संकाय फेरबदलले बौद्ध विश्वविद्यालयका विद्यार्थी अन्यौलमा

मेचीकाली संवाददाता

११ कार्तिक २०८३, मंगलवार
2 shares

बुटवल, कार्तिक १० । लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड गरेको पाइएको छ । विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटनलगायतका स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमलाई प्रायोगिक बौद्ध अध्ययन संकायमा राख्ने निर्णय गरेपछि विद्यार्थीको शैक्षिक भविष्य र उनीहरूले प्राप्त गर्ने प्रमाणपत्र (ट्रान्सक्रिप्ट) को मान्यतामाथि विद्यार्थीले प्रश्न उठाएका छन् । विगतमा डेभलपमेन्ट स्टडी एण्ड एप्लाइड साइन्सअन्तर्गत सञ्चालित इन्जिनियरिङ र सामाजिक शास्त्र संकायअन्तर्गत सञ्चालित व्यवस्थापन एवं पर्यटनलगायतका व्यवसायिक शैक्षिक कार्यक्रमलाई प्रायोगिक बौद्ध अध्ययन संकायअन्तर्गत राखेपछि विद्यार्थीले अन्यौलमा परेका छन् ।

गत २६ असारमा शिक्षा मन्त्रालयमा सम्पन्न विश्वविद्यालयको सिनेटले तीनवटा शैक्षिक कार्यक्रमलाई बौद्ध अध्ययन र प्रयुक्त बौद्ध अध्ययन गरी दुई भागमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन, ग्रामीण विकास, विपद् जोखिम व्यवस्थापन तथा कृषि वनसम्बन्धी कार्यक्रमलाई प्रयुक्त बौद्ध अध्ययन संकायअन्तर्गत राखिएको थियो । विश्वविद्यालयले सञ्चालन गर्दै आएका विभिन्न विषयलाई एउटै संकायमा समेट्ने निर्णयले शैक्षिक औचित्य कानुनी आधार र त्यसबाट विद्यार्थीको प्रमाणपत्रमा पर्न सक्ने प्रभावबारे प्रयाप्त अध्ययन नगरिएको भन्दै चर्को आलोचन सुरू भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार इन्द्रप्रसाद काफ्लेले यो कमजोरीलाई सच्चाउने बताए । ‘विश्वविद्यालयको सिनेटको डिसिजनअनुसार भएको हो,’ काफ्लेले भने, ‘सानो प्राविधिक समस्या हो, यसलाई हामी ‘डिल’ गर्छौं । विद्यार्थीहरु पनि हामीकहाँ आएका थिए ।’

विषेशगरी संरचनात्मक इन्जिनियरिङ, निर्माण इन्जिनियरिङ तथा व्यवस्थापन, विपद् जोखिम इन्जिनियरिङ तथा व्यवस्थापन जस्ता प्राविधिक विषयलाई बौद्ध अध्ययनसँग जोडिएको संकायअन्तर्गत राख्दा विद्यार्थीले भविष्यमा अन्य विश्वविद्यालयमा अध्ययन गर्न, प्रमाणपत्रको समकक्षता प्राप्त गर्न सरकारी सेवामा प्रवेश गर्न तथा पेशागत मान्यता हासिल गर्न कठिनाई भोग्नुपर्ने अवस्था आउने देखिएको छ । सिनेटबाट अन्य विषयलाई प्रायोगिक बौद्ध अध्ययनको नामाकारण गर्ने विषयमा हालका रजिष्टारको विभिन्ने स्वार्थ रहेको विश्वविद्यालयका कर्मचारीहरु बताउँछन् । विश्वविद्यालयको शैक्षिक कार्यक्रमको विवादको विषय भनेको मुख्य रुपमा इन्जिनियरिङ र व्यवस्थापन हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका सूचना अधिकारी चुडामणि पोखरेलका अनुसार १६ औं सभा बैठकबाट ३ वटा संकाय समायोजन भई बौद्ध दर्शन बाहेकका अन्य विषयलाई एप्लाई बुद्धिष्ट फ्याकल्टी बनाइएको हो । सोही अनुसार प्रमाणपत्र जारी भएको सूचना अधिकारी पोखरेलको भनाइ छ ।

विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्र विद्यार्थीको जीवनभरको शैक्षिक तथा पेशागत परिचय हो । त्यसैले अध्ययन गरेको विषय, तह र संकायबिच स्पष्ट सम्बन्ध हुन आवश्यक मानिन्छ । तर, इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीको प्रमाणपत्र प्रयुक्त बौद्ध अध्ययन संकाय उल्लेख हुँदा त्यसलाई सम्बन्धित विषयको मान्यताप्राप्त प्राविधिक उपाधिका रुपमा स्वीकार गरिने वा नगरिने भन्ने प्रश्न उठेको छ ।

