बेपत्ता सदस्यको परिवार खोजीका लागि जनउत्थान लघुवित्तले गर्यो अपिल

मेचीकाली संवाददाता

२५ भाद्र २०८३, बिहीबार
2 shares

बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समुदाय सदस्यहरुको पाँच जना परिवारका सदस्य बेपत्ता भएका छन् । संस्थाका अनुसार भदौ १० गते आएको बाढीमा विभिन्न शाखा सञ्चालन कार्यालयमा आबद्ध सदस्यहरुको परिवारका ५ जना सदस्यहरू बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–३, ढावका प्रशान्त रेस्मी (३१), दाङको तुलसीपुर उपमहानगरपालिका–१९, वाबगढीका सुरेश चौधरी (३८), चितवनको इच्छाकामना गाउँपालिका–१, हात्तिवाङका सुमन पुरी (३५), चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङका कृष्णराज अर्याल (७०) र कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरियाका रमेशराज जोशी (३३) रहेका छन् ।

संस्थाले बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसँग अपिल गरेको छ । बेपत्ता व्यक्तिहरूबारे कुनै सूचना प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय, परिवारका सदस्यको सम्पर्क नम्बर वा जनउत्थान सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय, बुटवल–१०, कालिकानगरमा जानकारी गराउन संस्थाले आग्रह गरेको छ ।