ने हो भने निर्धारित समयभन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न हुन्छ ।’

अस्पताल ५ वर्षभित्र सक्ने गरी क्यापासिटी–आशिष–रेलिगेयर जेभीले ७ अर्ब १५ करोड ९४ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । २६ पुस २०८० मा भएको ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २५ पुस २०८५ मा योजना हस्तान्तरण गर्नुपर्नेछ । अस्पतालका लागि सरकारले प्रशस्त बजेट विनियोजन गर्न नसक्दा आयोजनाले आर्थिक अभाव झेल्दै आएको छ । प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालाई प्रदेश सरकारबाट आव २०८०÷०८१ मा कुल ६० करोड आव २०८१÷०८२ मा कुल १ अर्ब ८० करोड र आव २०८२÷०८३ मा जम्मा १ अर्ब बिनियोजन गरेको थियो । यस्तै चालू आवमा १ अर्ब ५ करोड बिनियोजन गरेको छ । बिनियोजन रकममध्ये गत आवमा काम सम्पन्न गरि पेश भएको करिब १ अर्ब ८ करोडको बिलमध्ये पेस्की घटाएर करिब ८८ करोड भुक्तानी भएको छ भने थप पेश भएको २४ करोडको बिलको पूर्ण रुपमा भुक्तानीका लागि बजेट अपुग हुने देखिन्छ ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको अस्पताल भवनलाई आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार, उपकरण र सुविधासहित विकास गर्ने लक्ष्य राखिएको छ । हालसम्म मुख्य भवनमा जमिनको सतहमुनि २ तलाको बेसमेन्ट र जमिनको सतहभन्दा माथि ५ तलासम्मको बाहिरी स्टक्चरको काम सम्पन्न भइसकेको आयोजनाका साइड इन्चार्ज इन्जिनियर शंकर सुवेदीले बताए । उनका अनुसार मिड राइटमा छैटौं तलाको कंक्रिट स्ल्याब गर्ने कार्य र मिड लेफ्टमा फर्मा लगाउने काम भइरहेको छ । साथै पहिलो र दोस्रो तल्लामा पार्टेसन गर्ने कमसमेत एकसाथ अघि बढेको छ । क्यान्सर उपचार भवनको १ तल्लाको बेसमेन्ट र जमिनको सतह भन्दा माथि ४ तलासम्मको बाहिरी स्टक्चरको कामसमेत सम्पन्न भइसकेको इन्जिनियर सुवेदीले बताए ।

उनका अनुसार आयोजनाको काम छिटो गर्न प्रविधिमैत्री यन्त्र उपकरण प्रयोग गरिएको छ । दुईवटा क्रेन जडानले सामान ओसार–पसारमा छरितो भइरहेको छ । हाल १० जना प्राविधिक टोलीसहित २१० बढी कामदारले दैनिक काम गरिरहेका छन् । यसअघि निर्माण गरिएका डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति, महिला तथा बाल रोग, जनरल वार्ड र शल्यक्रिया भवनहरू भने यथावत् राखिएका छन् । १ बिघा २ कट्ठा १४ धुर क्षेत्रफलमा १२ तलाको सुविधा सम्पन्न मुख्य भवन निर्माण सम्पन्न भएपछि १२ सय बेडको अस्पताल बन्ने गरी भवनको डिजाइन गरिएको छ । मुख्य भवन ७०० बेडको हुनेछ भने क्यान्सर उपचार भवन १०० बेडको हुनेछ । निर्माण कम्पनीले भवनको संरचना निर्माणसँगै अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण उपकरण खरिद गरी ‘इन्टेरियर सोलुसन’ सहित हस्तान्तरण गर्ने सम्झौता रहेको छ ।

मुख्य भवनका दुईवटा बेसमेन्टमा व्यवस्थित पार्किङसहित विभिन्न सर्भिस रुम रहनेछन् । भुईँ तलामा आपतकालीन सेवा (इमर्जेन्सी), फार्मेसी, एटिएमलगायत आधारभूत सेवाको व्यवस्था गरिनेछ । त्यसैगरी पहिलो तल्लामा ओपिडी सेवा र दोस्रो तलामा अपरेसन कक्ष रहनेछन् भने माथिल्ला तलाहरूमा बिरामीका लागि बेडको व्यवस्था हुनेछ । इन्जिनियर सुवेदीका अनुसार भवनको छतमा हेलिप्याडसमेत निर्माण हुने गरी डिजाइन तयार गरिएको छ । नयाँ भवनबाट विशिष्टीकृत ग्यास्ट्रोएन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका विशेषज्ञ सेवा तथा अस्पतालका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन गर्ने योजना रहेको छ ।

