बुटवल । हरेक वर्ष अक्टोबर ९ का दिन मनाइने विश्व हुलाक दिवस यस वर्ष एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नाराका साथ जिल्ला हुलाक कार्यालय, रूपन्देहीले विविध कार्यक्रम आयोजना गरी १५२औँ विश्व हुलाक दिवस मनाएको छ।

दिवसको अवसरमा बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। त्यसैगरी, सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए। हुलाक सेवाप्रति सेवाग्राहीको विश्वास र सम्मान अभिवृद्धि गर्ने उद्देश्यले दिवसका दिन कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको थियो। साथै, हुलाक सेवामा समर्पित कर्मचारीहरूको योगदानको कदर गर्दै कर्मचारी सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

यसैगरी, कार्यालयअन्तर्गतका विभिन्न स्थानीय तहका हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको कम्प्युटर तालिममा सहभागी कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कुर्सी दौड प्रतियोगितालगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए।

‘विद्यार्थीसँग हुलाक’ कार्यक्रमअन्तर्गत पक्लिहवा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई जिल्ला हुलाक कार्यालय, रूपन्देहीको अवलोकन भ्रमण गराइएको थियो। उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई हुलाक सेवाको इतिहास, कार्यप्रणाली, सेवा प्रवाह तथा आधुनिक समयमा हुलाक सेवाको महत्त्वबारे जानकारी गराइएको थियो।

