बुटवल । मिठाइको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएको ‘पवन मिष्ठान्न भण्डार’ ले आइतबारदेखि बुटवलमा शाखा सञ्चालन गरी व्यावसायिक कारोबार सुरु गरेको छ । बुटवल आसपास क्षेत्रका ग्राहकलाई लक्षित गर्दै पवन मिष्ठान्नले बुटवल–१०, कालिकानगरमा शाखा सञ्चालनमा ल्याएको हो । यसअघि बुटवलको अमरपथमा २६ वर्षअघि सञ्चालनमा ल्याइएको शाखा साँघुरो र व्यावसायिक प्रयोजनका लागि अनुकूल नभएपछि सात महिनाअघि बन्द गरिएको थियो ।
पवन मिष्ठान्नका सञ्चालक पवन हलुवाईले शाखा बन्द भएपछि बुटवल क्षेत्रका ग्राहकबाट अत्यधिक माग आएको बताए । ग्राहकको मागलाई ध्यानमा राख्दै कालिकानगरस्थित सुविधासम्पन्न स्थानमा पुनः शाखा सञ्चालनमा ल्याएर व्यावसायिक कारोबारलाई निरन्तरता दिइएको उनले बताए । उनका अनुसार करिब ३० लाख रुपैयाँको लगानीमा बुटवल शाखा सञ्चालनमा ल्याइएको हो । बुटवल शाखामा भैरहवामा जस्तै चिया–नास्ताका परिकार तयार पारेर उपलब्ध गराइनेछ भने मिठाइ भैरहवामै उत्पादन गरी बुटवल पु¥याइनेछ ।
५८ वर्षअघि भैरहवामा टिनको पाताले छाएको सामान्य छाप्रोबाट व्यावसायिक कारोबार सुरु गरेको पवन मिष्ठान्नले अहिले आधुनिक पूर्वाधारसहित आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गरेको छ । ‘बुटवल क्षेत्रमा हाम्रो मिठाइको माग अत्यधिक छ,’ हलुवाईले भने, ‘अब बुटवल क्षेत्रका र बुटवल हुँदै आवतजावत गर्ने अन्य क्षेत्रका यात्रुले पनि पवनको मिठाइ लिन भैरहवामै पुग्नुपर्ने बाध्यता छैन ।’
वि.सं. २०२५ सालमा भैरहवामा स्थापना भएको पवन मिष्ठान्न भण्डारको ख्याति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिएको छ । भैरहवाका लागि भने यो प्रतिष्ठान सहरको पहिचान नै बनेको छ । भैरहवामा पहिलोपटक आउने व्यक्तिका लागि पवन मिष्ठान्न भण्डार एउटा ‘माइलस्टोन’का रूपमा परिचित छ । यहाँ आउने जोकोहीका लागि यो आकर्षक गन्तव्य बन्ने गरेको छ । घरपरिवार, नातेदार तथा आफन्तका लागि कोसेलीका रूपमा पवनको मिठाइ लिएर जाने चलन पनि उत्तिकै लोकप्रिय छ । ‘यो ख्याति हासिल गर्न हाम्रा पुर्खादेखिकै योगदान छ,’ पवन भन्छन्, ‘हाम्रो मिठाइमा कायम शुद्धता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्वाद नै सफलताको मूल मन्त्र हो ।’
पवन मिष्ठान्न भण्डारका संस्थापक ७५ वर्षीय राधेश्याम हलुवाई हुन् । भैरहवा र ‘पवनको पेडा’ एकअर्काका पर्यायजस्तै बनेका छन् । राधेश्यामले १७ वर्षको उमेरमा वि.सं. २०२५ सालमा टिनको छाप्रोमा मिठाइ पसल सञ्चालन गरेका थिए । वि.सं. २०२७ सालमा जेठो छोरा जन्मिएपछि उनले छोराको नाममा आफ्नो पसलको नाम ‘पवन मिष्ठान्न भण्डार’ राखेका हुन् ।
पवन मिष्ठान्न भण्डारमा हाल ३० प्रकारका मिठाइ उपलब्ध छन् । यहाँ दैनिक एक हजार लिटरभन्दा बढी दुध र एक सय किलोभन्दा बढी खुवाको खपत हुने गरेको छ । यस प्रतिष्ठानमा ८० जना प्रत्यक्ष रूपमा कामदार तथा कर्मचारीका रूपमा कार्यरत छन् भने अप्रत्यक्ष रूपमा करिब ३०० किसानका परिवार लाभान्वित हुँदै आएका छन् ।
पवन मिष्ठान्न भण्डारको ख्याति र बढ्दो लोकप्रियताका कारण काठमाडौंका केही स्थानमा ‘पवनको मिठाइ’ भन्दै ग्राहकलाई झुक्याएर मिठाइ बिक्री गर्ने गरिएको सञ्चालक पवनले बताए । उनले भैरहवा मुख्य र बुटवलबाहेक अन्यत्र कतै पनि पवन मिष्ठान्न भण्डारको शाखा नरहेको स्पष्ट पारेका छन् ।
