सियारी । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेका नागरिकको राहतका लागि सियारी गाउँपालिका–७ पश्चिम अमवास्थित शुद्धोधन बचत तथा ऋण सहकारी संस्थाले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
सहकारीका अध्यक्ष कृष्ण प्रसाद नेपाल, उपाध्यक्ष टंक नारायण आचार्य, सचिव सुरेन्द्र प्रसाद गुप्ता, कोषाध्यक्ष ऋषिराम न्यौपाने र व्यवस्थापक सुमन घिमिरेको टोलीले संयुक्त रूपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष कृष्ण प्रसाद नेपालले विपदको समयमा पीडितको घाउमा मलम लगाउनु सबैको साझा दायित्व रहने बताए । ‘यो सानो सहयोग भएपनि पीडितको राहतमा थोरै भएपनि मल्हम बन्न सकोस् भन्ने हाम्रो कामना छ । शुद्धोधन सहकारी सधैं सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध छ ।’
उक्त सहयोग रकम मध्ये संस्थाबाट १ लाख ४१ हजार र कर्मचारीहरुबाट १० हजार रुपैयाँ संकलन गरिएको हो । सहकारीले विपदमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सहकारीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्न समेत अपिल गरेको छ ।