विश्ववालयका विद्यार्थी रोशन घिमिरेले विश्वविद्यालयले विद्यार्थीलाई कुनै सूचनाविनै संकाय परिवर्तन गरिदिँदा भोलिका दिनमा मार्केटमा नबिक्ने समस्या आउने बताए । ‘विद्यार्थीलाई एउटा संकायमा भर्ना गरियो प्रमाणपत्र अर्कोको आयो, पढाइ एउटै छ, संकाय फरक छ,’ घिमिरेले भने, ‘यसबारे धेरै विद्यार्थीले अझै थाहा पाएका छैनन्, देशमै केही गरौं भन्ने विद्यार्थीलाई ठुलो समस्या निम्ताउने देखिन्छ ।’ विश्वविद्यालयका शैक्षिक कार्यक्रमको वर्गीकरण परिवर्तन गर्दा सम्बन्धित विषयका नियामक निकाय, समकक्षता निर्धारण गर्ने, संस्था र अन्य विषयसँग सम्बन्धित विषयका नियामक निकाय, समकक्षता, निर्धारण गर्ने संस्था र अन्य युनिभर्सिटी समन्वय भए नभएको विद्यार्थीलाई जानकारी छैन ।

राजिष्टार इन्द्र काफ्ले विश्वविद्यालयको क्याम्पस प्रमुखको हैसियतमा वि.स.२०७० देखि नै कार्यकारी परिषद्को सदस्यमा रुपमा कार्यरत थिए । काफ्ले विश्वविद्यलाय क्याम्पसको तर्फबाट परिषद् सदस्य रहेका बेला नरेशमान बज्राचार्य उपकुलपति थिए । उनीहरु जिम्मेवार पदमा रहेका बेला २०७२ कार्तिक २५ गते इन्जिनियरिङ कलेजले सम्बन्धन पाएको थियो । त्यस्तै ग्लोबल कलेज काठमाडौंलगायतले व्यवस्थापन विषयको सम्बन्धन प्राप्त गरेका थिए । तत्कालीन समयमा इन्जिनियरिङ तथा व्यवस्थापनका विषयमा सम्बन्धन दिन सक्रिय भूमिका खेलेका काफ्लेका लागि इन्जिनियरिङलाई विश्वविद्यालयको मूल शैक्षिक कार्यक्रममा पार्नुपर्ने बाध्यता नै थियो । त्यसैले सरकरा त्यसप्रति सकारात्मक छ भन्ने जान्दा जान्दै काफ्लेकै अग्रसरतामा मिल्दै नमिलेको इन्जिनियरिङलाई प्रायोगिक बौद्ध संकायको जिम्मा लगाइएको एक कर्मचारीले बताए ।

यसअघि पनि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्रदान गरिएका केही उपाधिको मान्यता विवाद उत्पन्न भएको थियो । यसअघि पनि समस्या देखिएपछि विश्वविद्यालयबाट पर्यटन व्यवस्थापन अध्ययन गरेका केही विद्यार्थीले मानविकी संकायअन्तर्गत प्रमाणपत्र प्राप्त गर्दा विदेशको विश्वविद्यालयमा त्यसको समकक्षतामा समस्या परेपछि विद्यार्थीहरुले विश्वविद्यलयमा पत्राचार गरेका थिए । त्रिभुवन विश्वविद्यालयका एक अध्यापकले यसरी नैं विद्यावारिधी उपाधि लिए पनि बढुवा प्रायोजनमा समस्या भएपछि दोस्रोपटक विद्यावारिधी गर्नुपरेको थियो ।

विश्वविद्यालयका कामचलाउ उपकुलपति माणिकरत्न शाक्य लामो समयदेखि विश्वविद्यालयको शैक्षिक नेतृत्वमा संलग्न रहँदै आएका छन् । त्यस्तै, रजिस्टार काफ्ले पनि विगतदेखिनै विश्वविद्यालयको कार्यकारी परिषद् र शैक्षिक कार्यक्रमसँग सम्बन्धित निर्णय प्रक्रियामा सहभागी रहँदै आएका थिए । यस पृष्ठभूमिमा विश्वविद्यालयको शैक्षिक संरचना परिवर्तन गर्ने प्रस्ताव कसरी तयार भयो, त्यसमा सम्बन्धित विषयका विज्ञसँग छलफल गरियो कि गरिएन र विद्यार्थीको भविष्यमा पर्न सक्ने प्रभावको अध्ययन गरियो कि गरिएन भन्ने विषय सार्वजनिक आवश्यकसमेत देखिएको छ । विश्वविद्यालय सभाको निर्णयमा शिक्षा मन्त्रालयका उच्च पदाधिकारीको समेत सहभागिता छ ।

सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा अध्यादेशमार्फत संशोधन गरी विश्वविद्यालयका पदाधिकारीको योग्यतामा बौद्ध अध्ययनसम्बन्धी स्नातकोत्तर वा विद्यावारिधि उपाधिलाई प्राथमिककता दिएको छ । तर, विश्वविद्यालय सभाले इन्जिनियरिङ र व्यवस्थापनजस्ता प्राविधिक तथा व्यावसायिक विषयलाई प्रायोगिक बौद्ध अध्ययन संकायअन्तर्गत राखेपछि उक्त फ्याकल्टीअन्तर्गत उत्तीर्ण इन्जिनियरिङ, कानुन वा व्यवस्थापन जुनसुकै विषयमा भएको अध्ययनले पनि विश्वविद्यालयको पदाधिकारी हुने अवस्था बनाएको छ । यो अवस्थाले सरकारी नीतिको उद्देश्य र विश्वविद्यालयको शैक्षिक वर्गीकरणबिच सामञ्जस्य नरहेको देखाउँछ । सरकारले सबै विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरे पनि लुम्बिनी बौद्ध विश्वविद्यालयमा अहिलेसम्म नियुक्त गरेको छैन ।