दुबईको चर्चित परफ्यूम ब्रान्ड जमजमको आउटलेट बुटवलमा

मेचीकाली संवाददाता

२५ आश्विन २०८३, आईतवार
10 shares

बुटवल । दुबईको चर्चित परफ्यूम ब्रान्ड जमजमले बुटवलमा आफ्नो आधिकारिक आउटलेट सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित भाटभटेनी नजिकै केएफसी रहेको भवनको पहिलो तलामा आइतबारदेखि आउटलेट सञ्चालनमा आएको हो ।

नेपाली सिने क्षेत्रका सदाबहार नायक धिरेन शाक्यले नयाँ आउटलेटको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले आफू पनि परफ्यूमको पारखी रहेको बताउँदै सुगन्धले व्यक्तित्वलाई थप आकर्षक बनाउन महत्तवपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । जमजम ब्रान्डले नेपाली ग्राहकको मन जित्ने विश्वास व्यक्त गर्दै उनले यो परफ्यूम उच्च गुणस्तरीय रहेकोले ढुक्क भएर प्रयोग गर्न आग्रह गरे ।

जमजम परफ्यूमको नेपालमा काठमाडौं उपत्यकाबाहिर खुलेको यो पहिलो आधिकारिक आउटलेट रहेको सञ्चालक प्रविन भण्डारीले जानकारी दिए । उनका अनुसार बुटवलमै गुणस्तरीय परफ्यूम सहज रूपमा उपलब्ध गराउने उद्देश्यले करिब ६० लाख रुपैयाँको लगानीमा आउटलेट स्थापना गरिएको हो ।

आउटलेटमा जमजम ब्रान्डका विभिन्न ५४ प्रकारका परफ्यूम उपलब्ध छन् । तीमध्ये चारदेखि पाँच प्रकार पुरुषका लागि र सोही संख्यामा महिलाका लागि विशेष रूपमा तयार गरिएका छन् । भने बाँकी परफ्यूम महिला तथा पुरुष दुवैले प्रयोग गर्न सक्ने सञ्चालक भण्डारीले बताए ।

बुटवल तथा आसपासका क्षेत्रका ग्राहकलाई सुलभ मूल्यमा गुणस्तरीय परफ्यूम उपलब्ध गराउने लक्ष्यसहित व्यवसाय विस्तार गरिएको उनले उल्लेख गरे । नयाँ आउटलेट सञ्चालनमा आएसँगै ग्राहकले एउटै स्थानबाट विभिन्न प्रकारका परफ्यूम छनोट तथा खरिद गर्न सक्नेछन् । आउटलेटको उद्घाटनका अवसरमा ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ । सञ्चालक भण्डारीका अनुसार वडा दशैं तथा तिहारको अवसरमा यहाँबाट खरिद गरिने प्रत्येक परफ्यूममा २० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

यस्तै यहाँबाट परफ्यूम खरिद गर्ने ग्राहकहरुले हरेक महिनाको १ र १५ गते ‘लक्की ड्र’मार्फत् एकजनाले आइफोन १८ प्रो म्याक्स प्राप्त गर्न सक्ने सञ्चालक भण्डारीले बताए । जमजम परफ्यूमको आधिकारिक आउटलेट बुटवलमा सञ्चालनमा आएसँगै यस क्षेत्रको सुगन्धित सामग्रीको बजारमा नयाँ व्यावसायिक विकल्प थपिएको छ ।