बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले सहकारी संस्थालाई बचत गर्ने र ऋण दिने थलो मात्र नबनाएर उत्पादनमूलक क्षेत्रमा पनि चलायमान बनाउनुपर्ने धारणा राखे । उनले सहकारीहरु नीतिगत र सहकारी सिद्धान्तअनुसार सञ्चालन भएमा जोखिममा पर्ने खतरा न्यून हुने बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले अघि सारेका आगामी योजनाहरुबारे जानकारी गराए । आर्थिक सुशासन, विधि र प्रविधिलाई आत्मसात् गर्दै पारदर्शी ढङ्गले संस्था सञ्चालन गरेकै कारण यो सफलता हासिल गर्न सम्भव भएको अध्यक्ष पाण्डेले बताए ।
संस्थाले विशेष गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै खराब कर्जा घटाउने नीति लिएको उनले बताए । शेयर सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संस्थाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगेकोसमेत अध्यक्ष पाण्डेले बताए । यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, ज्येष्ठ नागरिक सम्मान, सरसफाइ, आर्थिक सहयोगलगायतका कामहरु गर्दै आएको उनको भनाइ थियो ।
यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद शर्मा पौडेलले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मण अर्यालले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सबै प्रतिवेदन साधारणसभाले पारित गरेको छ । कार्यक्रममा शेयर सदस्य पुर्णनन्द गिरीलगायतले आआफ्नो भनाई राखेका थिए ।
संस्थामा हाल १ हजार ४९७ जना शेयर सदस्य रहेका छन् । शेयर पुँजी २ करोड ८ लाख ८१ हजार रुपैयाँ, निक्षेप २० करोड ९१ लाख ८३ हजार ७३२ रुपैयाँ रहेको छ भने संस्थाले २२ करोड १८ लाख ६८ हजार २९० रुपैयाँ ऋण लगानी गरेको व्यवस्थापक कृष्णप्रसाद भुसालले जानकारी दिए ।
सोही अवसरमा असल ऋणी, कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउन सफल शेयर सदस्यका छोराछोरीलगायतलाई सम्मानसमेत गरिएको थियो । संस्थाका उपाध्यक्ष तोलाकान्त डुम्रेको स्वागत तथा सचिव रामप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