यस्तै सेवा प्रवाहलाई सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन मुख्य भवनमा १० वटा लिफ्टको व्यवस्था गरिएको छ । भुईँ तलाबाट पहिलो तलामा आवतजावतका लागि विद्युत्बाट सञ्चालन हुने भ¥याङसमेत निर्माण गरिनेछ । त्यसैगरी क्यान्सर उपचार भवनको बेसमेन्टमा बंकर र बिरामी कक्ष रहनेछन् भने भुईँ तल्लामा डे–केयर तथा पहिलो तलामा ओपिडी सेवा सञ्चालन हुनेछ । त्यसपछि माथिल्ला तलाहरूमा विभिन्न प्रयोजनका लागि बेडको व्यवस्था गरिनेछ । क्यान्सर उपचार भवनमा दुईवटा लिफ्ट निर्माण गरिने छ ।

अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार भवन निर्माणमा प्रयोग हुने सामग्री तथा भइरहेको कामको गुणस्तर सुनिश्चित गर्न काठमाडौं विश्वविद्यालयको १६ सदस्यीय प्राविधिक टोलीले नियमित सुपरीवेक्षण गरिरहेको छ । भवनको डिजाइन तथा गुणस्तर सुपरीवेक्षणको जिम्मेवारी ‘जी–टु–जी’ माध्यमबाट काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘काठमाडौं युनिकन्सर्न कन्सल्टेन्सी’लाई दिइएको हो । टोलीले निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर परीक्षणदेखि निर्माण कार्यको प्राविधिक मापदण्डअनुसार भए–नभएको समेत अनुगमन गर्दै आएको छ ।

आयोजनामा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरमा कमी हुन नदिन सामग्रीको स्रोतदेखि नै परीक्षणको व्यवस्था गरिएको छ । गिट्टी, बालुवालगायतका सामग्रीको स्रोतस्थलमै परीक्षण गरिन्छ भने सिमेन्ट र डन्डीको स्याम्पलिङ (नमुना छनोट) गरी बुटवलस्थित जियो–टेस्टिङ ल्याब र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरस्थित प्रयोगशालामा परीक्षण गरिँदै आएको छ । यी दुई थर्ड पार्टी ल्याबमार्फत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुने गरेको छ । त्यसैगरी, निर्माणस्थलमै प्रयोगशाला स्थापना गरी निर्माणमा प्रयोग हुने सामग्रीको नियमित परीक्षणसमेत गरिँदै आएको इन्जिनियर सुवेदीले बताए ।

११५ वर्ष पुरानो प्रादेशिक अस्पतालमा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमदेखि भारतका विभिन्न ठाउँबाट समेत उपचार गर्न बिरामी आउँछन् । अस्पतालमा अहिले ५३० बेड सञ्चालनमा छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.विष्णु गौतमका अनुसार दैनिक करिब दुई हजार बिरामीले प्रादेशिक अस्पतालबाट सेवा लिइरहेका छन् । दक्ष विशेषज्ञ डाक्टरबाट चेकजाँच र सबैजसो रोगको उपचार हुँदा प्रादेशिक अस्पतालमा बिरामी आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

अस्पतालमा जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, सर्जरी, अर्थोपेडिक, प्लास्टिक सर्जरी, डायलाइसिस, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियू, एनआइसियू, बर्थिङ सेन्टर, नाक कान घाँटी, आँखा रोग लगायत १७ भन्दा बढी विशिष्टीकृत सेवा सञ्चालन भइरहेका छन् । साथै प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, ईसिजीलगायत परीक्षण सेवाहरू सञ्चालनमा छन् । हाल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी, साथै सरकार र विकास समितिबाट सयौं कर्मचारी कार्यरत छन् । बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्न अस्पतालमा ओपिडी सेवा विस्तार गर्न लागिएको मेसु गौतमले बताए ।